राज्यको महत्वपूर्ण तहमा पुग्न क्षमता कि जातिय पहिचान ?
● शिवराज पन्त
काठमाडौंको चावहिलमा पासाङ ल्हामुको सालिक छ | म बाहुन हुँ । तरपनि मलाई उनीप्रति श्रद्दा छ । देश र जनताको, कला र संस्कृतिको अथवा भाषा वा संगीतको क्षेत्रमा केहि राम्रो काम गर्नाले नै तिनलाई देशले विभूती घोषणा गर्छ | ति विभूती सबैका सम्माननिय छन् | कुनै जाति विशेषको ति पेवा होइनन | यहि बाहुनबादी भनिएको राज्यले व्याकुल माईलाको रचनालाई राष्ट्रिय गीत छान्यो | अम्बर गुरुङलाइ त्यसमा संगीत भर्ने जिम्मा दियो | सारा नेपाली आज त्यो राष्ट्रगान शिर निहुराएर गाउँछन् |
सिद्दिचरण श्रेष्ठलाइ यहि देशमा युग कवि भनेर सम्मान गरिन्छ | एक महिना बिदा हुने दशैंमा आजकाल ५ दिन बिदा हुन्छ |दशैंका बिदा काटेर ल्होसार, छठ, बुद्द जयन्तिमा राष्ट्रिय बिदा हुन्छ | कुनै क्षेत्री बाहुनले यसको बिरोध गरेनन | सहर्ष स्वीकार गरियो | त्यतिमात्रै हो र ? लाखौँ बाहुन हरु भएको नेपाली सेना छत्रमान सिंग गुरुङको नेतृत्वमा छ |माओबादी पार्टीबाटपनि सिपि गजुरेल, स्वयम् प्रचण्ड आदि उच्च तहका नेताहरु हुँदाहुँदै बर्षमान पुनलाइ अर्थमन्त्री बनाइयो | बाहुनहरुको बाहुल्य भएको पार्टी एमालेले सुभाषचन्द्र नेम्वाङलाई संबिधान सभा अध्यक्ष नियुक्त गर्यो | डा रामवरण यादवलाई राष्ट्रपती चुन्यो । उपराष्ट्रपतीपनि मधेशीलाई नै रोज्यो ।
अहिले नेपालमा टिभी र विभिन्न मध्यमबाट निर्बाध क्रिश्चियन धर्म प्रचार भैरहेको छ | कुनै एउटा व्यक्ति विकाशानन्दले रेकी नामको अध्यात्मिक कार्यक्रम टिभीबाट चलाइरहेका छन् | आफ्नो जात, भाषा, धर्म वा सिद्दान्तलाई माया गर्ने कुनै पनि व्यक्ति वा समूहलाइ त्यस्तो कार्यक्रम गर्न कुन निजि वा सरकारी संचार माध्यमले रोकेका छन् ?
फेरी अर्को कुरा नेवार, मगर, राई, लिम्बु, तामाङ भाषाका कार्यक्रमहरु पनि रेडियो तथा टिभीबाट प्रशारण भैरहेका छन् | यी माथिका तथ्यहरु मैले राज्यको नज़रमा हरेक नागरिक समान छ, कसैलाई कम र कसैलाई बढी अवसर राज्यले प्रदान गरेको छैन भन्ने देखाउन उल्लेख गरेको हुँ |
अब कुरा गरौँ व्यक्ति वा समुहको | म काठमाडौंको बाहुन । चारैतिर डाँडाहरु देखिन्छन मेरो घरबाट | ति प्रत्येक डाँडाहरुमा गुम्बा छ | बिहानीको घाममा ति पहेंला गजुर भएका सेता गुम्बाहरु टलकिंदा मन हर्षिन्थ्यो | कैयौंपटक गएको छु ति गुम्बामा बुद्दको दर्शन गर्न म | सँगै गएका छन् मेरा साथीहरु जो अधिकांश बाहुन, क्षेत्री हुन् । मलाइ कहिले पशुपतिनाथको मन्दिर र गुम्बामा फरक लागेन | कहिले सोचिन कि यो गुम्बा अरु जातको आस्थाको प्रतिक हो भनेर | पशुपति बर्षको एकपटक गईन्थ्यो तर गुम्बाहरु हजारौं पटक | सानो छँदा सरस्वति पूजाको दिन स्वयम्भू गईन्थ्यो | बुद्दको स्तुप वरपर भएको माने घुमाउँदै सरस्वतीको पूजा गरेर आइन्थ्यो | बुद्द जयन्तीमा स्वयम्भू जाने पनि म र मेरा साथीहरु । अर्थात बाहुनहरु नै पहिला हुन्थ्यौं |
मतलब के हो भने स्वयम्भूको बुद्द मन्दिरमा दर्शन गर्न जाने सबैभन्दा बढी क्षेत्री बाहुन नै हुन्छन | त्यहाँबाट सरस्वति मन्दिर हटाउनुपर्ने माग पनि आऊला सायद छिट्टै कुनै जाति बिशेषबाट | आज यसरी किन मलाइ एक नेपालीबाट तल झारेर सिर्फ वाहुन बनाइँदै छ ? कता कता नमज्जा लगेर आउँछ | हाल म बेलायत बस्छु | हामी ३ परिवार मिलेर एउटा घर भाडामा लिएका छौं | मसँग बस्ने एउटा साथी पोखराको गुरुङ र अर्को साथि बालाजुको नेवार हुनुहुन्छ | हामी यहाँ एकै परिवार भएर बसेका छौं | सायद यति उदाहरण यथेष्ट होला कि जनस्तरमा यो जातीयतारुपी कलंक छैन भन्ने प्रष्ट गर्नलाई | कुनैपनि जात र क्षेत्रका कुरा उठाएर यसरि जनस्तरमा रहेको धार्मिक सहिष्णुता र भाइचारा माथि खलल पुर्याउन खोज्नु देशद्रोह होइन ?
र अन्तमा म केहि मेरा तर्कहरु राख्न चाहन्छु | अहिलेको संबिधान सभामा हरेक जातको प्रतिनिधित्व छ | हरेक जातका मानिसले समूह बनाइ आफ्ना प्रतिनिधिलाइ दवाव दिन सके आफ्ना जायज मागहरुको अवश्य सुनुवाई गराउन सक्छन | हतियार उठाउनु, भूमिगत हुनु भनेको कदापि सहि बाटो होइन | लुटपाट गर्न र अपराधबाट बच्न भूमिगत भएको भए त बेग्लै कुरा भो |
भानुभक्तको शालिक बाहुन भएकै आधारमा हटाउनुपर्ने माग महामुर्खता हो । बरु कोहि अन्य जातिबाट पनि सम्मान गर्न योग्य छन् भने तिनलाई विभूती बनाउने वा शालिक निर्माण गर्ने आवाज उठाउनु नाजायज होइन | विध्यालयमा सरस्वतिको मन्दिर हिन्दु वा बाहुनबादी सोचले निर्माण गरिएको होइन | सरस्वतीलाई ज्ञानको प्रतिक मानेर विध्यार्थीहरुलाई अनुशासन सिकाउन त्यो स्थापना भएको हो | कुनै पनि विध्यालयमा शिव वा कृष्णको मन्दिर वा मूर्ती छैन | हतियार अन्याय, दमन, शोषणका विरुद्द उठ्नु पर्छ । कुनै जाति र उसको संस्कारका बिरुद्द होइन | नत्र उ प्रतिकार गर्न बाध्य हुन्छ । आफ्नो अस्तित्वको सबैलाई माया हुन्छ | क्षेत्री बाहुन पनि वेद मात्र पढेर बस्दैनन् | खुकुरीमा साँध पनि लाएर बसेका हुन्छन् |
अर्को कुरा, राज्यको कुनै पनि तह र अंगमा पुग्न प्रतिभा चाहिन्छ जातीय पहिचान होइन । प्रतिभा र क्षमता हुने कुनै पनि जातका मान्छे माथि पुगेका छन् | वीर ब. महावीर पुनले म्यागेसेसे पुरस्कार जितेका थिए | छत्रमान गुरुङ, बर्षमान पुन, सुभाष नेम्वाङ आज यो स्थानसम्म आफ्नो प्रतिभा र क्षमताले पुगेका हुन् । तिनले कुनै बाहुनसँग मीत लाएर होइन | सयौं गैर बाहुन वा गैर खस प्रतिभावान व्यक्तिहरुलाई माथि जान राज्यको कुनै कानुनले छेकेको छैन | अनि के सबै बाहुन छेत्री धनी छन् त ? सबै सत्ता र सरकारमा पुगेका छन् त ? गरीब र माथिल्लो तहमा पुग्न नसक्ने संख्या पनि त छेत्री बाहुनकै धेरै छ नि | सबै जातका मित्रहरुलाई मेरो अनुरोध छ कृपया सत्य र तथ्य बुझेर अघि बढौं । कुनै पनि व्यक्तिको सनक र स्वार्थका पछि नलागौं | हामी सबै पहिले नेपाली हौँ | अनि बल्ल अन्य जातजाति, भाषा र भाषी, समूह र समूदाय । जय नेपाल ।
(यो लेख नेपालप्लसमा अस्ति ‘राहत घोषणा गरेकै दिन जातिय बिद्रोहको अपील’ शिर्षकमा प्रकाशित समाचारमा ब्यक्त गरिएका पन्तजीका प्रतिक्रिया वजनपूर्ण लागेर लेखकलाई अलि तन्काएर लेखका रुपमा लेख्न आग्रह गरिएको हो । मित्रहरु, गालि गलौज र अमर्यादित रुपमा प्रस्तुत नहुनुहोला प्रतिक्रिया ब्यक्त गर्दा । स्वच्छ तरिकाले बहस गर्नुहोला, आफ्ना तर्क राख्नुहोला । अन्यथा त्यस्ता प्रतिक्रियालाई स्थान नदिन बाध्य भइने छ । बरु यो विषयमा स्तरिय रचना भए स्वागत छ-नेपालप्लस )




