तीन दलका तीन टाउकेहरुको मात्र बपौती होइन–राष्ट्र
● सरोजदिलु विश्वकर्मा
लोकतान्त्रिक गणतन्त्रका घोषणापछि हामी करिव साँढे ३ वर्षका पुरा गर्न लागेका छौं । तर थपिएका समयहरु वेफाँकमा गुज्रीरहेका छन्, सभासदहरुको मासिक ५० हजारले तलव पाकेको पाक्यै छ । राष्ट्रपतिले सरकार बनाउन दिएको म्याद सकिएर ३ दिन पुनः थपिएको छ । यद्दपी, फेरी पनि सहमति बनिरहेको छैन । कसैले कसैको पनि नेतृत्व सकार्ने पक्षमा छैनन् । आफूले पाए सवै राम्रो अरुले लगे सवै खराव हुने आक्षेपको चश्मा लगाएर बसिरहेका छन् । हाम्रा नेताहरु आकाशमा उडेको चीललाई हाहा गर्दै तलबाट चल्ला टिप्ने छट्टु स्यालजस्ता भए । अर्थात राजतन्त्रलाई गाली गर्दे त्योभन्दा नालायकीपना देखाउन थाले ।
नातावाद, कृपावाद, पदोलोलुप हाम्रा जोसुकै नेताहरुमा देखियो, एउटा पार्टीलाई निषेध गरेर आफुमात्र सत्ताको हकदार हुनुपर्दछ भन्ने मानसिकतामा डुवे । अधिकांश नेताहरु मन्त्री हुन, आफ्नो सालालाई राजदुत बनाउन, र श्रीमतीलाई कुनै आयोगको अध्यक्ष बनाउनमा केन्द्रित भए । अनि आफ्ना कार्यकर्तालाई आफ्ना सुरक्षाका लागि अघिपछि कुदाउँदै अनि आफू एअरपंखी घोढामा सवार हुने मानसिकताले राजनीति गर्न थाले हाम्रा प्रीय नेताहरु !
लोकतन्त्र भनेको यो होईन । यो त वाहुनतन्त्र हो । र, यो वाहुनवादी नेताहरु भएसम्म यो मुलुकको कुनै परिवर्तन सम्भव छैन । वरु भएका गरेका कुराहरुसमेत धरासयी बनेर जान्छन् । यो लेखकीय धर्म होईन, यद्दपी भन्नैपर्ने भएको छ– यी वाहुनवादी नेताहरु विशेषगरी आकाशतिर पिशाव गर्ने र आफैं सेवन गर्ने गरिरहेका छन् । सामन्तवादलाई गाली गर्दै प्रत्येक नेताहरु आफू कसरी सामन्त बन्ने होडवाजीमा लागीरहेका छन् । हामी इतिहासलाई हेरौं, हामी हामीले गाली गर्दै आएका ज्ञानेन्द्रभन्दा कति पछाडि पर्यौं ! महेन्द्रलाई तानाशाहीका सम्राट देख्ने हाम्रा आफ्नै आँखाहरु आज कति कमजोर भएका छन् ! यसर्थमा हाम्रा नेताले जनताको वलिदानी र त्यागलाई आफ्नो वैयक्तिक अवसरको रुपमा प्रयोग गरिरहेका छन् । त्यसकारणले कुनै पनि सरकार सफल हुन सकिरहेको छैन । एकदल अर्को दलमा मात्र होईन, दलभित्रैको नेतृत्वसमेत सफल हुनसकिरहेको छैन ।
अर्कोतर्फ, अहिले राष्ट्रिय सहमतिको लागि अलोपालो सरकारको नेतृत्व गर्ने राजनीतिक दलहरुमा वहस चलेको छ । आलोपालो गर्नु भनेको पनि म काले तँ पनि काले, काले काले मिलेर छिमेकीको खाऊः भाले भन्ने नै हो । त्यो लोकतान्त्रिक ढंगले तर्कसंगत पनि छैन न त राजनीतिक धर्म नै हो । यदि लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्ने हो भने राजनीतिमा जनताले बढी विश्वास गरेको दलले नेै सत्ताको नेतृत्व गर्न पाउनु पर्दछ ।
मुख्यतः ३ दलका तीनतिर फर्केका टाउकेहरुले आफ्नै बपौता ठानी यो मुलुकलाई गुमराहमा पारिरहेका छन्, मुलुकको हित राष्ट्रको भलाईका लागि सोच्नेभन्दा आत्मरतीमा रमाइरहेका छन्, हाम्रा नेताहरु । आफैं बाटोमा आची गर्ने र आफैं ठूलो डंका गदैृछन्, यी नेताहरु । प्रधानमन्त्री मैले पाएपछि मात्र सहमती हुन्छ, नत्र हुँदैन भन्ने मानसिकताले सहमति जुटाउन खोजेपछि सहमति कसरी हुन्छ ? विशेषतः नेपाली कांग्रेसलाई ३ वर्षदेखि सत्तामा जान नपाएको आहटले पोलेको छ । एनेकपा माओवादी ठूलो हैसियतको दल र डा.बाबुराम भट्टराईलाई ८० प्रतिशत जनताको अभिमत प्राप्त हुँदाहुँदै शेरवहादुर र रामचन्द्रहरु जनताको मतलाई लात्तले हुत्याउँदै आफै धोतीकन्दनी कसेर पर्दामा देखिएका छन् ।
एउटाथरी कोक्ल्याटेहरु भन्दैछन्– सेना रहेसम्म माओवादीले सत्ता पाउनु हुदैंन । २, ४ जना घटिया चन्दने वाहुनहरुको भाषा हो, यो । यहीनेर असहमतीको गाँठो अड्किरहेको छ । किनकी पुराना पुरेत–पण्डितहरुले जजमानको जति नै शोषण गरेता पनि आफूलाई मात्र पवित्र देख्छन् र अरुलाई निषेध गर्छन । जवकि माओवादीलाई गृह, रक्षामन्त्री, उपप्रधानमन्त्री बनाउँदा हुने, त्यसमा बार्गेनिंग गरेर आफू प्रधानमन्त्री बन्न खोज्दा हुने, प्रधानमन्त्री दिदाँ चैं नहुने भन्ने सवाल अव ती तथाकथित त्रीनेत्रीय पुरैतहरुले आफ्नै जोइपोईलाई लगेर सुनाउदा वेश हुन्छ, नेपाली जनतालाई होइन ।
तर यसैलाई हाम्रा नेताहरु राजनीति भनि ब्याख्या गर्छन् । यो राजनीतिक हुदै होईन, वाहुनवादीहरुको नालायकी नीति हो । जवकि जजमानी गर्ने वाहुनका लागि दानदक्षिणा प्रमुख कुरा हुन्थ्यो, जनमानको मुक्ति वा कर्म होईन । जजमानको वुद्धि भ्रष्ट पारेर जतिसक्दो दान लिने, बचेखुचेका सम्पति पनि होमहोमादीमा लगाई कंगाल बनाउने, उसलाई कठिनसे कठिन श्रममा ब्यस्त बनाउने र उसले श्रम गर्दै आर्जेको धनलाई पापमोचनको वहानामा शोषण मात्र गरिरहने धर्म नै वाहनवादी धर्म हो । आजका राजनेताहरु जनतालाई पीडा, कष्ट दिएर उनीबाट सकेसम्म कर उठाएर आफू मालामाल बन्न, झण्डा र डण्डावाल गाडी चढ्न मात्र चाहन्छन् । यो मुलुकको दुरगति भए होस्, गणतन्त्र मुला भाँडमा गए जाओस् तर जतिसक्दो सम्पति र शक्ति आर्जन गरौं र मालामाला बनौ भन्ने ध्येयमा हाम्रो नेताहरु लीन छन् । जुन वाहुनको जजमानी धर्मभन्दा फरक छैन । यसकारणले काले काले मिलेर खाऊ भाले भनेर गरिने राजनीतिले बास पाइरहेको छ । प्रचण्ड–देउवा, देउवा–माधव वा प्रचण्ड–झलनाथहरुले मात्र मिलीजुली खाने तर शान्ति प्रकृया निष्कर्षमा नपुग्ने र संविधान पनि नबन्ने खतरा रहीरहेको छ ।
तथापि शान्ति प्रकृया पुरा गर्ने र संविधान बनाउने हामीसंग अझै समय छ । त्यसैले साच्चै सहमति निर्माण गर्ने हो भने अव न्युनतम ३ प्रतिशत ल्याएका दलका शिर्ष नेताहरु संगै बसेर यसलाई टुंग्याउन सकिन्छ । यसका लागि युवा पुस्तालाई अगाडि राखेर मिनी संविधानसभाको रुपमा सर्वपक्षीय गोलमेच सम्मेलन गरौं । आआफ्ना दलबाट प्रतिनिधिमूलक ढंगले बसौं । एक दिनभर बसौ पुग्ने भने २ दिन, ५ दिन, १० दिन बसौं र आआफ्ना कमीकमजोरीहरुलाई नधकाइ आत्माआलोचना गरौ । स्वस्थ्य ढंगले अर्काको आलोचना पनि गरौं । अवको कार्यदिशा के हो, कसरी अगाडि बढ्ने भन्ने न्युनतम सहमति निर्माण गरी त्यसमा हस्ताक्षर गरौं । सवैले सवै सच्याऊँ र अरुलाई सच्याउने मौका दिऔं । यसका लागि दलहरुले आआफ्ना आन्तरिक वैठक बसी न्युनतम आधारहरु तय गरी बढीमा २ जनालाई म्यान्डेट दिई पार्टीका तर्फबाट सम्मेलनका लागि पठाऔं । उसले सही गरेर आएका निर्णयहरुलाई हुवहु कार्यन्वयन गर्न हाम्रा पार्टीहरु तयार हऔन् । यसो गर्दा पार्टीको वा जातिको भन्दा पनि मुलुकको हितलाई सोचौं । र, सहमति निर्माण हुन्छ भने माओवादीको शब्दै अछुतो हुन्छ भन्ने भ्रमबाट वाहिर आऔं ।
एउटै मात्र गाँठो छ, असहमतिमा– त्यो हो, सवैलाई सत्ता चाहिएको छ । तसर्थ सहमति बनी संविधान बन्छ, शान्ति प्रकृया पनि निष्कर्षमा पुग्छ भने मिलीजुली खाने भने पनि खाऊँ । तर यो प्रसव पीडामा गुज्रिरहेको वेलामा एकले अर्कोलाई विभिन्न वहाना गरी निषेध गर्ने होईन, वरु मापदण्ड तोकौं, जनताको अभिमतलाई सम्मान गरौं र अगाडि बढौं । यस पहलकदमीका लागि राष्ट्रपति के तयार हुनुहुन्छ ? जवकि राष्ट्रपतिको पलकदमी ओजिलो र विश्वसीयन हुनसक्दछ । यसले नेताहरुलाई आफ्ना घमण्ड त्याग्न र कुण्ठाबाट उन्मुक्त गराउन थप दवाव दिनसक्दछ । उनी अभिभावक भएका नाताले उनले नै सहमतिका लागि यस्तो पहलकदमी उठाउनु पर्दछ । नत्र सहमतिको कुरोमात्रै फलाकेर उनले शितल निवास बसेको कुनै तुक रहँदैन । यदि यसो हुनसकेन भने नागरिक समाजका अगुवा भनिनेहरुले एकपल्ट हिम्मत गर्नुपर्दछ । विशेषगरी देवेन्द्रराज पाण्डे, लोकराज वराल, दमननाथ ढुंगाना, चरण प्रसाई, सुवोध प्याकुरेल तथा कृष्ण पहाडीहरुले संयुक्तरुपमा यो प्रयाश गर्नुपर्दछ । यसो गर्दा पनिसुन्दैनन्, नेताहरु आफ्नै गोरुको बाह्रैटक्का निष्कर्षविहिन वहिस्कारमात्रै गरेर वाहिरिन्छन् भने परशुराम बस्नेतजस्ता साधारण ब्यक्तिका पछाडि लाग्ने मिडियाले ती राष्ट्रिय अपराधी नेताहरुलाई लगातार वहिस्कार गर्नसक्नु पर्दछ ।
‘यी नेताहरु भनेका यथास्थितीवादी सोच भएका, विकास र समृद्धिका वाधक हुन् जसले गणतन्त्रको संस्थागत विकास गर्न सक्दैनन् र लोकतन्त्रको रक्षा गर्न पनि जान्दैनन् । यिनले सक्ने भनेको लम्वाचौडा भाषण, मन्त्री भइ उद्घाटन र दरसन्तानको आर्थिक संरक्षण मात्र हुन्’ भन्न सक्नुपर्दछ । यसले एउटा गहकिलो दवाव श्रृजना हुनसक्दछ । जवकि मुलुक नै डुवाउनेलाई हामीले पनि बचाइरहनु जरुरत छैन, अव ।




