सुशिल कोइरालाको माओवादीप्रति यस्तो मोह किन ?
नेपाली कांग्रेस र माओवादी सौता जस्ता थिए । एउटाले अर्कोलाई छिर्की हान्ने सकेसम्म । जनआन्दोलन त सँगै गरे । तर त्यसपछि यी कहिल्यै मिलेनन् । पाएसम्म एकले अर्कोलाई पछारेर सरकारबाट गिराउने । सकेसम्म झुकाउने, आरोप लाउने अनेक अनेक । संविधान बनाउन दिएन भनेर कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई चोर औंलो ठड्याउँथे । एउटा पार्टीले राम्रो नै बोलेपनि अर्कोले आलोचना गरिहाल्ने । कुकुर र बिराला जस्ता ।
लाग्थ्यो, यीनीहरु सधैं मारमुंग्री गर्छन् । कहिल्यै मिल्दैनन् । तर अचम्म भएको छ पछिल्लो पटक । एकिक्रित माओवादीका आफ्नै कतिपय नेताले भन्दा बढि माओवादीको प्रशंसा गर्दै हिँडेका छन् सुशिल कोइराला । के छ कोइरालाको माओवादीप्रति यस्तो मोह हुनुमा ?
अचम्मै भएको छ हुनपनि । आफ्ना कार्यकर्तासित अन्तरंग गर्न भनेर नेपालगंज हानिएका थिए कोइराला । त्यहाँ उनले आफ्नै कांग्रेस कार्यकर्तालाई छक्कै पार्ने गरि माओवादीको प्रशंसा गरे । माओवादीको बोलीको भर छैन, बोल्ने एकथरी तर ब्यवाहरमा न उतार्ने हुन् माओवादी भनेर आरोप लगाउँदै आएका उनले नेपालगंज पुगेर शान्ति प्रक्रियाप्रति माओवादीले ब्यक्त गरेका प्रतिबद्दताप्रति सबैले विश्वास गर्नुपर्छ पो भने । माओवादीमा अध्यक्ष प्रचण्डका त कटु आलोचक थिए नै । प्रधानमन्त्री बनेपछि डा बाबुराम भट्टराईकोपनि उछित्तो काढ्दै आएका उनले नेपालगंजमा गएर ति दुबैले गरेका प्रतिबद्दता गम्भिर हुन्, सबैले पत्याएर सहयोग गर्नुपर्छ भन्दै सुनाए । शान्ति प्रक्रिया प्रति प्रचण्ड गम्भिर छैनन् भनेर सधैं आरोप लगाउने उनले अहिले प्रचण्ड इमान्दार देखिए भनिरहेका छन् ।
सरकारमा कांग्रेस र एमाले नभएकाले माओवादी एक्लैले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन ज्यान गएपनि सक्दैन भन्दै आएका थिए । तर आफ्नै आरोपहरुको खण्डन गर्दै उनले माओवादी सरकारमा गएकाले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सजिलो छ पो भनेर आफ्नै कार्यकर्तालाई छक्क पारे । माओवादीको तिब्र आलोचना गर्दै आएका कांग्रेसका नेता कोइरालाको पछिलो माओवादी मोह र प्रशंसा देखेर छक्का परेका छन् । उनको माओवादी प्रशंसा सुनेपछि अरु कांग्रेस कार्यकर्ताको मुख सामसुम छ पछिल्लो समयमा । कोइरालाले एक्कासि कसरि माओवादी ईमान्दार छ शान्ति प्रक्रिया र संविधान बनाउन भनेर प्रशंसा गरेका हुन् ? आधार के हो ? के कारणले उनको यू (U) टर्न भयो उनको बुझाइमा ? कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्तासमेत छक्क छन् ।
केहीले यसलाई शेरबहादुरलाई तह लगाउन खोजेको भनेरपनि बुझेका रहेछन् । माओवादीसित मिलेर सरकारमा जाने र शेरबहादुर पक्षलाई पाखा लगाउन यसो गरिएको हो भन्नेपनि छन् । अर्कोतिर डा बाबुराम भट्टराई र मधेशी दलहरु प्रति भारतीय सरकारको मोह र समर्थन रहेकाले कोइरालालाई यहि सरकारमा सकेसम्म सहभागि हुन र त्यसो नभए बाहिरैबाट भएपनि सहयोग गर्न भारतीय सरकारको दबाब परेकाले कोइराला एक्कासि माओवादीप्रति ढल्केको भनेर आरोप लगाएका छन् । यसरि बुझ्नेहरुको जमात सबै भन्दा बढि देखिन्छ । तर त्यसैलाई पत्याउने आधार भने विश्वाशिला देखिन्नन् ।
संभावना थुप्रै औंल्याइन्छ । एकातिर शेर बहादुरको पेलान । अर्को तिर माओवादी र मधेशी दलहरुको । माओवादी र मधेशी दलहरु मिलेर शान्ति प्रक्रिया र संविधन निर्माणलाई एक्लै भएपनि अगाडि बढाउने अडानका साथ पेलेरै भएपनि जाने नियत देखेपछि सुशिल कोइराला त्यसको जस लिनपनि नरम भएको बताइन्छ । अरुलाई आरोप लगाउने तर आफू भने शान्ति प्रक्रिया र संविधान निर्माणमा गम्भिर नभएको भन्ने आरोप खेप्नुपर्ला भन्ने भय कोइरालामा झांगिँदै गएको बताइन्छ । त्यसैले गर्दा उनी हतारिएका त हैनन् ? कतिपयले माओवादी र मधेशीहरुसँगै सरकारमा गएर भाँड्नका लागि होपनि भन्दै छन् । आरोप त जे लगाएपनि भयो नै ।
पछिल्लो समयमा माओवादीको संस्थापन पक्ष शान्ति प्रक्रिया जसरिपनि टुंग्याउने भनेर कस्सिएको देखेपछि साँच्चै सुशिल कोइरालालाई विश्वास लागेको पनि हुन सक्छ। माओवादीको बैध्य पक्ष ढिलो चाँडो जनयुद्दलाई जारी राख्ने पक्षमा पुगेको बुझेरपनि अहिले मधेशी दल र माओवादीको संस्थापन पक्षसित मिलेर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्छ भन्ने निचोडमा कोइराला पुगेका हुन् भन्नेहरुको संख्यापनि निकै छ ।




