कि गुल्ट्याउँछन् कि उल्ट्याउँछन् बाबुरामले
डा बाबुराम भट्टराइ प्रधानमन्त्रीमा चुनिए । यहिखेर भन्न मिल्छ, ढिलो चाँडो जनताको मतको कदर भएको छ । पूरा भएको छ जनचाहना । जनताको आशाको सानो घिटघिटे आशाले मूर्त रुप पाएको छ । तर यत्तिमै जनताका आशा पूरा हुने होइनन् । जनताले त आफ्ना आशा पुरा गर्छन् कि ! देशका समस्या यीनले बुद्दीमत्ता ढंगले हल गर्न सक्छन् कि भन्ने आशाले यीनलाई कुर्सीमा हेर्न चाहेका हुन् । तर सहज भने पक्कै छैन । अब यीनको एक खाले वास्तविक परिक्षा हुने छ ।
यो परिक्षामा उनी गुल्टिए भने उनी मात्रै गुल्टिँदैनन् देशपनि गुल्टिने छ अर्को बल्ड्याङ । जनताका आशा, भरोसा, चाहना, शान्तिको कामनापनि गुल्टिने छ । नेकपा (माओवादी) पार्टी प्रतिको आशा, भरोसा र लोकप्रियतापनि अझै अग्लो भिरबाट गुल्टिने छ । तर अहिलेको चुनौतीपूर्ण अवस्थामा अलिकति गतिलो काम गरेर देखाउन सके मात्रै भनेपनि सारा आशा र भरोसा उल्टिएर आउने छन् । माओवादीप्रति जनताले गरेको पहिलेको विश्वास उल्टिएर फेरी सोहोरिने छ । संविधान सभाको निर्वाचनमा जनताले दिएको विश्वास फेरी उल्टिएर आउने छ । यसको अर्थ एनेकपा (माओवादी) लाई फेरी पहिलेकै लोकप्रियता र आशाको केन्द्रमा उनले पुर्याउने छन् । उनले साहसका साथ यस्तो काम गर्नुपर्यो कि कम्तिमा बाबुरामले गतिलो काम गरेको थियो तर अरु पार्टीले गर्न दिएनन् भन्ने देखाउन सक्नुपर्यो जनताले प्रत्यक्ष देख्ने, भोग्ने र अनुभूति गर्नेगरि । यत्ति गर्न सके भनेपनि उनले माओवादी पार्टीलाई उल्ट्याएर ल्याउने छन् जनताको विश्वास जित्न ।
चुनौती यति धेरै छन् की उनको जति प्रशंसा गरेपनि सहज देखिन्न । किनभने पहिलो चुनौती त उनैको पार्टीभित्र हुने छ । बाबुराम शक्तिमा पुग्लान् र तर मारौंला भन्ने निकै छन् । प्रचण्ड र बैध्य पक्षलाई मिलाएर लैजानै उनको लागि सजिलो छैन । अलिकति छिस्रिक्क भयो कि उनैको पार्टीमा उनलाइ असहयोग गर्ने संभावना चर्कै छ । उनी असफल भए भने अब माओवादीमा कोहि छैन । सब उस्तै हुन् । कसैले गर्न सक्दैन भन्ने निराशा पैदा हुन्छ जनतामा ।
मधेशी मोर्चाले नाटकिय रुपमा कसरि उनलाई समर्थन जनाए ? मधेश केन्द्रित दलहरुको उद्देश्य सत्ताबाहेक केहि होइन । जसरिपनि सत्तामा पुग्ने । भारतको पाउ पर्ने । सत्ताबाट बाहिरिनासाथ भाँडभैलो मच्चाउने । त्यसैले तिनले पक्कै शक्तिशाली मन्त्रालय माग्छन् नै । सञ्चार, ग्रिह, अर्थ, आपूर्ती मन्त्रालयनै तिनको पोल्टामा जाने संभावना बलियो छ । मुख्य मन्त्रालय नै तिनले लगेभने भट्टराइले एक्लै के गर्ने ? उनलाई समर्थन गरेका अरु साना दललाईपनि चित्त बुझाउनै पर्यो । राम्रा मन्त्रालय मधेशीलाई दिनासाथ एक्लो भट्टराइले के गर्नु ? भनेका मन्त्रालय नदिउँ मधेशी पार्टीले आगो बाल्न थालिहाल्छन् । दिँदा आफूले के काम गरेर देखाउने ? भए जति मधेशी दललाई दिएर आफ्ना पार्टीका प्रचण्ड र बैध्य पक्षकालाई के दिने ? साना दललाई कुन दिने ? धेरै ठूलो मन्त्रिमण्डल बनाउँदापनि आलोचना भैहाल्छ ।
त्यो भन्दापनि ठूलो चुनौती त गणतन्त्र ल्याउन सँगै लडेका, आफ्नो पार्टीलाई संसदिय ब्यवस्थामा ल्याउन शान्ति संझौता गरेका सहयात्री एमाले र नेपाली कांग्रेस प्रतिपक्षमा हुने भए । शान्ति र संविधानका निर्णायक शक्तिपनि यीनै हुन् । यी नै प्रतिपक्षमा बसे भने भट्टराइले कसरि शान्ति र संविधानका लागि सहयोग पाउलान् ? के यो बहुमतिय प्रणाली अन्तर्गत भट्टराईले तिनलाई आफ्नो सरकारमा समेटेर लान सक्लान् ? यो नै उनको चुनौती हुने छ । मधेशी दल भनेका त मुतको न्यानो मात्रै हुन् । सरकार गठन प्रक्रिया शुरु नहुँदै तिनले असहयोग गर्न थाल्छन् । सत्ताका लागि मारमुंग्री मच्चाउन शुरु गरिहाल्छन् । यीनको उद्देश्यनै संविधान नबनोस् भन्ने छ । अनि कसरि डा सापले संविधान बनाउनको लागि सहयोग पाउने ?
हाम्रो बिडम्बना के हो भने कुनैपनि दलले शान्ति र संविधानले अर्काको नेत्रित्वमा मूर्त रुप पाओस् र जस लेओस् भन्ने चाहँदैनन् । सबैको नियतनै भाँड्ने, आफ्ना शर्त तेर्स्याउने नै हो । हिजोका दिनमा अरु दलले गरेकोपनि त्यहि नै हो । र अब नेपाली कांग्रेस र एमाले को पनि त्यहि नै हो रणनिती। त्यसैले सहजै रुपमा उनलाई सहयोग गर्दैनन् कांग्रेस र एमालेले । शान्ति र संविधानका उसका जुन शर्त छन् ति पूरा गर्न भट्टराइलाई सहज हुने छैन। उता नेकपा एमालेको माधव र केपी ओली पक्ष त छँदै छ । छिमेकी मूलूक भारतको भूमिकालेपनि उनको सफलता र असफलतालाई फरक पारिहाल्छ । भारतसितको संवन्धलाई सुधार्नुपर्ने झन ठूलो जिम्मेवारी छ । अलि लच्किउँ भारत परस्तको आरोप लाग्छ । कडा बनौं नेपालकै दलहरुले भारतको बचाउ गर्दै तेर्सिन्छन् । मुड्की उचालेर जाउँ सत्ता बाहिर हुँदा हो, सत्तामा बसेर त्यो संभव नै छैन ।
तरपनि साहसिक नेता भनेकै चुनौतिपूर्ण अवस्थामा चाहिने हो । यस्तै अवस्थामा साहसिक नेताको, क्षमतावान नेताको परिक्षण हुने हो । कम्तिमा उनले सरकारलाई मितब्ययी बनाए, शान्ति र संविधानका लागि वार्ता र छलफलबाट सहमतीको प्रयस गरे भने उनी सफल देखिने छन् । शान्ति र संविधानका लागि मुख्यगरि आफ्नो पार्टीमा चित्त बुझाएर प्रतिपक्षी दललाई विश्वासमा लिए र संविधान बनाउन एकजूट पार्न सके भने उनी सफल हुने छन् । उनले आफ्नो पार्टीलाई जनताको मनमा दह्रोसित स्थापित गराउने छन् । उनको यतिखेरको अवस्था, परिक्षा भनेको देश, आफू, आफ्नो पार्टीलाई गुल्ट्याउने कि गुल्टिन लागेको अवस्थालाई उल्ट्याउने भन्ने चुनौती हो ।




