बाठो बाँदरको कथा र बेल्जियममा प्रलयको रामकहानी !

सुन्दा अलि बेमोज लाग्न सक्छ । नेपालीमा एउटा कथा छ, बाठो बाँदरको । बाँदर बाठो भयो भने फुल्लौरा चेप्टिएर मर्छ भन्ने । कथाले भन्छ, बाँदर रुखका पात पात हाम्फाल्छ । हाँगा हाँगा दौडिन्छ । फुर्लुङ्ग उफ्रिएको उ तत्कालै बुर्लुङ्ग हाम्फाल्छ । वरिपरि देख्नेलाई जिस्काउँछ । रुखका हाँगा भाँचेर हिर्काउँछ । यति सम्म कि जंगलको राजा मै हुँ भनेर गमक्क फुल्ने बाघलाईपनि हद्दु खेलाउँछ । उसले तल रुखमुनी सुतेको बाघका जुँघासम्म तान्न पुग्छ । बाघले आँखा उघार्दा हाँगामा पुगेर गिज्याउन भ्याइसकेको हुन्छ । हत्ती जस्तो अजंगको जनावरलाईपनि तर्साउने, भालू जस्ता ज्यानमारा जन्तुसितपनि नझुक्ने र अजंग अजंगका जनावरलाई एकै झप्पडमा थुचुक्कै पार्ने  बाघलाईपनि छिन छिनमै जिस्काएर हैरान पार्छ । त्यहि रुख चढ्न सक्ने सिपले गर्दा उ सबैलाई जिस्काउँछ, जिल्ल्याउँछ ।

तर एक दिन यस्तो हुन्छ, त्यसरि हाँगा हाँगा हाम्फाल्दै भाग्दा उसका फुल्लौरा हाँगाकै कोप्चेरामा ठोक्किएर उसको ज्यान जान्छ । गत २६ तारिख  एन आरएन बेल्जियमको निर्वाचनमा माओवादीको यस्तै हालत भयो भन्दै बेल्जियमका मित्रहरुले मलाई सुनाएका हुन् यो बाठो बाँदरको कथा ।

तर बाठो त बेल्जियमका एमाले पो भएझैं लाग्यो । यो कथा बरु माओवादीमै सिमित रहने हो कि भोली एमालेलाई पनि लागू हुने हो ?बेल्जियम भन्नासाथ सबै नेपालीका कान ठाडा हुन्छन् । दलहरुका नेता झस्किन्छन् । बेल्जियम पुग्ने भनेपछि नेताहरु खुला मञ्चको भाषणमा पुग्न भन्दा बढि तम्सिन्छन्, तयारी गर्छन् । बेल्जियम सधैं चर्चामा हुन्छ । गत २६ तारिखको एनआरएन बेल्जियमको निर्वाचनको अन्तर्घात, छक्का पञ्जा, छिर्की हानाहान, विश्वासघात र पर्लयको कथा सुन्ने हो भने त झन संविधान सभाको निर्वाचन, पार्टीका महाधिवेशन र गाउँको निर्वाचनलाई पनि छायाँमा पारिदिन्छ । बेल्जियम एनआरएनको निर्वाचनमा भएको प्रलयको कथा सुन्ने हो भने सायद नेपालका हाम्रा नेता र पार्टीले अरु दल र नेतालाई कसरि अन्तर्घात गर्न सकिन्छ भनेर बडो गज्जबको अक्किल सिक्ने छन् ।

बेल्जियममा जति राजनितिक पार्टीका भात्री संगठन छन् सायद नेपाल बाहिर कतै छैनन् । कुनै जनजातिको नाम नसुनेको भए बेल्जियममा त्यसको संगठननै फेला पर्छ । राजनितिक पार्टीका भात्री संगठन त नहुने कुरै भएन । राजनितिक पार्टीका पोस्टरहरु पूतली सडकमा झैं फेला पर्छन् । त्यसैले त्यहाँ राजनितिक रुपमा चर्को तानातान हुन्छ । खिचातानी चल्छ । आआफ्ना दलका नेताहरुलाई बोलाएर राजनितिक भेटघाट, भेला, अधिवेशन, बहस गर्नु सामान्य हो । नेपालमा बरु नेताले आफ्नो पार्टीको सदस्य बन्न दस्तुर माग्छन् । तर बेल्जियममा एनआरएनको निर्वाचनमा पार्टी र निकटकाले तिरेर सदस्य तानातान गर्छन् । सुनिन्छ, नेपाली कांग्रेसको गत महाधिवेशनमा बिदेशको प्रतिनिधी भएर नेपाल जान बेल्जियममा नेपाली कांग्रेसका केहि प्रतिनिधीले आफैंले दस्तुर तिरितिरि सदस्य संखय बढाएका थिए । भोज भतेर चल्छ । खान्की र पेय त सामान्य नै हुने भो । एनआरएनको निर्वाचनमा ‘भोट मलाई’ लेखेर टिसर्ट बन्छन्, नारा लेखिन्छन्, पोस्टर तयार हुन्छन् । त्यसैले एनआरएनको निर्वाचनमा कुन पार्टी ले जित्ने ठूलो राजनितिक खिचातानी बन्छ ।

राजधानीमा कुन दलको नेताले सभासदमा जित्यो भनेर प्रतिस्ठा र प्रभाव छरे झैं हो बेल्जियम यूरोपमा भन्दा झण्डै फरक पर्दैन । त्यसैले यो पटकको निर्वाचनमापनि त्यहि प्रतिस्ठाको विषय बन्यो नै । भनिन्छ, बेल्जियममा राजनितिक रुपमा सबैभन्दा बलियो संगठन जनप्रगतिशिल मञ्च छ । यो माओवादीहरुको हो । त्यसपछि नेपाली कांग्रेस र एमालेको । तर अन्तर्घातका कारणले गर्दा कांग्रेस र माओवादीलाई जिल्ल्याएर, प्रयोग गरेर, यतापनि ठिक्क उतापनि लसक्कै बनेर हरेक वर्ष एमालेले धेरै सिट उछिट्याउने गरेको रहेछ । यो वर्षपनि त्यसैमा बाजि मारेछ एमालेले ।

वामपथीहरुको बहुमत भएपनि बेल्जियममा ति माओवादी र एमालेमा बिभाजित छन् । कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै उठ्दा माओवादीले जित्ने संभावना रहने रहेछ । तर अघिल्लो पटकको निर्वाचनमा एमालेले कांग्रेसको संस्थापन पक्ष र फरक धारबिच फूट ल्याइदिएछ । यो आरोप हो यद्दपी कांग्रेसले लगाउँदै आएको । जे होस कांग्रेस फूटेर एक पक्षले एमालेलाइ भोट हाल्यो । पछारिए माओवादी र कांग्रेस । एमालेले बाजि मार्‍यो । यो पटक एमालेले यस्सो दाउ हेर्यो । नेपाली कांग्रेसको झगडा फूटकै स्थितिमा नपुगेको । अनि एमालेको भात्री संगठन नेपालिज डेमोक्रेटिक फोरम (एनडिएफ) ले माओवादीको जनप्रगतिसिल मञ्चसित ‘लौ मिलेर लडम, वाम एकता गरम, कांग्रेसलाइ पछारम’ भन्दै च्याँखे थाप्यो ।

पटक पटक ड्याङ खाएको माओवादी । यस्सो मिलिजुली गर्दा के भो त ? उता नेपालमा पनि माओवादीकै भर्‍याङले एमालेले सरकारको नेत्रित्व पड्काएको । बिदेशमापनि के छोड्ने ? सहमती गरे । पद बाँडफाँड लगाए । र ठोके भाषण- हामी वाम एक ठाम । वाम एकता गरेर देखाउँछौं । सहमती गरेरै जान्छौं । बेल्जियममा कम्तिमा एनआरएनको कार्यक्रमहरु व्यावहारिक वनाउने र न्युनतम साझा सवालहरुमा एकमत हुने, कम्तिमा राष्ट्रियताको सवालमा एक भएर जाने, न्युनतम साझा सवालहरुमा मिलेर जाने । समावेशी भन्दै उमेरदवार चयन गरे । एमालेले भनेछ, ‘विजयीहरुबिच २५ मत भन्दा फरक पर्‍यो भने अन्तर्घात गरेको भनेर बुझिन्छ है कामरेड हो ।’ विश्वासमा माओवादीले कडा निर्देशन दियो आफ्ना सदस्यहरुलाई ‘समावेशी उमेदवारलाई अनिवार्य मत हाल्नु’ भन्दै ।

तर एमालेले माओवादीलाई अन्तर्घात होला है भनेर झस्काउँदा झस्काउँदै उसैले अन्तर्घात गरेको रहेछ । गोप्य अन्तर्घात । सुटुक्क बन्द कोठाहरुमा अन्तर्घात । उसले नेपाली कांग्रेससित गोप्य सहमती गरेको रहेछ । नेपाली कांग्रेसकि भनिएकि जानकि गुरुङलाई गोप्य रुपमा भटाभट मत हाल्ने र माओवादी उमेदवारलाई लोप्पा चटाउने । यता माओवादीसित देखावटी सहमती छँदै छ । उता कांग्रेसको मतपनि सोरिने भो ।

निर्वाचन भयो । माओवादीले सहमती अनुसार भोट हाले भकाभक एमालेका उमेदवारलाई । मत कि कांग्रेसको पक्षमा बढ्यो कि एमालेका । माओवादीका तारा बले । चन्द्रमामा धब्बा लाग्यो । दिमाख रन्कियो । प्रलयको कथा देखियो । बेल्जियमका नेपालीहरु मतदान हुने अघिल्लो दिन अर्थात् २५ तारिख नेपाली कांग्रेससित गोप्य सहमती भएको बताउँछन् । यसरि यो पटक एमालेले फेरी माओवादीलाई चटनी खुवाएर अधिकांश सिट हात पर्‍यो । उता नेपाली कांग्रेसको मत लिएर उसलाई थोरै सिटमा डल्ल्यायो र धेरै आफूले कुम्ल्यायो ।

अहिले बेल्जियममा नेपाली कांग्रेसका त खुशि हुने नै भए । अध्यक्ष र सचिव लगायतका सिट हात पारे । उता अधिकांश सिट एमालेले उछिट्याएर ‘माओवादीलाई बल्ल धुलो चटाइयो’ भन्दै ताउ लगाएको छ । उत कांग्रेसलाई थोरैमै डल्ल्याइयो भन्दै चम्चमाएको छ । अन्तिम अवस्थासम्मपनि एमालेको अन्तर्घातको राम कहानीको सुइँकोसम्म पत्ता लगाउन नसकेकोमा माओवादीका नेत्रित्व तहमा भएका भनिएकाको ओंठ तालु सुकेको बताइन्छ । यसले बेल्जियमका नेपालीबिच निकै तनाब, तहल्का र बैमनस्यता बनाइरहेको छ । एक अर्का पक्ष खुच्चिङ गर्ने, रमाउने, पख्लास भन्नेमा दौडिएका छन् । र यो बैमनस्यता, तुष, इख, अन्तर्घात र चोटको पीडा आगामी दिनमा अझ बढेर जाने औंल्याउँछन् त्यहाँका मित्रहरु । र भन्छन्, यसले एनआरएनकै भूमिका, प्रबहव र सक्रियतालाईपनि उति भलो गर्दैन ।

बेल्जियममा केहि ब्यक्तिहरु सरकारले युनिटिलाई गैह्र कानुनी घोषणा गरेको ठगी प्रकरणमा संलग्न पनि थिए। ति माओवादीसहितको ‘हाम्रो समावेशी उमेदवार’ सूचीमा थिए । समावेशी उमेदवार घोषणा गर्नु अघि तिनलाई ठग भन्थे माओवादीलेपनि । तर आफैंले हाम्रा उमेदवार भन्दै चोख्याए । अहिले सर्वसाधरणहरुले माओवादीलाई त्यहि भनिरहेका छन् । अर्को पक्षलाई भने खुदो भएको छ, माओवादीकै पहलबाट बेल्जियममा चोखिनपनि पाइयो । उता माओवादीलाई थाङ्नामा सुताउन त पाइयो नै, पदपनि हात लाग्यो ।

यसबाट के देखिन्छ भने नेपालीहरुले यूरोप बसेर पनि प्रजातान्त्रिक पद्दती, प्रजातान्त्रिक संस्कार, इमान्दारिता, बचनको पक्का हुन सिकेका छैनन् । सामाजिक हितका रुपमा खडा भएपनि संस्थाहरु राजनितिक खिचातानीको जाँतो घुमाइरहेका छन् । नेपालमा अनेक गूट र पार्टीमा बिभक्त नेपाली जहाँ पुगेपनि त्यसलाई धानीरहेका छन् । प्रजातान्त्रिक मूलुकमा बसेपनि तिनले उहि नेपालका दल, पार्टी र नेताका गुलिया आश्वासन र नाराहरुलाई सहर्ष सिरोपर गर्न कस्सिएका छन् । अर्कोतिर जनताको मत भएर, संख्यात्मक रुपमा बढि भएर मात्रै चल्दैन । निर्वाचन जित्न तिकडम, अन्तर्घात, अक्किल, चलाखि, धोका, आश्वासन र अनेक हतकण्डा जान्नुपर्छ भन्नेपनि यो निर्वाचनले देखाउँछ  ।

तपाइँको प्रतिक्रिया