राम्रो काम गर्दापनि अपजस मात्रै दिने ?

हामी नेपालीहरु कतै साह्रै नकारात्मक त भएनौं ? नरामो गर्दा नांगेझार पार्ने । खुइल्याउने । बिरोध गर्ने । उछित्तो काढ्ने । तर राम्रो काम गर्दापनि त्यस्ता नेताको प्रशंसा नगर्ने ? झन मधेशका दल र मधेसी नेता भनेपछि त सुन्नासाथ बिरोध गरिहाल्छन् । भारतीय मार्काका, सुबिधाभोगी, देश लुट्ने, राष्ट्रिय ढुकुटी सक्ने । यस्ता आरोप सबैभन्दा बढि खेप्छन् तिनले । हुनत तिनको चरित्र जस्तो छ त्यस्तै प्रतिक्रिया जनाएका हुन् नै जनताले ।

तर बिगतमा जस्तो भएपनि यदि कोहि सुध्रिन्छ, सप्रिन्छ राम्रो काम गर्छ भने त प्रशंसा गर्नुपर्ने हो नी ! भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले अहिले राम्रो निर्णय गरे राष्ट्रको ढुकुटी जोगाउन । त्यसो गर्दापनि बिरोधै गर्ने चलन छ हामी नेपालीको भन्दै उनले गुनासो गरेका छन् ।

मितब्ययी बन्न भनेर प्रधानमन्त्री डा बाबुराम भट्टराईले अघिल्ला प्रधानमन्त्रीले भन्दा ८० लाख सस्तो गाडी रोजे । अरु मन्त्रीलाईपनि अहिले सस्तो गाडी अर्थात ५० लाख भन्दा बढि पर्ने गाडी नचढ्न आचारसंहिता बनाए मन्त्रीहरुका लागि । तर भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले लौ त भनेर सरकारी गाडीनै नलिने निर्णय गरिदिए । यो त सानो तिनो त्याग र चुनौती होइन नै । देशको झण्डा हल्लाउँदै शान देखाउने चलनलाई उनले त्यागे । उनी आफ्नै निजि गाडी चढ्छन् । झण्डा हलाउँदैनन् । सामान्य नागरिक झैं कुद्छन् कार्यक्रममापनि ।

त्यति मात्रै हो र ? गाडी त लिएनन् नै, उनले आफ्नो गाडी मर्मत संभार गर्न भनेर अरु मन्त्रीले झैं लिने सहुलियतपनि बहिस्कार गर्ने घोषणा गरिदिए । इन्धनको पैसोपनि नलिने र सबै आफ्नै खर्चमा गर्ने उनले घोषणा गरे । त्यत्तिकै लहडमा बोलेका होइनन् उनले । प्रधानमन्त्री कार्यालयमा मन्त्री परिषदको सेवा सुबिधा शाखा हुन्छ । त्यहिँबाट हो मन्त्रीहरुले सेवा माग्ने, लिने, लेख्ने सबै । लिखित पत्र लेखेर मन्त्री परिषदबाट कुनै सेवा र सुविधान लिन्न भन्दै त्यहि शाखामा पठाइदिए । सायद मन्त्री परिषदबाट यसरि कुनै सुविधा लिन्न भन्ने उनी एक्ला मन्त्री हुन् की ? 

हामी नेपालीहरुको मानसिकता अलि बढिनै नकारात्मक भएको त होइन ? लियो भने भक्कु गाली गर्ने । लिएन भनेपनि हैन यसले के षडयन्त्र गर्न लिएन ? यसको पछाडी के स्वार्थ छ हँ भनेर शंकै गर्ने । उनले पनि त्यसमा दुख मनाउ गरेका छन् । नेपालमा जति राम्रो काम गरेपनि अपजस मात्रै पाइन्छ, प्रशंसा गरिन्न भन्ने उनको दुखमनाउ छ ।

बिगतमा पटक पटक मन्त्री बनेको बेला उनले पनि राज्यबाट लुँड्याएका हुन् नै । अनेक पार्टी चहार्ने र मन्त्री बन्ने । मोलतोल गर्ने पदकालागि । तर मान्छे बदलिन्छ । मानसिकता बदलिन सक्छ । सधैं त एकै आँखाले हेर्न हुन्न नी । पहिले यस्तो थियो भनेर त्यसैगरि मूल्यांकन गरिनुहुन्न । यदि नयाँ नेपाल बनाउन भनेर उनले साँच्चै देशको हित सोचेर यस्तो मितब्ययी हुन खोजेका हुन् भने यसलाई प्रशंसा गर्नै पर्छ । उनको यो घोषणाले मधेशी दल र नेता सुबिधाका लागि मरिमेट्छन् भन्ने सोचलाई पनि बदल्ने छ । समग्र मधेशी नेता र मधेश केन्द्रित दलहरुकोलागि पनि यो राम्रो सन्देश हो ! तर सरकारी सुबिधा नलिएर मितब्ययी बन्न खोजेका उनले अन्य अनियमितता र अनैतिक काम गर्छन् कि गर्दैनन् त्यसैले उनको नियत भविष्यमा स्पष्ठ पार्ने छ ।

तपाइँको प्रतिक्रिया