अयोग्य जनसेनाले दिए माओवादीलाई चेतावनी
‘
हाम्रो सरकार आएपछि जनसेना जति खर्लप्पै राष्ट्रिय सेनामा समाहित गरिन्छ’ भन्दै जन सेनामा भर्ती हुन हौस्याएका थिए माओवादीले । जनताका छोराछोरी देशको मुहार फेर्न भन्दै ज्यानलाई ‘प्रतिक्रियावादी सेना’ का गोलीसित चुनौती दिँदै हाम्फाले । लडे। भिडे । कतिका ज्यान गए । कति आजन्म अपांग भए । लडेर आयोपनि माओवादी सरकार् । एक पटक मात्रै होइन दुइ पटक आयो । तर राष्ट्रिय सेनामा पसेर देशका लागि सेवा गरुँला, रोजीरोटी होला भनेकाहरु मध्ये छ हजार जति अयोग्य भन्दै फिर्ती गराइए।
अनमिनले अयोग्य घोषणा गरेर घर फिर्ती गर्दा माओवादीका बडे बडे नेता गएर आश्वासन दिए ‘कामरेडहरु अहिले तत्कालका लागि जानुहोस । सांगठनिक काममा लाग्नुहोस । पार्टीले तपाइहरुको बलिदानलाई वेवास्ता गर्दैन । उच्च मुल्यांकन गरेको छ । पछि कुनै न कुनै ब्यवस्था गर्छ’। त्यो त भएन । दुई वर्ष जति पर्ख र हेरमा चुप चाप बसेका जनसेना पार्टीमा सत्ताको लागि मारामार देखेपछि वाक्क भएर अहिले माओवादी नेतालाई चेतावनी दिएका छन्- ‘खबरदार ! हाम्रो रगतको मूल्य चाहिन्छ’ भन्दै ।
अनमिन नामको ‘वैरी’ ले त अपनाम गर्यो गर्यो । परिवर्तनका लागि लडेका जनसेनालाई । निकै समय कुरे । तैपनि नेताले सोच्दै होलन् । अहिले प्रतिकूल समय छ, अनुकुल भएपछि गर्लान् नी ! ए गाँठे, सँगसँगै लडेका भिडेका कामरेडले के विर्सिएलान त हो ! यस्तै सोचेर माओवादी नेताले भन्नासाथ नाइनास्ती नगरी बसको भाडा मात्रै थापेर ति लुरुलुरु गाउँ फर्के। धैर्य गरे। संयम बने। तर माओवादीले के भ्याउनु त्यस्तो सोच्न। पन्ध्र पन्ध्र दिनमा मन्त्री फेर्दै फूर्सद छैन। धैर्यताको पनि त सिमा हुन्छ । अब हाम्रा रगत मर्स्याङ्दीको पानी भन्दा सस्तो ठाने नेताले । हामीलाई बगरमा खसेको पात जस्तै ठाने। हामीलाई दिएका सपनामा तैरिएर ति सिंहदरबारतिरै रल्लिए भन्ने बुझे तिनले । अनि अन्तिममा निष्कर्ष निकाले- हामीलाई अपमान गरेकै हुन् । अब नजुर्मुराइ हुन्न ।
जनयुद्दमा बुरुक्क बुरुक्क गर्दै हतियार हातमा राखिदिनेमा पार्टी अध्यक्षका विश्वास पात्र वर्षमान पुन ‘अनन्त’ झन खप्पिस थिए । छोटा कदका कामरेडले बडे बडे कदका आश्वासन दिँदा तिनले बन्दुक झ्यापका झ्याप अँठ्याए । र लागे भिड्न । अनि तिनको अपमानको पीडा कसलाई पोख्ने ? अनमिनले अयोग्य भन्दै पठाएका ति जनसेनाले भेटे तिनै अनन्त कामरेडलाई । दुख पोखे । वेदना सुनाए । हिजोका बाचा संझाए । त्यतिले हुने होइन । अनि भने- हेर्नुस् कामरेड हिजोनी हाम्ले बन्दुक बोक्या हो । लडेकै हो । भिडेकै हो । हिजो थिएन ज्यानको माया भने आज’नी गरिन्न । हिजो जनताको अवमूल्यन गर्नेसित लडियो । अब हाम्रो अवमूल्यन गर्ने कामरेडहरुसित पनि परे लडिन्छ । हाम्रो लगानीको उपहास गरिन्छ, अवमूल्यन गरिन्छ भने फेरी बन्दूक उठाउनु परेपनि उठाइन्छ ।
तिनले अनन्तसित मात्रै भनेका हुन् र ? राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा केबी रोकायालाई समेत सँगै राखेर दिए चेतावनी । मानव अधिकार हाम्रो छैन ? हामीपनि हिजो लडेका हौं । भिडेका हौं । हाम्रो बाँच्न पाउने अधिकारको पनि सुरक्षा हुनुपर्छ । हाम्रो लगानीकोपनि मुल्यांकन गरिनुपर्छ । उनीहरुले कतै लगेर खुशुक्क भनेका होइनन् । माओवादीकै जनसञ्चार अभियानले आयोजना गरेको छलफल मै सयौं श्रोताका अगाडि हाकाहाकी चेतावनी दिएका हुन् । आवश्यक परे आत्मघाती निर्णय गरिन्छ भनेर थर्काए ।
उनीहरुले चेतावनी मात्रै दिएनन् । पूर्व जनमुक्तिसेना संघर्ष समिती खोलेर दह्रोसित निस्किने छनक पनि दिएका छन् । संघर्ष समितीका संयोजन क्रिष्ण प्रसाद दंगालले त सोझै चुनौती दिएछन् ‘जनयुद्द लडुन्जेल योग्य । काम सकिएपछि अयोग्य ? हामी अयोय होइनौं राज्यले जबर्जस्ति बनाएको हो । हाम्रो उचित ब्यवस्था गरिन्न भने राज्य विरुद्द फेरी हतियार उठाउनुको बिकल्प छैन’ ।
प्रमुख अतिथी भनिएका अनन्त कामरेडले के भन्ने ? के दिने ? उनले आफ्ना अगुवा कामरेड प्रचण्डले जे सिकायो त्यहि त भन्ने हो । प्रचण्ड कामरेडलाई आफन्तको ब्यवस्था गर्नु, छोरोलाई हिमाल चढ्ने आधा करोड भन्दा बढि दाम खोज्नु, पार्टीमा सबैलाई पछारेर लुलो पार्नु र आफू अगाडि बढ्नैको फूर्सद छैन । खोला तरिसकेपछि नाथे लौरो कल्ले हेर्छ । फेरी तर्नु परे फेरी पाइन्छन् त्यस्ता बगरमा पल्टिएका बेरोजगार लौरा । अनि अनन्तले टालटुले जवाफ दिए – कमरेड हो तपाइहरु कहाँ अयोग्य हुने ? दश वर्ष जनयुद्द लड्ने तपाइहरु कहिँ अयोग्य बन्नुहुन्छ ? सधैं योग्य । पार्टीले तपाइ कामरेडहरुको योगदानको उच्च मूल्यांकन गरेको छ । कसैको बहकाउमा लागेर अप्रिय निर्णय नलिनुहोला । तपाइहरुको उचित ब्यवस्थापनको लागि पार्टी गम्भिरताका साथ लागेको छ । धन्न सोधेनछन् जनसेनाले, कामरेड यो गम्भिरताका साथ भनेको के हो ? १५ / १५ दिनमा मन्त्री फेर्ने ? के कसरि गम्भिरताका साथ लागेको छ पार्टी ?




