प्रचण्डप्रति बुढा कामरेडको मोह भंग

नेपाल कम्युनिष्ट पार्टीका एक मात्र जिवित नेता हुन् नरबहादुर कर्माचार्य । माओवादीमा जति बेला उनको मोह थिएन त्यतिबेलापनि यी माओवादी थिए । तर काम भने यीनले माओवादीका लागि गरेनन् नेकपा (एकताकेन्द्र) का लागि गरे । किनभने, २०५२ सालमा नेकपा (एकता केन्द्र) मा भएका केन्द्रिय समितीका बहुमत सदस्यको निर्णय थियो, अब जनयुद्दमा जाने । त्यसैले तिनले नारायणकाजी श्रेष्ठ लगायत त्यो पक्षका अथवा जनयुद्दमा जानु हुन्न भन्ने जति सबैलाई कारवाही गरे । तर एक जना नरबहादुर कर्माचार्यलाई बाँकि राखेर । माओवादीले त्यतिसम्म रुचाएका ब्यक्ति हुन् नरबहादुर ।

भनिन्छ, उनलाई कारवाही नगर्ने जोडजुलुमपनि त्यति बेला प्रचण्डकै थियो । जनयुद्दका कठिन दिनमा, कार्यकर्ता पक्राउ पर्दा र तिनलाई लुकाउने ठाउँ को समस्या पर्दा होस् कि कुनै अन्य सहयोग । प्रचण्डले ‘दाइ लौ न यस्तो पर्‍यो’ भन्दा कहिल्यै नाइनास्ती गरेनन् । पार्टी नीति जनयुद्दको बिरुद्द हुँदापनि उनले प्रचण्डलाई भरमार सहयोग गरे । पार्टी अध्यक्ष प्रचण्ड र नरबहादुर दुबै एक अर्काका ‘फ्यान’ समेत हुन् । त्यसैले नरबहादुरले पटक पटक भन्ने गरेका छन्, ‘माओवादीमा पार्टी हाँक्न सक्ने प्रचण्ड नै हुन्, त्यसपछि प्रकाश (नारायणकाजी) नै हो । ‘ तर अहिले कसरि यी पाका कामरेडको मोह भंग भयो प्रचण्डप्रति ?

माओवादीमा मुख्य पदजति पार्टी अध्यक्ष प्रचण्डले लिएर केन्द्रिक्रित भयो । हैकमबादी, एकमनाबादी संस्क्रिति हावी भयो भनेर निकै समयदेखि अन्तर्पार्टी संघर्ष चल्यो । मोहन बैध्य र बाबुराम भट्टराईले संयुक्त रुपमा कस्सिएर बिरोध गरे । हुँदा हुँदा पार्टीमा बहुमत पुग्ने कि नपुग्ने भनेर निर्णायक ठानिएका रामबहादुर थापा ‘बादल’ समेत थपिएपछि संकटमा परे प्रचण्ड । के निहुँ पाउँ कनिका बुकाउँ भनेझैं केन्द्रिय समितिमा प्रचण्ड बिरुद्द बहुमत पुगेपछि पद बाँडफाँडमा राजि भए ‘अब मेरो काँध हलुको भो’ भन्दै । प्रचण्ड बिरुद्द बडे बडे नेताको गठजोड र हस्ताक्षर हुँदापनि नरबहादुर बाजेले केहि बोलेनन् । न प्रचण्ड बिरुद्द हस्ताक्षर गरे । न त बैध्य-भट्टराइकै पक्षमा लागेर हुँडलो मच्चाए । पदको रमिता हेरेर बसे । सैयंता अपनाए । तर अति भएपछि खती हुन्छ भन्ने झैं लागेछ क्यारे । बुढाले अन्तिममा तिनै प्रचण्डप्रतिको आफ्नो मोह भंग गरे ।

त्यति मात्रै हो र ? आफूले सार्है आशा गरेको, भरोसा गरेको, नेपाली क्रान्तिलाई उचाइमा पुर्‍याउँछ, यो देशलाई अब हाँक्ने एक ब्यक्तिनै यहि मात्रै हो भनेर प्रशंसा गर्दै हिँडेको त्यहि ब्यक्तिमाथि उनले अध्यक्षको कार्यशैली नोकरशाही भनेर हस्ताक्षर नै दन्काए । माओवादी केन्द्रिय समितिमा अध्यक्ष प्रचण्ड बिरुद्द ७५ जनाको हस्ताक्षर बुझाउनु अघि धोवीघाटमा भेला गरेछन् । यी कर्माचार्य मुलत त्यस्ता गुटगत भेलाहरुमा जाने गर्थेनन् यस अघि । भेलामा ७ प्रतनिधि नेताहरुले सल्लाह गरेर प्रतिबद्धता पत्र तयार पारे । उनीसमेत त्यसमा छलफल गर्न पुगे । र अरु बाँकी छ जना सितै सहमती जनाए । माओवादीमा अध्यक्षबिरुद्द गरिएको प्रतिबद्दतापत्रमा हस्ताक्षर पार्टीका तिन उपाध्यक्षसँगै कर्माचार्यलेपनि धस्काए । बाँकी दुइ जना नवराज सुवेदी र स्वनामसाथी थिए ।

स्वनाम साथी पूर्व नेकपा एकताकेन्द्र मसालबाट पार्टी एकता गरेर आएका हुन् । नवराज सुवेदी मोहनबिक्रमसित बस्न नसकेर पार्टी एकता गरेर आए । यीनीहरुमा आआफ्ना गुटका, आआफ्ना कार्यकर्ताका गुनासा र जिम्मेवारी सुरक्षित राख्नु, बचाउनु, जिम्मेवार भूमिका खोज्नु स्वभाविकै हो । डा बाबुराम भट्टराइ, मोहन बैध्य र प्रचण्डको अन्तर्संघर्ष सधैं चलिरहेकै हो । नारायणकाजी एक त नयाँ एकता प्रक्रियाबाट आएका, अर्को प्रचण्डको बिकल्पका रुपमा सोच्ने महत्वाकांकांक्षी भएकाले पनि स्वभाविकै हो । तर कम्युनिष्ट पार्टीका एक मात्र जिवित नेता । प्रचण्डकै फ्यान । पार्टी फुटाएर जाँदा साथ नदिनेलाई समेत कारवाही नगरेर त्यत्रो सम्मान दिएका संस्थापक कामरेडले अहिले आएर प्रचण्डलाई नोकरशाहीको दर्जा गुथाइदिए । साँच्चै उनको यो निर्णयले प्रचण्डलाई निकै छोएको बताइन्छ । तर दशकौं देखि साथ दिएका यस्ता पाकाको समेत मोह भंग हुने काम गर्दै गए भए भने प्रचण्डको हालत पार्टीमा बिस्तारै के होला ? अग्नी सापकोटा, वर्षमान पुन ‘अनन्त’ जस्ता कति रहलान् ?

तपाइँको प्रतिक्रिया