बुढा कामरेडलाई चेलाको टेन्सन
साँच्चै भन्ने हो भने आफूले सत्तो सराप गर्दै आएका प्रतिक्रियावादीसित भन्दापनि आफ्नै चेला सित बढि झस्किएका छन् अहिले उनी । ‘विश्व भरिका प्रतिक्रियावादीसित, साम्राज्यवादीसित, दलालहरुसित लड्न सकिन्छ जनताको ताकतले’ भन्दै आएका उनलाई आफ्नै चेलाले दिएको टेन्सन भारी भैरहेछ । सबैभन्दा बढि सशंकित छन् आफ्नै चेला एकिक्रित माओवादीका अध्यक्ष प्रचण्डसित यी बुढा कामरेड मोहन बैध्य । चिढिएकापनि उनैसित छन् । कहाँनिर के स्वार्थमा पार्टीनिति बिरुद्द गएर सहि धस्काउने हो, सहमती गर्ने हो, कहाँ केमा मञ्जुर गरेर पार्टीलाई डुबाउने हो भन्ने पिरलो छ ।
नहोस पनि किन ? मार्क्सवादी दर्शनको कखरा प्रचण्डलाइ आफैंले सिकाए । पार्टी आधार दिए । टेको हाले । चपरी ओछ्याइदिए । छानो बनाइदिए । अक्किल सिकाए । कम्युनिस्ट सिद्दान्तका आधारहरु छिचोल्नपनि अक्किल दिए । कम्युनिस्टहरुको गुरुमन्त्र मार्क्सवादी दर्शन घोटाए, पिलाए । आफु पछाडि हटेर उसलाई अगाडि सारे । पार्टीको महत्वपूर्ण पदमा आफैंले प्रस्ताब गरे। उनले पार्टीमा हाकै भने’ अब पार्टी हाँक्ने भनेको प्रचण्डलेनै हो’। प्रचण्ड पथको पगरी गुथाउनसम्म अगाडिनै बढे । बुढाले कहिल्यै साथ छोडेनन् । चेलोलेपनि ‘दाइ दाइ’ भन्दै पछ्याइरह्यो । पार्टीमा स्थापित गराए बुढाले । पार्टीमा जसपनि दिए, बैद्द पदका लोभी छैनन्, प्रचण्डलाई नेत्रित्व गर्न सक्ने बनाए ।
जब २०५२ सालमा जनयुद्द गर्न निर्णय गरे । त्यो बेला गोरखाको गाइखुरमा सँगै बसेर विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने अठोट गरे । नेपालमा क्रान्ति गरेर जनवाद स्थापित नगरेसम्म अन्तिम युद्द लड्ने बाचा गरे । प्रतिक्रियावादीहरुले सफाया गर्न सक्छन् भन्दै रुँदै रुँदै रातो टिका लगाए त्यो महान कामकालागि सहादत गर्नु परेपनि गरौंला भन्दै । जानयुद्दका दश वर्षे कालमा उनीहरुबिच खासै टकराव भएन । गुरु दंग भैरहे । चेलोले खुशि पारि राख्यो । मैले बनाएको चेलोले विश्व कम्युनिस्ट ईतिहासमै एउटा सुनौलो भविश्य रच्ने भो, भाग्य कोर्ने भो भनेर सायद बुढा दंग परिरहे ।
त्यहि विश्वासले पार्टीमा तल्ला तह सम्म पुर्याए । स्थापित गराए । जनयुद्दले नसोचेको गति लियो । आफैंले स्थापित गराएको चेलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यतिबिघ्न चर्चा भयो । त्यो चर्चा, त्यो प्रसिद्दी र चेलोप्रतिको जिज्ञासा, आसा र भरोसासँगै बुढाले ताउ लगाए । १०, ११ वर्षे युद्द बिसाएर शान्ति संझौता गर्दा बुढाको मनमा झस्को त परेको हो नै, कतै फास न फुस बनाएर जनयुद्दले कोरेका पलब्धि नास्ने हो कि ? जनताका अगाडि गरेका बाचा पुरा नहुँदै बोदो बनाएर, यहि शान्ति संझौतामा डुबाएर पिँधमा पुर्याउने हो कि ? बुढा नझस्किएका होइनन् ।
सयौं वर्ष देखि जरो गाडेको राजतन्त्र मिल्काउने हिम्मत । टाउकाको मोल तोक्नेहरुलाई झुकाएर नयाँ राजनितिक सहमती । ‘दाइ, अहिलेनै राज्यसत्ता कब्जा गर्न सकिन्न, ब्रिहद जनबिद्रोह गर्नुपर्छ । आम त्यसकालागि जनतालाई जनबिद्रोहमा उतार्नुपर्छ । तत्कालकालागि शान्ति संझौता गर्ने, संसदबाट संभव छैन जनताको मुक्ति भनेर देखाउनुपर्छ । शक्ति संचय गरेर गाउँले शहर घेरेर जनबिद्रोह मार्फत राज्यसत्ता कब्जा गर्नुपर्छ ।’ चेलाले सुनायो, बुढाले पत्याए । ‘देश र जनताको लागि कहिँ धोका हुन्छ ? ‘ पटक पटक सुनिरहे उनले ।
संसदिय चुनावमा भाग लिने । सरकारकालागि मरिमेट्ने । प्रधानमन्त्री अरु मन्त्री कसका ? सरकारका कुन पदमा कसलाई पुर्याउने ? पार्टी संसदिय बहसमा डुबाएर एमालेकरण हुने भो । अब संसदिय बहसमा जाक्किने भो । बोदो पार्टी, भुत्ते कार्यकर्ता, लोसे जनसेना, जाँगर बिसाएका समर्थक । लौ भ्याउने भो चेलोले जनयुद्दका सारा उपलब्धि भनेर बुढा त्राहीमाम बने । त्यहि हुटहुटीका बिच पालुङटार भेला भयो । कार्यकर्ताले जनबिद्रोह गर्नुपर्छ भनेर चर्किए । चेलो प्रचण्डले त्यसैमा जोस्सिएर समर्थन जनायो । चेलोसित मिलेर जनबिद्रोहको दस्तावेज बनाएका उनले राहतको महसुस गरे । चेलोलाई साँच्चिकै क्रान्तिकालागि आशायोग्य ठाने ।
तर उनले कस्तो चेलो बनाएका रहेछन् । संविधान सभाको म्याद थप्ने बेला त शान्ति र संविधान भन्दै पालुङटार भेलाको निर्देशनलाई लत्याइदिएपछि भने बुढाको मन भाँच्चिएको छ । विश्वास टुटेको छ । उनले हाकै भन्ने गरेका छन् आफ्ना निकटका सित ‘यो प्रचण्डेले धोका दियो । देशलाई धोका दियो । जनतालाई धोका दियो । समग्र विश्व कम्युनिस्ट आन्दोलनलाई नै धोका दियो । यो त धोकेबाज रहेछ । यसले अब पार्टी खत्तम पार्छ । संसदिय भासमा डुबाउँछ । एमालेकरण गराउँछ ।’
चेलोबाट अब क्रान्ति संभव छैन । जनताको मुक्ति हुन्न भन्ने उनले बुझेछन् क्यार । उनले सुनाउने गरेका छन्, प्रचण्डले खुट्टा कमायो। अब प्रतिक्रियावादी सँग सत्ताका लागि लम्पसार पर्ने भयो प्रचण्ड । उसबाट अब जनताको मुक्ति संभव छैन । अब पहलकदमी हामीले लिनुपर्छ । अब परि आए अर्को क्रान्तिका लागि तयार बन्नुपर्छ ।’ आफु निकटका कार्यकर्तासित उनले निकै गुनासो गर्ने गरेका छन्, यो प्रचण्डेलाई स्थापित गराएँ । बोकेर हिँडेँ । यहाँसम्म ल्याइयो । क्रान्तिको नेत्रित्व गर्छ भनेको त त झन अन्तिममा आएर धोका दियो ।’
त्यसैले पार्टीमा स्थान सुरक्षित गर्न, कार्यकर्तालाई क्रान्तिका पक्षमा प्रशिक्षण गर्न उनी यो ६ दशक भन्दा लामो जिवनमा फेरी सक्रिय बन्न लागेका छन् । पहिले भन्दा सक्रिय । उनलाई कार्यकर्ता लाखा पाखा लाग्लान् भन्ने चिन्ता छ । जनताको मुक्ति नभएसम्म हार खाइन्न, झुकिन्न, लत्रिँदैनौं भनेर कसम खाएकालाई संगठित र एकजूट गराउनु छ । प्रचण्डको नेत्रित्वबाट अब जनताको मुक्ति संभव छैन भनेर फैलाउनु छ । चित्त बुझाउनु छ । आफ्नै चेला बिरुद्द देश भरीका कार्यकर्तालाई संझाउनु, बुझाउनु र जोगाउनु छ । प्रतिक्रियावादी बिरुद्द एकजूट भएर देश र जनताकालागि, जनताका साझा समस्या हल गर्नको लागि, संविधान बनाउनको लागि, आफूले गरेका कसमहरु, बाचा, आश्वासनहरु पूरा गराउनको लागि लड्नुभन्दा चेलाले दिएका हैरानीहरुलाइ चिर्दै बुढा कामरेड हैरान भएका छन् ।




