खनाल माओवादीमा र ओली-नेपाल कांग्रेसमा बिलाए हुन्न ?
एमालेका नेता केपी ओली प्रधानमन्त्री माओवादीको इशारामा चलेको आरोप लगाइरहन्छन् । अहिले मन्त्री मण्डल बिस्तारपनि माओवादीकै बहकाउमा गरेको आरोप थेग्दै छन् खनाल । यो आरोप नाजायज जस्तो पनि लाग्दैन । किनभने यस्सो आलटाल र घुर्की दिएपनि अन्तत खनाल मज्जैले गोट्टी बनेकै छन् माओवादीको । तर त्यस्तो आरोप लगाउने एमालेका ओली- नेपाल पक्ष चाहिँ निष्पक्ष छन् ? खनाल माओवादीका गोट्टी बनेझैं यी चाहिँ कांग्रेसका इशारा र बहकाउमा चल्छन् । खनाल पक्षकाले आरोप लगाउने गरेकै छन्, नेपाली कांग्रेससित मिलेर संविधान सबह भंग गर्ने षडयन्त्रमा लागेका छन् ओली । यद्दपी उनले सिधै नाम तोक्ने गर्दैनन् । बिदेशी प्रतिक्रियावादीसितको साँठ गाँठ गरेको आरोपपनि खनाल पक्षले बाक्लै लगाउने गर्छन् । जे होस, यो एमाले पार्टीमा आफ्नै पार्टी नेत्रित्व, आफ्नै नीति, द्रिष्टिकोण केहि देखिन्न । एक थरी माओवादीका इशारामा नाच्छन् त अर्को थरी कांग्रेसको । जब आफ्नो छुट्टै अस्तित्व कायम गर्न सकिन्न भने बिचार मिल्नेसित बिलाए के हुन्छ ?
पहिले माओवादी जनवादी राज्यसत्ता ल्याउने भन्दै जनयुद्द गर्नतिर लाग्यो । एमाले हँसिया हथौडा झण्डा बोकेर माओवादीलाई कम्युनिस्ट बिगार्यो भन्दै बसिराख्यो । संसदिय राजनितिक ब्यवस्थामा दुई भिन्न बिचारका दुई अलग पार्टी कांग्रेस र एमाले भए । कांग्रेस धनीमानी, पूजीपती, सामन्तहरुको पार्टी भए झैं एमाले गरिवको लागि कम्युनिस्टको । भएपनि नभएपनि कम्तिमा भ्रम त यहि थियो । तर माओवादी संसदिय राजनीतिमा आएपछि ? एमाले संकटमा पर्यो । झापा आन्दोलन पछि बिचार, आदर्श र क्रान्तिकारी धारमा खुइलिँदै गएको एमालेको बाटो अहिले माओवादीले पक्रेको छ । मन्त्रीकालागि मारकाट, संसद अवरुद्द । पदका लागि मारमुंग्री । शहरमुखि नेता । सुख र सयलमा लम्पट बन्दै गएको तिनको नियती । बोधो हुँदै गएका कार्यकर्ता । जनता छाडेर आफैं मालामाल बन्ने ध्येय । जनताका अगाडि गरेका बाचाहरुको हत्या । एनजिओ संस्क्रितिको बाक्लिँदो मोह ।
यी सबै हिजो एमालेका विशेषता हुन् कि होइनन् ? ढाँट् छल, सत्ताको लागि जेपनि गर्ने । जनता भुल्ने । कार्यकर्ताको लगानीलाई लत्याउने । नेता मालमाल बन्ने । अनियमितता, भनसुन, नजिककालाई काखि च्याप्ने । सरकार बनाउन, मन्त्री पड्काउन जस्तो सुकै तिकडमपनि गर्ने । यो सबै एमाले अस्तित्वका हतियार थिए । अब ति बिस्तारै माओवादीमा सरेका छन् । यी मूल विशेषता बिनाको एमालेको पहिचान रहन्छ ? एमालेका मुख्य विशेषतानै माओवादीले लिएपछि एमालेको अस्तित्व कतिन्जेल धानिन्छ ?
राष्ट्रियताका लागि कम्युनिस्टहरु बढि कट्टर हुन्छन् भनिन्छ । अन्यत्र देखिएरै होला त्यसो भन्ने गरिएको । हाम्रोमा त कम्युनिस्ट पार्टी एमाले नदी बेचेर पोल्टो थाप्नपनि नछोड्ने । बिदेशीले आफ्नो देशको सिमा मिच्दापनि उसको प्रशंसा गरेर बस्ने । टाउको दुखेपनि भारत कुद्ने । तिर्ख लाग्दापनि भारतीयलाई नसोधी पानीसम्म नलिने । छोरा छोरी पढाउन् उतै । आफ्नो उपचार उतै । अनि यस्तो पार्टी कसरी कम्युनिस्ट हुने ?
नेतापनि उस्तै छन् । केपी ओली कांग्रेस एमाले गठबन्धन सरकार हुँदा समग्रमै सबै भन्दा प्रिय मन्त्री रहे प्रधानमन्त्री कोइरालाको । कांग्रेसले जे भन्थ्यो त्यहि गर्थे ओली । गिरिजा प्रसाद कोइरालाका कार्यसैलीको बिरोध गर्नेमा देउवा, पूर्ण बहादुर खड्का, अर्जुन नरसिंह केसी देखि कूल बहादुर गुरुङ लगायत निकै थिए । देउवा पक्षका त हुनेनै भए । तर कांग्रेसको आफ्नै पार्टीमा नरुचाइएका गिरिजाका कामलाई पनि ओलीले प्रसाद ग्रहण गएरेझैं लिए । कहिँ कतै उनले बिरोध गरेनन् । उनी संविधान बनाउने, शान्ति संझौतामा के के शर्त राख्ने देखि सारा कांग्रेसको नेत्रित्व स्विकारे ।
त्यसैले बिचार, मन, नेत्रित्व, बानी, सबै खनाल पक्षको माओवादीसित मिल्छ । खस्किँदै आएको माओवादीको साख एमालेको खनाल पक्षिय नीति र बिचारसम्म ओर्लिएर जम्काभेट भएको छ । उता केपी ओली पक्षको भारत मोह गुण्डागर्दी, जूट, जनताको मतको कदर भन्दा धकधम्की, झुट, भारत प्रेम । यसमा घट्ने कुरो भएन । अहिलेपनि सरकार परिवर्तन वा टिकाउ, संविधान निर्माण, शान्ति संझौताको पालना लगायतका विषयमा ओली नेपाल पक्ष कांग्रेसकै काँध मिलाएर हिँडेका छन् । ति कम्युनिस्ट भएपनि तिनमा त्यो हँसिया र हथौडाको कुनै साइनो बाँकी छैन । बरु ति कम्युनिस्ट शैली र आदर्शबाट चार कोष टाढा छन् ।
यता माओवादीकापनि क्रान्तिकारी नारा, क्रान्तिकारी धार, क्रान्तिकारी आदर्श सबै दूर्घटना भैसकेकै छन् । पहिलेको खरो कम्युनिस्ट अब माओवादी संसदमा छिरेपछि रहने पनि त भएन । त्यसैले संसदिय राजनीतिमा आफूलाई अभ्यस्त पार्न उ सरकारको प्रयोग नयाँ नयाँ ढंगले गरिरहेको छ । आफूलाई एमाले जस्तै तगडा बनाउन हिजोका नारा, हिजोका बचन, जनतासितक खाएका कसम, जनता प्रतिको जिम्मेवारी, राष्ट्रिय समस्यालाई तिलान्जली दिँदै छ । र एमालेलाई अँचेटेर त्यसको ठाउँमा आरोहण गर्दै छ । एकातिर झलनाथ खनाल र अर्को तिर केपी -माधव बाहेक दुई चार जना यस्सो अपवाद छन् दुबै पार्टीमा । तर ति कि त नाकको चालले एकातिर मिल्छन् । कि त दूर्गा सुवेदी (कांग्रेसका) वा कम्युनिस्टका मोहन चन्द्र अधिकारी झैं बिलुप्त हुन्छन् । बिचार, ब्यवहार, जाउने जाने, बोली, नीति सबै ओली-नेपालको कांग्रेससितै मिल्छ । उता झलनाथ पक्षको माओवदीसित । अनि यी दुई पक्ष मध्ये ओली र नेपालले कांग्रेस र खनाल पक्ष माओवादीमा ईज्जतकासाथ एकता गरेर गए हुन्न ? कामरेडहरुले जति ढिला गर्यो एकातिर माओवादीलाई अर्को तिर कांग्रेसलाई फाइदा । किनभने यी दुई पक्षका कार्यकर्ता लाग्ने भनेकै आआफ्नै नीति मिल्नेतिर न हो ।




