छोड्दैगए हिजोका बाचा माओवादीले

nepal-communist-party-maoist-election-compaign.jpgकथनी र करनीमा धेरै फरक हुन्छ । बनाउनु र भत्काउनु पनि त उस्तै होइन । आफु सरकारमा नहुँदा अरुका खुब खोट देखिन्छन । कुर्सीबाट बाहिर बस्नेलाई त के भो ? यो भएन, त्यो भएन । यहाँ खत्तम त्यहाँ बर्बाद । योपनि गर्न सकेन त्योपनि गर्न सकेन । हामी भए यो सारा चुट्किका भरमा बनाउँथ्यौं भन्यो । आस्वासन दियो । जाबो आश्वासनकालागि न कस्ट पर्छ । न दाम लाग्छ । अहिले मओवादीको हालत बिस्तारै त्यहि देखिँदै छ । उनीहरुले गरेका बाचा सब बिस्तारै धुलोमा मेटिँदैछन् । हिजो माओवादी सरकार बाहिर बिद्रोहीका रुपमा थियो । उसले शिक्षा, स्वास्थ्य र रोजगार जनताको मौलिक अधिकार बनाउनुपर्छ भनेर प्रत्येक भाषणमा कुर्लियो । तर सरकारमा जानासाथ उ त्यसैमा चिप्लियो । किनभने माओवादी नेत्रित्वको सरकारले शिक्षा निशुल्क त गर्न सकेन नै उल्टो शिक्षामा कर लगाएर आफ्नै बाचा उल्टायो ।

स्वास्थ्य क्षेत्रको हालतपनि त्यस्तै छ । स्वास्थ्य चौकिहरुमा निशुल्क औषधी बाँड्ने भनेर हल्ला फिजायो । एकाध दिनलाई सस्तो लोकप्रियतापनि पायो । तर भयो के ? ठुलो रोग लाग्दापनि स्वास्थ चौकी नधाउनेहरु टाउको दुख्दापनि स्वास्थ्य चौकी धाउन थाले । स्वास्थ्य चौकीहरुमा जनताको चप यति भयो कि कर्मचारीले धान्नै सकेनन । औषधीको माग यति बढ्यो कि सरकारले सिटामोलपनि पर्याप्त दिन सकिरहेको छैन । अहिले गाउँगाउँमा जनता सरकारले ढाँट्यो भनिरहेका छन । कि त स्वास्थ्य कार्यकर्ताको टाउको खाइरहेका छन सरकारले दिएको औषधी खाए कर्मचारीले भन्दै । सरकार स्थानिय जनताबाटपनि टाढिने र कर्मचारीपनि सरकारसितै आगो हुने अवस्था भैरहेछ अहिले ।

माओवादी शान्तिवार्तामा आउँदा आफ्ना जनसेनालाई छ महिनाभित्रमा राष्ट्रिय सेनामा समाहित गराउँछौं भनेका रहेछन् । तर अहिले दुई वर्ष पुग्दा जन सेना राष्ट्रिय सेनामा समाहित हुनु त परै जाओस ति संभावनानै झन जटिल भएर देखापरेका छन । राष्ट्रिय सेनामा जागिर खान पाइन्छ भनेर भर्ति गरेकाहरुको सपना अहिले दिनदिनै चकनाचुर हुँदैछ भने माओवादी आश्वासनले हावा खाँदैछ ।

माओवादीहरुले दिएको सबै भन्दा ठुलो आश्वासन सायद भूमिहिन र सुकुम्बासीलाई जमिन बाँड्छौं भन्ने हो । गाँस, बास र कपासको सुनिश्चितता भन्ने त कम्युनिष्टहरुको मूलमन्त्रनै भैहाल्यो जनता आकर्षित गर्ने । माओवादीले पनि त्यो आश्वासन निकै बाँडे । शामान्तहरुको जमिन बाँड्छौं भने । हिजो बिद्रोही हुँदा तिनले जबर्जस्ति गरेर बाँडे केहि जग्गा जमिन अर्काको खोसेरपनि । अहिले नहुनेलाई जग्गाजमिन बाँड्न त परै रहोस त्यहि हिजो आफुले कब्जा गरेको जग्गा जमिनपनि प्रचण्डले तिन महिनाभित्रमा फिर्ता गर्छौं भन्दै नेपाली कांग्रेस र एमालेसित दस्तखत गरेका छन । हिजो शामान्तको जमिन खोसेर गरिबलाई बाँड्छौं भन्दै कुर्लेका माओवादीले जमिन बाँड्नु त परैजाओस अहिले उल्टो फिर्ता गर्छु भनेर बाचा गर्दैछ । माओवादी सरकार आएपछि गरिखाने जग्गा जमिन पाइन्छ भनेर आशा गरेका सुकुम्बासीहरु उल्टो कब्जा गरिएका जग्गा जमिनपनि फिर्ता गर्नकालागि बन्न लागेको समिति पर्खेर बसेका छन ।

माओवादी आफ्ना बाचामा चुकेको छ भन्ने कुरा त आफ्नै पार्टीभित्रबाटै सार्वजनिक भैरहेको छ । पार्टीका खरा नेता मात्रिका यादवले त हिजो पार्टीले कब्जा गरेर गरिबलाई बाँडेको घर जग्गा फिर्ता नगर्ने हाकाहाकि बताइसकेका छन । यदि जबर्जस्ति गरे उनले अर्को युद्द लड्ने चुनौतिनै दिइसके । यो निर्णयले जनतामा माओवादीको विश्वास त टुट्छ नै, आफ्नै पार्टीमापनि तिब्र कलह र मतभेद उत्पन्न गराउने स्थिति देखापरेको छ । किनकि पार्टीमा कडा लाईनका भनेर चिनिने मोहन बैद्द, नेत्रबिक्रम चन्द, सिपी गजुरेल र मात्रीका यादव लगायतका नेता पार्टीले बिगतमा खोसेर बाँडेको जग्गाजमिन फिर्ता नदिने पक्षमा छन भने प्रचण्ड पक्षधरहरु फिर्ता गर्ने मानसिकतामा ।

नाताबाद, भनसुन र आफन्तलाई होइन निष्पक्षरुपमा सक्षम ब्यक्तिलाई अवसर दिएर उदाहरणिय काम गर्छौं भनेका थिए माओवादीले। तर अहिले सबैभन्दा बढि माओवादी नेताहरु आफैंले आफ्ना नातागोता, आफन्त, आसेपासेहरुलाई आफैं वरिपरि महत्वपूर्ण पद दिएर नातावादलाइनै प्रश्रय दिइरहेका छन । हिजो उनीहरुले दिँदै आएको स्वच्छ प्रशासन र सक्षमलाई पाथमिकता भन्ने आफ्नो बचन तोडिरहेका ।

गाउँगाउँमा माओवादी कार्यकर्ताको तामझाम उहि छ हिजो जस्तो थियो नेपाली कांग्रेस र एमालेका कार्यकर्ताको सरकार हुँदा । ठेक्कापट्टा आफ्नै लाई । आफ्नै पार्टीका निकटलाई । सिफारिस र भनसुनको पारा उहि छ । हिजो एमाले र कांग्रेसको सरकार हुँदा तिनका नेताको घरमा एकाबिहानै देखि साँझसम्म जसरि मानिसको भिडलाग्थ्यो अहिले त्यस्तै छ माओवादी नेताका आँगनमा ।कुनै काम लिन पहिले एमालेले जिल्ला कमिटीको सिफारिस खोजेझैं खोज्छन अहिले माओवादीलेपनि आफ्नै जिल्ला समितिको । अझ माओवादीले त तल्लो कमिटि देखिकै सिफारिस ल्याउनुपर्ने बनाएका छन् कतिपय ठाउँमा । गाउँक सिधा साधाले माओवादी स्थानिय नेतालाई नचिने सिफारिस कसरि बनाउने ? त्यतातिर ध्यान दिएको देखिँदैन कि उनीहरु त बिगतमा एमाले र कांग्रेसकै पारा नक्कल गरिरहेका छन ।

हिजोजनयुद्दकालमा पार्टीलाई धोका दिएर हिँडेकाहरुनै अहिले फेरि नेताका प्रिय बनेका छन । लाभको ठाउँमा पुगेका छन । माओवादी पत्रपत्रिकामा नैतिकता र पार्टी आदर्शका बखान तिनैले छाँटिरहेका छन । हिजोका छट्टु, ढुल्मुले, पञ्चे र मण्डलेहरु अहिले नेताका निकट पुगेर लाभ लिइरहेका छन । इमान्दार, दुख पाएका, पार्टी र अनताको हितमा दुख गरेका नेता र कार्यकर्ताहरु नेपाली कांग्रेस र एमालेमा झैं पाखा लगाइँदैछन । पिँडित हुँदै छन ।

हिजो सरकार बाहिर रहँदा आर्थिक विकास, शैक्षित सुधार, प्रशासनमा सुद्रिढिकरण, महिला, वालवालिकालाई विशेष सुबिधा के के हो के नारा सुनिन्थ्यो । तर अहिले सरकारमा गएपछि एमालेको यथास्थितिवाद, कांग्रेसको बिरोध आदिले गर्दा काम गर्न सकिएन भन्न थालेका छन । हिजो आफुले काम गर्न नसकेपछि ठ्याक्कै त्यहि भन्थे एमाले र कांग्रेसले । 

कमसेकम जनतालाई चप्पल लगाउन सक्ने नबनाई हामी महँगा गाडी चढ्दैनौं भन्थे कांग्रेस र एमाले नेताका गाडी देखाएर । अहिले सरकारमा गएपछि महँगा गाडी माओवादी नेतानै चढन थालेका छन । उता जनतालाई जनताको अवस्था भने चप्पल लगाउन सक्ने त के भएकोपनि बेच्नुपर्ने अवस्था हुँदैगएको छ । राज्यले दिएको सुबिधा दुरुपयोग गरेर बिल भर्पाई सच्चाई सच्याई लाज नमानी रकम सुल्नेमा माओवादी नेतापनि छन । यसरि माओवादीले हिजो गरेका सबै बाचा एकपछि अर्को भुल्दै गएका छन् ।

तपाइँको प्रतिक्रिया