फ्रान्सेली नेता भन्दा त हाम्रै पो असल हुन् क्यारे !

हामी नेपाली हाम्रा नेता देखि वाक्क भए झैं लाग्छ । विश्वभरिका नेतामा भएका अवगुणहरु जम्मा पार्ने हो भने ति सबै हाम्रै नेतामा मात्रै छन् झैं लाग्छ हाम्रो गुनासो, हाम्रा आरोप र भनाईले । अरु देशका नेता कति असल । देश र जनताप्रति कति चिन्तिन, कति धेरै विकासप्रेमी । साह्रै राष्ट्रवादी नेताका रुपमा देख्छौं हामी । विकसित मुलुकका चिल्ला गाडी । सफा सडक । आधुनिक संरचना । रोजगारै रोजगार । सुलभ शिक्षा । निशुल्क स्वास्थ्य । भौतिक सुविधाले भरिएको दैनिकी । तर ति सबै संरचना अहिलेका नेताको मेहनतले होइन भन्ने हेक्का भने छैन । ति अहिलेका नेताले बनाएका होइनन् । सयौं वर्ष अघिदेखिको संरचना र आज भन्दा दशकौं अघिका नेताको दूरदर्शिता, मेहनत र नेत्रित्वबाट उपलब्ध हो ।

बरु साँच्चै भन्ने हो भने हाम्रा नेता भन्दा त विकसित देशका हामीले असल ठानेका नेता पो झन खराब झैं लाग्छ । कम्तिमा हाम्रा नेताले जनतालाइ असुरक्षित त पारेका छैनन् गतिलो सुरक्षा दिन नसकेपनि । फ्रान्समा त राष्ट्रपतीलेनै जनतालाई असुरक्षित बनाए, सास्ति दिए भनेर अहिले ब्यापक गुनासा र बिरोध भैरहेका छन् ।

५३ दशमलव एक प्रतिशत मतले राष्ट्रपती पदमा जितेका थिए निकोला सार्कोजीले । आर्थिक विकास र नौला संरचनाका खुब मिठा आश्वासन बाँडेका थिए उनले । फ्रान्समा केहि दशकदेखि चलिरहेको घाटा बजेट सुधार्ने लगायतका सपना बाँडे । फ्रान्समा बढ्दो असुरक्षा र अपराध कम गर्ने बाचा थियो । तर उनको त्यो आश्वासन र बाचा हावामा मिसियो । एक वर्षपनि नपुग्दै उनको लोकप्रियता ओरालो लाग्न थाल्यो । अमेरिकी खुल्ला नीतिको जब उनले जर्ज बुशसित मिलेर प्रशंसा गर्न थाले तब फ्रान्सेलीहरु असुरक्षित महसुस गर्न लागे । ईराक युद्दमा अमेरिकी सेनासितै मिलेर जब फ्रान्सेली सेना तैनाथ गर्ने निर्णय उनले लिए तब फ्रान्सेलीहरु चुर भए । अब हामीपनि अमेरिकी झैं विश्वभरि असुरक्षित हुने भयौं भन्ने त्रास फैलियो । उनको निकै आलोचना भयो । जनताको चाहना पटक्कै ईराक युद्दमा सहभागि नहुने थियो । तर सार्कोजीले जनचाहनालाई टेरेनन् । जबर्जस्ति लगेर फ्रान्सेली सेना होमे । जब फ्रान्सेली सेनाको हताहती हुन लाग्यो तब उनका बिरुद्द जनता क्रुद्द भए । अमेरिकी स्वार्थ सिद्द गराउन फ्रान्सेलीलाई असुरक्षित पारेको भन्ने आरोप लाग्यो ।

जर्ज वुसले केहि महिनामै ईराकको समस्या हल गर्छौं भने झैं भएन । बरु हत्या र हिंसाका घटना झन थपिए । ईराक युद्द झन जटिल बन्यो । ईराक युद्दमा सेना पठाउने देश बिरुद्द जब आक्रमणका धम्किहरु सार्वजनिक भए तब फ्रान्सेलीहरुमा झन त्रास फैलियो । अब कुन दिन कहाँ आक्रमणमा परिने हो भन्ने डरले चिन्तित भए । त्यस यता ईराक युद्दका बिरोधी र मध्यपूर्वका समर्थकहरुले फ्रान्समा थुप्रै बिरोध गरे । जुलुस निकाले । केहि आतंककारी हमलाका धम्कि दिए । ठाउँ ठाउँमा बम फेला परे । आक्रमणको तयारी गरेको पत्तो लाग्यो । यो सबै दोषका भागि राष्ट्रपती निकोला सार्कोजी र उनको सरकारलाई ठाने फ्रान्सेलीले ।

फ्रान्सेलीहरुले आफ्नो देशका अतिनै गर्व गर्ने मध्ये स्वास्थ्य सुविधा, शिक्षा, यातायात, नागरिक सुरक्षा र परिकार हो । शिक्षालाई निजिकरण, यातायातमा पनि निजि क्षेत्रलाई सुम्पन प्रयास । स्वास्थ्य क्षेत्रमा ठूलो कटौती । फ्रान्सेलीले यसै असुरक्षित महसुस गरिसकेकै थिए । बाँकि रहेको सुरक्षा क्षेत्रपनि अफ्रिका, दक्षिण अमेरिका र मध्यपूर्वमा युद्दका लागि हात हालेपछि फ्रान्सेलीले विश्वभर असुरक्षित बनाएको महसुस गरे । विश्वमा जहाँ युद्द भड्किन्छ । जहाँ अशान्ति हुन्छ । त्यहाँ प्राय : अमेरिकी नागरिक हुन्छन् सबै भन्दा पहिले असुरक्षित महसुस गर्ने । त्यसैले अमेरिकी सरकार तुरुन्तै आत्तिएर आफ्ना नागरिकहरुलाई सचेत पारिहाल्छ ।

अहिले फ्रान्सेली नागरिकहरु राष्ट्रप्ती निकोला सार्कोजीले अमेरिकिलाई झैं जहाँ जाँदापनि असुरक्षित बनाउने भए भन्दै चिन्तित छन् । ईराक युद्दपछि त फ्रान्स बाहिर भ्रमण गर्ने फ्रान्सेलीहरुको संख्या उल्लेख्यरुपमा घटेको थियो । अहिले फ्रान्सेलीलाई थप असुरक्षित बनाउने मेसो गरेका छन् राष्ट्रपती सार्कोजीले लिबियाको सरकार बिरुद्द सैन्य आक्रमण गरेर। त्यति मात्रै हो र ? सार्कोजीले लिवियाका शासक मुअम्मर गद्धाफिलाई सत्ताच्युत गर्न भन्दै लिबियाका विद्रोहीलाई आधुनिक हतियार बाँडिरहेका छन् । लिवियाको सरकारी सेना विरुद्ध विद्रोहीलाई बलियो बनाउन हतियार बाँडेर कस्सिएको सार्कोजी सरकार । यो घटानले अब फ्रान्सेलीहरु अफ्रिकी मुलुकमापानि असुरक्षित हुने भइयो भनेर चिन्तित छन् ।

विश्व युद्दमा जर्मन आत्याचार भोगेका फ्रान्सेलीहरुलाई राम्ररी थाह छ, युद्दले समाधान दिँदैन । आक्रमण गरेर प्रिय भइँदैन । अरुलाई सत्यानास पार्न खोज्दा आफ्नो सुरक्षापनि जोखिममा पर्छ । झन बैमनस्यता साँधिन्छ । आक्रमणकारी, आतंककारीलाई बन्दुक र बलका भरमा जबर्जस्ति जतिसुकै तह लगाउन खोजेपनि सकिन्न भन्ने उदाहरण अमेरिकाले सद्दाम हुसेन लगायतका शक्तिशाली सैन्य प्रमुखहरुलाई हत्या गरेर समाधान भएन । ओसामा बीन लादेनको हत्या गरेर पनि अमेरिकाले शान्ति पाएको छैन । बरु अल कायदाले अमेरिकीहरुलाई थप चुनौति दिएको छ कुनैपनि बेला आक्रमण गर्छौं अमेरिकालाई भनेर । अहिले विश्वका धेरै ठाउँमा अमेरिकी नागरिक त के अमेरिकाको चिन्ह भएका वस्तुपनि निशानामा पर्छन् । घ्रिणा गरिन्छन् ।

गद्धाफिलाई सत्ताच्युत गराउन नेटोको गठबन्धन सेनाको नेतृत्व गर्न नै कस्सिए सार्कोजी । उनले  लिवियाका विद्रोही नेता अब्देल फताहलाई भेटेरै सैन्य सहयोग गर्ने बचन दिएका थिए । यो घटनापछि पनि फ्रान्समा आक्रमणका प्रयास भएका हुन् । आक्रमणकारी धम्किहरु बढेका छन् । गद्दाफीलाई सत्ता च्युत गर्न पाए तेलको खानी हत्याउन पाउँछु भन्ने होला । तर फ्रान्सेली नरिकहरु त्यसमा विश्वास गर्ने कम छन् । उनीहरु अमेरिकाले लादेनलाई पालेर पछि लादेन अमेरिकाकै शत्रु भएझैं हुन बेर छैन भन्ने सोच्छन् । दोस्रो विश्वयुद्द सकिएपछि खासगरि चौथो गणतन्त्र पछिका लोकप्रिय राष्ट्रपती चार्ल्स द गोलले सुनिश्चित गरिदिएको नागरिक सुरक्षा र अर्का राष्ट्रपती फँस्वा मितेरँले सुनिश्चित गरिदिएका सामाजिक सेवाहरु समेत ध्वत पारेर हामीलाइ असुरक्षित बनायो भन्ने निचोडमा पुगेका छन् । चार्ल्स गोल पछि यदि फ्रान्सेलीहरुले नगरिक सुरक्षा प्रति चिन्ता गरेका थिए भने सबैभन्दा बढि असुरक्षित महसुस सार्कोजीकै कार्यकालमा गरेका छन् । नागरिकलाई सुरक्षा दिन नसकेपनि कम्तिमा  हाम्रा नेताले आफ्ना नागरिकलाई विश्वभरिनै यति बिघ्न असुरक्षित, त्रसित त पारेका छैनन् होइन र ?

तपाइँको प्रतिक्रिया