खिचातानी कम गरे संविधान बनाउन ध्यान जान्थ्यो कि ?
संविधान कस्तो बनाउने ? कसले चाहे जस्तो बनाउने ? कस्ता एजेन्डा लैजाने ? जनताकालागि चित्त बुझ्ने एजेन्डा कसले प्रस्तुत गर्ने भन्ने विषयमा दलहरुबिच बहस, छलफल र स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने हो । तर त्यतातिर नभएर प्रतिस्पर्धा र तानातान संसदको सबै भन्दा ठूलो दल एकिक्रित माओवादीमा छ । माओवादी दलका नेता पार्टीमा आफू बलियो हुनै समय र शक्ति खर्चिएका छन् ।
सरकार सञ्चालन पार्टीको एक पक्ष, सबै भन्दा ठूलो, परिवर्तनकारी एजेन्डा बोकिएको भनिएको दल भित्र अध्यक्ष प्रचण्ड, उपध्यक्षद्वय बाबुराम भट्टराई र मोहन बैध्य ‘किरण’ बिचको तनातानले गर्दा उनीहरुको ध्यान संविधान बनाउन तिर केन्द्रित देखिन्न ।
साँच्चिकै संविधान बनाउनकालागि कांग्रेस, एमाले र माओवादी त मिल्न पर्छ नै । मधेशवादी दललाई पनि सहमत नगराई सजिलो छैन । तर माओवादीकैपनि त्यसमा ध्यन जान सकेको छैन । त्यसको बलियो उदाहरण के हो भने मधेशी दलहरुसित उनीहरुले अहिलेसम्म गम्भिर छलफल गरेका छैनन् । त्यो हुन नसक्नुको कारणपनि माओवादीभित्रै देखिएको अन्तर्द्वन्दले काम गरिरहेको छ । पार्टी अध्यक्ष प्रचण्ड उपाध्यक्ष भट्टराइ र बैध्य दुबैदेखि सशंकित छन् । प्रचण्डले देशी बिदेशी तत्वको उक्साहट र सत्ता स्वार्थका कारण जनयुद्दले स्रिजना गरेका उपलब्धी गुमाएर प्रतिक्रियावादीका अगाडि लम्पसार पर्न लागेको भन्दै बैध्यले हर्डलाइनरको नेत्रित्व गरेका छन् । उता भट्टराइ जसरिपनि शान्ति र संविधान भन्दै अर्को पक्षको नेत्रित्व गरिरहेछन् । प्रचण्डका निर्णयहरुलाई संसद र पार्टीबाटसमेत बैध्य र भट्टराइले पेल्न लागेपछि प्रचण्डलाई संस्थापन पक्षकै गूट बलियो पार्दैमा समय खर्चिएको छ ।
बैध्य र भट्टराईले प्रचण्डका निर्णय बिरुद्द चुनौती दिनलागेपछि प्रचण्डलाई पनि सहन सक्ने कुरो भएन । बाहिर सहमती भनेपनि प्रचण्ड भित्रभित्रै आफ्नो शक्ति बलियो बनाउनमा कसिएका छन् । त्यसैकालागि उनले संस्थापन पक्षको भेला, भेटघाट र प्रशिक्षण लगायतका गतिबिधी गरिरहेका छन् । पार्टी अध्यक्षले नै गूटबन्दि गर्न लागेपछि बैध्य र भट्टराइलेपनि हेरेर बस्ने कुरो भएन ।
तत्कालका लागि प्रचण्डको शान्ति र संविधानका पक्षमा भट्टराई देखिएपनि प्रचण्डप्रति भट्टराइ विश्वस्त देखिँदैनन् । बिगतमा मौका पर्दा बैध्यतिर मिलेर पेल्ने, भट्टराइलेनै तयार पारेका एजेन्डा र प्रस्ताव लगेर आफ्नो बनाउने जस्ता काम गरेकाले कुनैपनि बेला धोका खाइन्छ भन्ने सोचमा भट्टराइ पक्ष देखिन्छ ।
प्रचण्डले पेश गरेको शान्ति र संविधानका पक्षमा पार्टीको गतिलो साथ पाउन कि त भट्टराइ वा बैध्यको बलियो साथ र समर्थन चाहिन्छ । भट्टराइ पक्षले आँखै चिम्लेर समर्थन गरेपनि बैध्यलाई साम्य पार्न नसक्दा सहज देखिन्न । किनभने पार्टीमा बैध्य पक्ष भट्टराइ भन्दा बलियो छ । धेरै पेलेर जाँदा पार्टी फुट्ने भय रहन्छ र यदि पार्टी फुटे प्रचण्डकै थाप्लोले बोक्नुपर्छ त्यसको परिणाम। भट्टराइलेपनि पालुङटार भेलामा बैध्यसित मिलेर आफूलाई पेलेको बिर्सिएका छैनन् । अहिले प्रचण्डलाई साथ दिइहालेपनि पछि स्वार्थ पूरा हुनासाथ, आफ्ना एजेन्डामा बलियो हुनासाथ धोका पाइन्छ भन्ने पक्षमा छन्। उता पालुङटार भेलामा आफ्नो समर्थनमा जनबिद्रोहको लाइन पास गरेपनि अन्तिममा आएर शान्ति र संविधानको प्रस्ताव अगाडि सारेपछि बैध्य पक्षले पनि प्रचण्डलाई विश्वास गर्न छोडेको छ । यसरि प्रमुख पार्टीका तिन पक्ष, तिन प्रमुख नेता आन्तरिक विवाद, अन्तर्द्वन्द र पार्टीमा बलियो हुन तानातानी गर्दा पाँच बुँदे सहमती र संविधान निर्माणको काममै ध्यान दिन सकेका छैनन् ।




