प्रचण्डपनि शान्ति र संविधान बिरोधी !
शान्ति र संविधानका लागि अहोरात्र खट्छु, त्यसकालागि पार्टीले कुनै असर बाँकि राख्दैन भन्छन् एकिक्रित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ । त्यहि शान्ति र संविधानका लागि आफूले त्याग गरेर डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएको दाबी गर्दै आएकापनि छन् । शान्ति र संविधानकालागि बरु बिद्रोही पक्ष टुक्रिएर गए जाओस् भन्दै जोखिमपनि मोलिरहेका छन् । अर्कोतिर फकाउने, मिलाएर लैजाने, पार्टीलाई एक ढिक्का पार्न कोसिसपनि जारी राखेका छन् नै ।
तर जति कस्सिएपनि के गर्नु ? उनलाई आफैंले त्याग गरेर बनाएको आफ्नै सरकारका मन्त्री, आफ्नै पाटीका नेताले पत्याएका रहेनछन् । त्यसैले उनलाई आफ्नै कामरेडले अब शान्ति र संविधान बिरोधी भनेर आरोप लगाउन थालेका छन् । एकातिर पार्टी फुटाउन लागेको भनेर मोहन बैध्य पक्षले आरोप लगाउने, अर्कोतिर शान्ति र संविधानका लागि जोखिम लिएको भन्दा भन्दैपनि शान्ति र संविधान बिरोधीको अर्को आरोप खप्ने । यो आरोप उनैका बरिष्ठ नेता, सरकारका स्थानिय मन्त्री, नेपाली राष्ट्रियताका एक पहरेदार (कुर्सी नपाउन्जेल)नेताले लगाएका हुन् प्रचण्डलाई ।
राष्ट्रियताका लागि भन्दै सायद सबैभन्दा चर्को भाषण यो मुलुकमा माओवादीले गर्यो होला । देशको राष्ट्रियता र राष्ट्रिय अखण्डतामा आँच पुर्याउने काम भारतले गरेको छ भन्दै सबैभन्दा बढि आन्दोलनपनि सायद माओवादीलेनै गर्यो होला । तर देशको अखण्डता बचाउने मुख्य जिम्मेवारी बोकेको राष्ट्रिय सेनाको प्रमुखले देशका २२ जिल्लालाई छुट्टाएर छुट्टै देश बनाउँछौं भन्दापनि प्रधानमन्त्रीले चुँ सम्म बोलेनन् । उनका कुर्सीप्रेमी टोप बहादुर रायमाझी जस्तालाई त कुर्सीमा झुण्डिन पाए भैहाल्यो । तरपनि पार्टी अध्यक्ष प्रचण्डले ढिलै भए भएपनि पचाएनन् । उनले रक्षामन्त्रीले राजिनामा दिनुपर्ने सुझाव दिए । आम नेपालीको भावना, प्रतिपक्षी दलहरुको माग र संवेदनशिलताका हिसाबले यो न्यूनतम माग हो ।
यदि नेपालको झण्डा टाँसेर गाडीमा सयर गर्नु मात्रै ध्येय हैन माओवादी सरकारप्रेमीहरुको भने रक्षामन्त्रीले राजिनामा दिनै पर्छ । तर बिगतमा राष्ट्रिय अखण्डताको नारा उचालेर चन्द्रमासम्म पुर्याउनेलाई सरकारको कुर्सीमा झुण्डिनु मात्रै मात्रै रहेछ कि राष्ट्र टुक्रा पार्ने धमास दिँदापनि तिनको लागि सामान्य बनिरहेको छ । त्यहि सरकारमा झुण्डिएको रसी काटिएला भन्ने डरले तिनले रक्षामन्त्रीको राजिनामा माग्नेलाई शान्ति संविधान बिरोधी देखिरहेका छन् ।
माओवादी पार्टीको उच्च नेता, सरकारका एक मन्त्री टोपबहादुर रायमाझीले रक्षा र भूमिसुधार मन्त्रीको राजिनामा माग्नेहरु शान्ति र संविधान बिरोधी भन्दै आफ्नै पार्टी अध्यक्ष, प्रतिपक्षी दल र आम नेपालीलाई चुनौति दिएका छन् । ‘राजीनामा मागमा शान्ति र संविधान भाड्ने षडयन्त्रको गन्ध छ । यस्तो बदलाको भावना लिने हो भने मुलुक फेरि द्धन्द्धमा फस्छ, शान्ति र संविधान बन्दैन’ उनले हाकै चुनौति दिए । शान्ति र संविधानका लागि त्याग गरेर जसको बलमा उनी स्थानिय विकास मन्त्रीको कुर्सीमा थेप्चिन पाए उनै पार्टी अध्यक्षमाथि शान्ति र संविधान बिरोधी आरोप ? सरकारको सुबिधा पड्काएर राष्ट्रिय झण्डा हल्लाउने उनको लोभलाई देश टुक्रा पारेर भएपनि नेपालीले सहनुपर्ने ? देश नै टुक्रा पार्छु भन्दापनि उनको पार्टी, सारा दल र आम नेपालीले झण्डा हल्लाएर गाडी चढ्ने उनको शोखकालागि त्याग गर्नुपर्ने ? आफ्नो देश टुक्रा पार्न पाइन्न भन्नेहरु शान्ति र संविधान बिरोधी ? देशको राष्ट्रिय अखण्डता र सरकार के एकै रहेछन् टोप बहादुरकालागि ? कि टोप बहादुरपनि उहि रक्षा मन्त्री शरदसिंह भण्डारीकै मनोशायमा पुगेका हुन् ? आफ्नै पार्टीले गरेको निर्णयलाई बदनाम गर्दै शान्ति र संविधान बिरोधी भनेर उनले जसरि आरोप लगाएका छन् पार्टी अध्यक्ष प्रचण्डले कसरि लेलान् ?




