माओवादी, कांग्रेस र एमाले सबै बिदेशीको इशारामा ?
हाम्रो नेपाल बडा गज्जबको देश हो । यहाँ सबै देशका मानिस हाम्रो देशको राष्ट्रियतामा नाच्न पाउँछन । हामी नेपाली गज्जबका छौं । किनभने हामी तिनको सुर र तालमा नाच्छौं । नेताहरुले जे भनेपनि हामीलाई पत्यार लाग्छ । हामीले छानेका पार्टीपनि सबै त्यस्तै छन । किनभने भएका जति सबै पार्टी बिदेशीका इशारामा नाचेपछि हामीले जसलाई छानेपनि, जुन पार्टी रोजेपनि बिदेशीकै ईशारामा नाच्ने पर्छन । नत्र सबै पार्टीले किन हाम्रो पार्टी फुटाउने देशी बिदेशी तत्व भन्छन त ? सरकारको नेत्रित्व गर्ने नेकपा (माओवादी) को त थेगो नै भयो-हाम्रो पार्टी फुटाउन देशी बिदेशी तत्व लागेका छन भन्ने। उनीहरु सधैं त्यहि भन्छन । तर त्यो तत्व को हो जनतालाई कहिल्यै भन्दैनन । किनभने त्यो तत्व भनेको कोहि हुँदैन । त्यो कतै भए पो भन्ने । त्यो खाली जनतालाई एकोहोर्याएर राख्ने, हामी असल भएकाले फुटाउन खोजे भनेर देखाउने हौवा मात्रै हो । जनता मूर्ख बनाउने एउटा सामान्ति सोच ।
अहिले नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आउन लागेको छ । एमालेका नेताहरु ठ्याक्कै त्यहि भनिरहेका छन । एमालेलाई पहिले देशी बिदेशी तत्वले फुटाए रे अनि अहिलेपनि फुटाउन लागिपरे रे । टनकपुर भारतलाई सुम्पेर बोराका बोरा दाम लिने राता रात । लिने र नलिने, पाउने र नपाउनेबिच झगडा परेर पार्टी फुट्ने अनि दोष लगाउने देशी बिदेशी तत्व भन्दै ? नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गत हप्ता त्यसै भने । नेपाली कांग्रेसलाई फुटाउन लागि परे रे केहि तत्व । मधेशी जन अधिकार फोरमका जय प्रकाश गुप्ताले त अस्ति बैठकमै भने-हाम्रो पार्टीलाई फुटाएर मधेशको आन्दोलन तुहाउन खोजिएको छ । माओवादीका अध्यक्ष प्रचण्डले अस्ति मंगलबार क्रान्तिकारी बिद्दार्थी संगठनले किर्तिपूरमा आयोजना गरेको एक कार्यक्रममा खुब उफ्रिंदै भने-हाम्रो पार्टी फुटाउन कम्मर कसेर लागेका देशी बिदेशी तत्व निरास भएका छन ।
ए बाबा पार्टी कसरि फुट्छ हँ ? आफु एक ढिक्का भए, आफ्नो पार्टीप्रति प्रतिबद्द भए कसले फुटाउन सक्छ ? बिदेशीका कुरा नसुन्ने हो भने कसरि फुट्छ पार्टी ? यसको अर्थ हाम्रा सबै पार्टीमा बिदेशीको राईदाई छ होइन त ? सबै पार्टीका शक्तिशाली नेता बिदेशीका कुरा सुन्ने रहेछन । तिनले जनतामा, आफ्नो पार्टीमा बिश्वास होइन, पार्टी बिधान प्रति प्रतिबद्द होइन कि बिदेशीका निर्देशन सुन्न जाने रहेछन । नत्र आफ्नो पार्टी, आफ्ना सहकर्मी, आफ्ना कार्यकर्ता, आफ्नो पार्टी बिधान र आफ्ना जनता प्रति प्रतिबद्द भएर काम गर्ने हो भने कसरि बिदेशीले पार्टी फुटाउँछन ? हाम्रो पार्टी फुटाउन लागे देशी बिदेशी तत्व भन्दै कुर्लनुको कारण के ? बिदेशीका ढोका गोप्यरुपमा चहार्दै नहिँड्ने हो भने कुनै पनि पार्टी कुनै देशी बिदेशी तत्वले फुटाउन सक्छ ?




