कोक्ल्याँटे सोचको अन्त्य गरौं

सरोजदिलु विश्वकर्मा

मुलुकले ३५ औं प्रधानमन्त्रीकोरुपमा डा.बाबुराम भट्टराईलाई पाएको छ । विभिन्न खेल, लुछाचुढी, खिचातानी, आरोह र अवरोहका वीचमा मधेसी मोर्चाको सहयोगमा भट्टराईको सदिच्छा पुरा भएको हो । तथापि भट्टराईका अवका दिन यति सहज छैनन् ।  सहज हुन दिने छैनन् । तीन वटा तत्वहरुले उनलाई सधै कमजोर बनाइरहने छ । पहिलो हो– सामन्तवादको अवशेषको रुपमा रहेको वाहुनवाद, खेल्न र खेलाउन जानेका केही वाहुनवादी नेताले फेरि वाहुनीय धर्म निभाएर कुकुरको पुच्छरलाई पनि सोझो भनेर सावित गरिदिनेछन् । आफुले पाए सबै ठिक अरुले पाए गन्धै अमिलो ठान्ने वाहुनवादीहरुले उनको शीरमा धोती, पीँधमा टोपी लगाईदिनेछन् । 

यसैगरी दोश्रो भनेको भारतीय कुटनीति हो, जसले गर्दा मधेसी मोर्चाले एकगठ्ठा भएर उनलाई उनलाई समर्थन गरेका हुन् । उनले पनि फेरी एकपल्ट ती कुटनीतिज्ञहरुलाई ‘प्रभु’ भनेर टाउकामा हात राखि थकथक मान्नुपर्ने हुन्छ । अनि आफ्नै दल र दलभित्रका उग्रपन्थी र संस्थापन पक्षले उनलाई आफ्नो अनुकुल खेलाउनेछन् । जस्तै राम्रो गरेपनि जस नपाईने, आफू पनि केही गर्न नजान्ने चुत्थो मानसिकताका राजनीतिक नेताका घेरावन्दीमा परेर उनले आफुले चिताएको कुनै पनि काम गर्न सक्नेछैनन् । त्यसपछि मधेसी मोर्चाभित्रैका गठवन्धनहरुको टुटफुट र झमेलामा आफ्नै नेतृत्वको सरकार निल्नु न ओकल्नु हुन्छ, उनैलाई । 

पहिले आफ्नो अनि आफ्नो परिवारको, त्यसपछि आफ्नो जातिको अनि पार्टीको अन्तमा देशको राजनीति गर्ने नेताहरुका विभिन्न स्वार्थका अगाडि उनको त्याग राष्ट्रप्रतिको समर्पण एवं विवेशीलताको कुनै महत्व रहनेछैन । परिणामतः कतिवेला कनिका चपाऊँ र निहुँ खोजुँ भन्ने उपवुर्जवा तत्वहरु पार्टी भित्रैबाट उनलाई असहयोग हुन थालेको छ । दुधौली दोश्रो डिभिजनको कन्टेनरको साचो विशेष समितिलाई बुझाउनसाथ आफ्नै पार्टीका सहकर्मी मोहन वैद्यले यो निर्णय धोका हो भन्दै छुट्टै विरोधसभा गर्न थालिसकेका छन् । वरिष्ठ नेता वैद्यले पार्टीभित्रै छलफल गरी आफूभन्दा कम हैसियत भएका बाबुरामलाई निर्देशन दिनुपर्ने थियो । तर पनि २२ सताब्दीको दुर–दृष्टिकोणसहित अघि बढेका प्रधानमन्त्रीलाई वैद्यको १९ सताब्दीको ज्ञान र सोचले धक्का दिन शुरु गरिसकेको छ । 

यता प्रधानमन्त्रीमा १८ चोटी पराजित भएका रामचन्द्र पौडेल सेनाको मापदण्ड र पुर्व सहमति अनुसार नभए कांग्रेसलाई मान्य नहुने भन्दै कोठरीभित्रै बास्न शुरु गरेका छन् । जंगवहादुर राणाको पालामा बनेको सेनाको मापदण्ड नै सामन्तवादी यथास्थितीवादी छ ।  सो तोडेर नयाँ प्रणाली निर्माण गर्नुपर्ने वेलामा सोही मापदण्डलाई सही भन्ने पौडेलको सोच अग्रगामी छैन । त्यसैगरी शान्ति प्रकृया निष्कर्षमा पुग्छ भने २।४ सय सेना बढी समायोजन गर्न जो कोही ललिचो हुनु पर्ने हो । ललिचो नहुनेले अर्काको सहअसित्व स्वीकार्न सक्दैन र त्यस्तो पात्रले जहिले पनि समस्या खडा गरिरहन्छ । नेता आफैलाई २।४ अर्व भ्रष्टचार गर्न, मन्त्री  भएपछि सरकारी गाडी लिएर जान, मन्त्री क्वाटर छोडेपछि झ्यालका पर्दा समेत झोलामा हालेर लैजान र २।४ सय नातेदारलाई जागीर खुवाउन छुट हुन्छ भने थप गोडा–सयक युवाले सुरक्षा निकायको जागीर पाउँदा पौडेल वा अर्कोको घर–वारी एक इंच पनि भत्कदैन भने तिनलाई समायोजन हुने संख्यामा किन पीर ? तव यस विषयमा पौडेल मार्काहरुले बकवक गर्नुको औचित्य नै छैन । 

डा भट्टराई आफैं नै उदार स्वभावका हुनुहुन्छ । यो उदारपनाले आउरेबाउरे मधेसी नेतालाई प्रशस्त खेल्ने मौका मिलेको छ । विशेषतः दुई मुख्य दलको असहयोगले गणतन्त्रका लागि सिन्को भाची काम नगरेका, वरु कता दाना झर्छ भनेर कुरेर बसेका मधेसी नेताहरुले गणतन्त्रको फल पाइरहेका छन् । भट्टराई र तिनको सम्वन्धले पनि उनको सरकारलाई फरक पार्नेछ । डा भट्टराईजस्तो जनताका लागि दशकौं ज्यानको वाजी थापेर लडेका ब्यक्तिले जनताले गणतन्त्रका लागि रगत बगाउँदै गर्दा प्वालप्वलामा बसेर चियाईरहेका यी ताक परे तिवारी नत्र गोतामे मार्काका मधेसी नेतालाई कसरी यतिविध्न टुपीमा चढाए ? अनि वर्षमान पुनलाई अर्थमन्त्री दिनु कति लज्जाजनक र हास्यापद छ !! यसबाट उनको नेतृत्व पनि नाटकको एउटा अंक मात्र हुने लक्षण देखापरिसकेको छ । 

तथापि, भट्टराईबाट धेरैको आश पलाएको छ । उनले मुलुकलाई एउटा किनारामा उतार्छन् भन्ने धेरै जनताको अपेक्षा छ । परिणामतः बाबुराम भट्टराई प्रधानमन्त्री भएकोमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरबाट समेत बधाइका वधाई आइरहेको छ । उनी वधाई पात्र छन् भन्ने कुरा करिव २ दिनमै प्रमाणित पनि हुँदै गएको छ । प्रधानमन्त्री भएको घन्टाभित्रै सकारात्मक लक्षणहरु देखापरेका पनिछन्– मुस्ताङ गाडी नै प्रधानमन्त्रीले रोज्नु, कर्मचारीलाई एक महिनाभित्र जनतालाई प्रत्येक्ष राहत हुने काम गर्न निर्देशन दिनु, र वजारमा केही सुधार आउनु, कर्मचारी, ब्यापारी, सुरक्षा निकायको मनोवल वृद्धी भइ विश्वासको वातावरण बन्नु सकारात्मक पक्षहरु हुन । त्यसैगरी भाद्र १५ गतेबाट क्यान्टोनमेन्टको साँचो विशेष समितिमा बुझाउन शुरु गरिएको छ भने ४५ दिनभित्र सेना समायोजन हुने खाकाअनुसार काम अगाडि बढेको छ । 

भट्टराई प्रगतिशील विचारक, सुधारवादी, संयम् र अडिग दुरदर्शी नेता हुन्, यसैमा जनतामा उनीप्रतिको सम्मान बढेर गएको हो । देश, काल, समय, वस्तु, परिस्थितीअनुसार राजनीतिलाई परिमार्जन गर्दै जनताको आकांक्षा र स्वाभिमान अनुसार चलाउनु पर्छ भन्ने भावना राखेकैले भट्टराईलाई पक्षदेखि विपक्षीहरुले सम्मान र विश्वास गर्दछन् । उनी जस्तोसुकै परिस्तिथीको सामना गर्दै अगाडि बढ्न सक्छन् । अघिल्लो अर्थमन्त्रीको कार्यकालबाट डा.साहेवबाट धेरै अपेक्षा गर्ने ठाउं छ । प्रथमतः उनले आफू अर्थमन्त्री हुँदा उधोगतितिर लागेका अर्थतन्त्रलाई स्थिर बनाउन ठोस कदम अगाडि सार्नेछन् भने अघिल्लो समयमा अधुरा रहेका कार्यक्रमहरुलाई पुरा गर्ने उनको ध्येय हुनेछ । 

उनको ध्येयलाई पुर्णता दिनु हामी विपक्षी तथा नागरिकको समेत दायित्व हो । जवकि यतिवेला मुलुकलाई तर लगाउन सवैको उत्तिकै भूमिका हुन्छ । कसैलाई कतिवेला प्रधानमन्त्री बनाउने भन्दा स्थायी सरकारको निरन्तरताको आवश्यकता भएको हुनाले अव पनि सत्ता राजनीतिको जोड घटाऊ गर्नु भनेको यो मुलुकप्रति अपराध गर्नु हो । तसर्थ मुलुकको हितमा साचो हृदयले सोच्ने र नेपाली जनताको समृद्धि चाहने कोही नेता, चाहे ती जुनसुकै पार्टीका हुन्, छन् भने तिनले बाबुरामलाई सहयोग गर्नु वुद्धिमानी र उसको राजनीतिक इमान्दारीता हो । जवकि समय, श्रोत र कर्तब्यका हिसावले संक्रमणकालको अन्तिम चरणमा आइसकेका छौ । 

यतिवेला आफू प्रधानमन्त्री वा मन्त्री हुनका शान्ति प्रकृया र संविधान निर्माणको नाममा विभिन्न निहुँ खोजी कोक्ल्याटे परेर मात्र बस्ने, मिडियामा नानाभाँतीका राजनीतिक वकवास गर्ने समय छैन । यो संस्कार राजनीति होईन, चुतिया नीति हो । त्यसैले हामी जहाँ छौं, त्यहीबाट सकारात्मक परिवर्तनका लागि सकारात्मक ढंगले सोच्दै डा भट्टराईको सरकारलाई सकेसम्म सरकारमै रहेर सहयोग गर्नुपर्ने हाम्रो दायित्व हो । यही सकारात्मक सोचले अघि बढ्ने हो भने गणतन्त्र ल्याउन भूमिका खेल्ने नेता र कार्यकर्ताले स्थान पाउनेछन् भने मधेशको चारोमा वल्छी थापेर खेल्दैखाँदै आएका मधेसी नेताहरु आफैं भ्यागुताका सिकार हुनेछन् भने सत्ताबाट साफ भएको दिन विदेशीलाई प्रभु भनेर सराप्ने क्रमको समेत अन्त्य हुनेछ । यसका लागि चाँढै नेपाली कांग्रेस र नेकपा एमालेको घैंटोमा अव चैं घाम लागोस् । 

यस वाहेक कतिपय अवस्थामा राज्यले विपक्षीहरुलाई पेलेर पनि जानुपर्ने स्थिती यतिवेला भट्टराईको सामु आएको छ । जवकि यतिवेला अराजक नागरिकलाई श्रृजनशील बनाउँदै र जातिभन्दा पार्र्टी, पार्टीभन्दा राष्ट्रको हीतमा काम गर्नुपर्ने वेला हो । यसले मात्र देशलाई सही निकास दिने हुनाले राष्ट्र र नेपाली जनतालाई दुर राखेर जाति, क्षेत्र वा पार्टीको मात्र राजनीति गर्ने नेताको विस्थापन हुनु जरुरी छ । यस मानेमा तमाम् कोक्ल्याँटे नेताहरुको वुद्धिको विर्को खुलोस् । 

तपाइँको प्रतिक्रिया