जनता होइन ज्योतिषकहिँ धाउनु कामरेड हो !
जयुद्दकालभरि मन्दिरहरु माओवादी कामरेडका निशाना बने । मन्दिर, देवी देवता, धर्म कर्मले मान्छेलाई अफिमको नशा झैं बनाउँछ, भाग्यवादी बनाउँछ भन्दै तिनको नास गर्थे कामरेडहरु । त्यसैले मन्दिरका पूजारीका टुप्पीहरुले कैंची भेटे । शास्त्रका किताबले कामरेडी फलामे हातका धक्का सहे । रुद्री र चन्डीहरु गुप्तवासका शिकार बन्थे । भित्ताका देउताहरु कमरेडी चिथ्र्याइका त्रासमा झुण्डिए । तर जमाना गाइ की त्रिशुल झैं पल्टियो । जनयुद्द रोकिनासाथ माओवादीका नेता डा बाबुराम साप आफ्नी आमा लिएर मनकामना पुगे । ईश्वरकै पाउमा परे । मनकामना माइले के के पुरा गरिदिन् कुन्नी । उनी दिल हँसाएर फर्किए ।
शास्त्रमा भैसींलाई महिसासुर भनेर लेखिएको छ के रे ! तर माओवादी अध्यक्ष प्रचण्डलाई पनि त्यहि भैसीं चाहियो । सुनसरीको चतरामा पुगेर ग्रहशान्ति भन्दै भैसीं पूजा गरेर दुनियाँलाई खुब मनोरञ्जन दिए । अहिले अर्का नेता निस्किए अब्बल दर्जाकै । ग्रिहमन्त्री हुने बतास चल्नासाथ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चिना लिएर आफन्तलाई ज्योतिषकहाँ दगुराउँदै छन् ।
जसलाईपनि एउटा न एउटा आड, भरोसा, समर्थन र आश चाहिन्छ । अधिकांश समय ललितपुर र काठमाडौं बसेर ‘गाउँले राजनीति’ गरेका माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि त्यो चाहिन्छ नै । पहिले मठ, मन्दिर, देउता, भगवान सबै त्यति बेलाका शासकको कब्जामा थिए । तिनका शक्तिका आधार जनता थिएनन् । तिनका शक्तिका अद्रिष्य आधार जे थिए तिनको भक्ति चढाए । तर माओवादीका जनता थिए । विश्वास जनताको थियो । आधार जनता थिए । अर्दा पर्दा जनता चाहिन्थे । जनताले लुकाए । जनतालेनै खुवाए, पिलाए । जनयुद्द सकियो । नाथे जनयुद्दले गरेका बाचा जनयुद्द नै सकिएपछि कहाँ रहन्छन् ? जनयुद्दले उठाएका माग त जनयुद्दसँगै बगेर गए । जनयुद्दमा माग राख्ने जनताका बाचा पनि त ति सँगै सलल मर्स्याङ्दीमा बग्ने भए । अनि आधार त केहि न केहि चाहियो नी !
नारायणकाजी त झन यस्ता नेता परे । न हिजो जनयुद्द प्रति यीनको विश्वास थियो । न आज छ । आज चौतारामा हाइ काढ्दै बसेको जनयुद्द प्रति यीनको विश्वास रहने कुरो त झन हुँदै भएन । जनयुद्द थियो र न जनता थिए । जनयुद्द थियो र न जनताको खाँचो थियो । आज न जनयुद्द छ । न निर्वाचन आएको छ । किन चाहिए जनता ? जनयुद्द नै नगर्नेलाई के जनता ? के को भर लिने ? बास ! ज्योतिष शास्त्रको । त्यसैले यी बडे कामरेड अहिले चिना बोकाएर आफन्तलाई ज्योतिषकहाँ लखटीरहेका छन् ।
जान त जनता कहाँ मन लाग्दो हो उनलाईपनि । तर के भन्न जाने ? सरकार अब तेस्रो पटक फिटिँदै छ । बाबुराम भट्टराइले अलि अलि चारो छरेका हुन् अर्थमन्त्री हुँदा । त्यो बाहेक कुनै नेताले जनताका लागि सिन्को भाँच्न सकेनन् । प्रतिक्रियावादीले गर्न दिएनन् भने पनि जनताका पक्षमा गतिलो योजना ल्याएर प्रतिक्रियाबादीले असफल पारेको देखाउन सकेनन् । यस्सो आँखा लाउँदा नेताका टिलिक्क टल्किने गाडी । भाडामै सहि राजा बस्ने गाउँमा बंगाला । जनताका भागमा महँगी । टुकी बाल्ने खजानामा मनपरी मूल्य आकासिएको छ । जनयुद्दका लागि ज्यानदिनेको नामो निशाना कार्यकर्तामाझ भाषण ठोक्दा मसला बनेको छ । हिजो जनताका छोरा छोरी ढुकुर झैं मार्नेका घाँटीमा कामरेडहरुलेनै फूलमाला भिराइदिएका छन् । घाम तापेर बस्ने कर्मचारीको तलब बढ्दा जनताका नामममा तेल र पिठो, दाल र भटमास, ओखती र पानीमा कर नामको बिल्ला अझै कसिदिएर उपक्रम गरिदिएका छन् । अनि के भन्न जाने जनता कहाँ ?
यस्तै अड्को पड्को पर्दा त चाहिने हो नि चीना । आखिर समाज यहि हो । जनता तिनै हुन् । हुर्किएको पहिलेका तिनै राजाको गाउँ हो । पानी राजा रजौटाकै ईनारको घुट्की मारेको हो । सुन्ने, देख्ने, पढ्ने, हेर्ने सबै राजा रजौटाकै हो । राजाहरु मठ मन्दिर धाएरै झण्डै २५० वर्ष राज्य गरे । तिनै चिना देखाएर मस्ती लूटे । तिनै ज्योतिष धाएर ढुक्क भए । त्यसैले ज्योतिष भनेका सिंगो नेपाल एकिकरण गर्ने स्रोतले समेत मानेको । यत्रा वर्ष राज्य गर्ने कूल घरानियाँले धाउने गरेको । कम्ति शक्ति छ त्यो चीनामा ? कम दम्भ हुन्छ त्यो ज्योतिषमा ?
आखिर पार्टीका नेताबाट सिक्ने त हो । भैंसी पूजाले प्रचण्ड कामरेड लाई शक्तिमा पुर्यायो । टिकायो । मनोकामना माइले डाक्टर सापलाई अर्थमन्त्रीमा जुरुक्कै बनाइदिइन् । अहिलेसम्म तिनै मनोकामना माइको शक्तिले डा सापलाई पार्टीका जब्बर कामरेडलाई हर्लङ हर्लङ किलो हल्लाए झैं हल्लाइदिने शक्ति दिएको छ । जनताको राजनीति गर्दा अहिलेसम्म नारायणकाजीलाई त्यत्रो पदमा पुर्याएन त । अनि कामरेडले त्यसैको देखासिकी नगरेर के गर्ने ? समाजबाट नसिकेर के गर्ने ?
जनता कहाँ गए हकार्छन् । गाली गर्छन् । मुड्की उदाउँछन् । तिम्रा बाचा के थिए ? भनेर जाइलाग्छन् । हामी नांगा खुट्टा हिँड्ने तिमीहरु एउटा गाउँनै झिलिली पार्न पुग्ने पैसो बराबरको गाडी चढ्ने भनेर गन गन गर्छन् । सरकारमा गएर पहिलेकाले के गरे अब तिमी गएर के नै दिन्छौ र भनेर औंलो ठड्याउँछन् । ‘न मलाई भोट देका थ्यौ र ?’ भन्दै चर्चरी बाझ्नु । न मैले उचाल्या थें र तिमेरलाई जनयुद्दमा आओ भनेर ?’ भन्दै फन्फनाउनु । कामरेडलाई कम्ति आपत छैन । अनि किन जनता कहाँ जाने ? ज्योतिषले त कामरेडलाई अक्किल दिन्छ अक्किल कसरि मन्त्री हुने, कसरि चाहिएकै मन्त्री हुने, कसरि लामो समयसम्म टिक्ने भनेर । जनता रिसाउँछन् ज्योतिष मुसुक्क मुस्कुराउँदै चिना हेरिदिन्छ । अनि किन जाने जनता कहाँ ?




