कसले दिँदै छ ज्ञानेन्द्रलाइ जंगिने ठाउँ ?

के निहुँ पाउँ कनिका बुकाउँ भने झैं ज्ञानेन्द्रलाई एउटा निहुँ चाहिएको थियो तितो पोख्ने । घुमीफिरी आयो जन्मदिन । निर्मल निवासमा आफ्नै जन्मदिन मनाउने मेसो पारेर उनले त्यो निहुँ पाइहाले । आउरे बारे, पछुवा, पिछलग्गु, दास र कमारो बन्न मन लाग्नेहरुको दुख भएन । ‘सरकार यो देशमा अति भो, अब त नबोली भएन’ भनेर उचाल्नेहरुले दरबार धाए पक्कै । आखिर ज्ञानेन्द्रपनि त यहि देशका नागरिक । उनी यसैपनि ‘हाम्रा पूर्खाले सिर्जेको’ भन्दै कुर्लिन्थे । उनलाईपनि यो देशको माया केहि त पक्कै होला । उनलाई जे जे आरोप लगाएर दलहरुले गद्दी खोसेका थिए । असक्षम भनेर जे आरोप थियो त्यो त सुल्झिएन, झन बल्झियो । अनि किन नबम्किउन् ज्ञानेन्द्र ?

यसैपनि मेडियाप्रेमी न हुन् ज्ञानेन्द्र । आफै राष्ट्र प्रमुख हुँदा त पत्रकार सम्मेलन र पत्रकार भेट खुब गर्थे । राष्ट्रका नाममा संवोधन खुब आउँथ्यो । गद्दीबाट पाखा लागेपछि त्यो रहने कुरो भएन । यस्तै विशेष परिस्थितिमा मौका पर्छ उनलाई पत्रकारसित आफ्ना मनका अन्तरकुन्तर भावना पोख्ने । उनले भित्रको आक्रोश पोखे हिजोपनि । आफूले त्याग, तपस्या र ठूलो सदाशयताले दरबार छोडेको, नेपाली जनताले आफ्नो भाग्य आफैं कोरुन भनेर पवित्र नियतका साथ नारायणीहिटी बाट बाहिर निस्केपनि स्वाभिमानी नेपालीको चाहना पूरा हुने कुनै छनक सम्म नदेखिएको भनेर दलहरुलाई आरोप लगाएका छन् । उनले टिक्न सकेको भए दरबार छोड्थेनन् । सदाशयले दरबार छोडेको भन्ने त उनको  बकबासै हो । त्यस्तरी छोड्ने भए किन जनता मारेर, अपांग पारेर, देश ठप्प भएपछि बल्ल दरबारबाट घुँडा टेक्थे ? उनले भनेको दलहरु असक्षम भन्ने पक्ष चाहिँ साँचो हो ।

ज्ञानेन्द्र गद्दीबाट निस्किएको पाँच वर्ष भयो । यो पाँच वर्षमा संविधान बनाएर निर्वाचन गर्ने र प्रजातान्त्रिक सरकार बन्ने सपना बाँडेका थिए दलहरुले । पाँच वर्षको समय चानचुने कुरो होइन । पटक पटक म्याद थप्दापनि अन्तत : संविधान नबन्ने अवस्था छ । भ्रष्टाचार कति सम्म छ भने अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनै एक्कासि भत्किएर बेइज्जति कमाएको छ । जनताका घर गाउँ हेर्ने त कुरै नगरौं सिंहदरबारकै अगाडिको सडक भत्किँदा सम्म सामान्य मानेर हेर्ने भए सभासद । बिजुली चोर्ने, रातो पासपोर्ट बेच्ने, कालो धन्दा मच्चाउने, अपराधीहरु मन्त्री बन्ने, मन्त्री स्भासदनै आतंक मच्चाउँदै हिँड्ने । नक्कली बील बनाएर लुट्ने । पदमा पुगेपछि महँदा गाडी चढ्ने । बिदेश यात्रा र बैठक गर्दै भत्ता पचाउने । बिदेशी मञ्चहरुमा पुगेर नेपालकै बेइज्जति गर्ने ।

यसबिचमा हाम्रा दलाहरुले जनतालाई निराश बनाए । सास्ती, असुरक्षा, बेथिति, बेरोजगारी सिवाय केहि दिएनन् । नेताहरुलेनै अपराधी पालेर झन असुरक्षित बनाए । सुरक्षा निकायलाई आफ्नै नाक अगाडिको अपराधी पक्रन नसक्ने बेकाम्मा बनाए । समग्रमा नागरिकलाई झन निराश पारे । गणतन्त्र नेपाल, समुन्नत समाज, आर्थिक व्रिद्दी । शिक्षा, स्वास्थ्य र रोजगार । किसानलाई उचित मूल्य । देश पुरै झिलिमिली पार्ने आश्वास बाँडे । तर तिनले संविधान सम्म बनाउन सकेनन् । नगरेको कमको तलब चाहिँ लिइरहे, देशा झन कंगाल पारिरहे ।

देशका सबै बेथिति, बेरोजगारी र अधोगतिको कारक राजतन्त्रलाई लगाएका थिए दलहरुले । सबैभन्दा बढि माओवादीले लगाएको थियो । राजतन्त्रको अन्त्यपछि अब देश आर्थिक र सामाजिक रुपमा अगाढि बढ्छ भनेर माओवादी नेताहरुलेनै धेरै पटक चिच्याएका हुन् । अरु दलले त्यसैमा थपडी मारेकै थिए । तर देखियो, त्यो सबैको कारक ज्ञानेन्द्र रहेनछन्, राजतन्त्र होइन रहेछ ।  कम्तिमा संविधान बनाउन त ज्ञानेन्द्रले कुनै भाँजो हालेका छैनन् । दलका यीनै पराक्रमहरुले ज्ञानेन्द्र जस्तालाई बलियो बनाउँदै, दहरुबिरुद्द उत्रन साहस दिँदै छन् ।

दलहरु असफल, अदूरदर्शी, कमजोर, नालायक र असक्षम देखिए । जुन आरोपको भारी बोकाएर गद्दी बाट खसालिएको थियो त्यो भन्दा अझ नाजुक अवस्था देखिएपछि ज्ञानेन्द्रलाई किन जङ नचलोस ? आफू भन्दा झन असक्षमले आफ्ना पूर्खाले जोडिदिएको राज्यमा हालीमुहाली मच्चाएको भान परिरहेको छ उनलाई । उनको असन्तुस्टि त्यहि हो । जुन अहिलेका लागि नाजायज होइन ।

आफ्नो मनपरी, राज्य र असक्षमतामा औंलो ठड्याउँदा हाम्रा पार्टी र नेतालाई भाग लुटिने डरले रिस उठ्न सक्छ । तर उनको तर्फबाट ब्यक्त धारणा सामान्य हुन् । कम्तिमा ज्ञानेन्द्रको असतुस्टिले एउटा सकारात्मक काम भन्ने पक्कै गर्छ, त्यो हो दलहरुलाई झस्काउने काम । नेपाली सेना जे सुकै भनेपनि अहिलेसम्म पूर्ण प्रजातान्त्रिक भैसकेको छैन । दरबारिया संयन्त्र कमजोर छैन र उसका शेषहरु राज्यका बिभिन्न क्षत्रमा गडेर बसेका छन् । दलहरुले जनतालाई चिढ्याएका छन् । यस्तो बेला पूर्व राजा ज्ञानेन्द्रको दलहरुप्रतिको आक्रोश र तितो पोखाइले दलहरुलाई कम्तिमा सचेत चाहिँ बनाउला है !

तपाइँको प्रतिक्रिया