कसलाई चाहिएको छ र संविधान बनाउने ?

कमल रेग्मी / बेलायत

तेस्रो पटक थपिएको संविधान सभाको म्याद पनि एक महिना त्यत्तिकै गयो । बाँकि दुई महिना छ । यो संविधान बन्दैन भनेर सबैलाई थाह छ । जनताको आवाज कमजोर देखिएपनि संविधान जनतालाई चाहिएको हो । संविधान त नेतालाई पनि चाहिएको छ । तर जनताले चाहे अनुसारको, जनताको आकांक्षा अनुसारको होइन । नयाँ भाषा प्रयोग गरिएको बासी संविधान । आफ्ना कुर्सी जोगिने संविधान । आआफ्ना वर्गका स्वार्थ रक्षा गर्ने संविधान । तिनै स्वार्थले गर्दा संविधान बन्ने अवस्था छैन । तर पनि नेताहरु संविधान संविधान भनेर कुर्लिरहेका छन् किन ?

संविधान सभाको प्रमुख दल माओवादी । यसैपनि उसको पार्टीमा जनसेना समायोजन, कांग्रेसले भने जस्तो जनयुद्दकालमा कब्जा गरिएका घर जग्गा फिर्ता लगायतका विषयमा मारमुंग्री छ । जनयुद्दका बेला गास, वास र कपासको निर्क्यौल गर्छौं । शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिक अधिकारका रुपमा स्थापित गर्छौं । जमिन्दारका जमिन गरिब किसानलाई बाँड्छौं । सुकुम्बासीलाई घर जग्गा दिन्छौं । भारतसितका सबै असमान सन्धी रद्द गर्छौं । विकासको मूल त हुलुलु पार्छौं भनेका थिए। जातपात, छुवाछुत, सानो ठूलो केहि हुन्न । सब समान पार्छौं । भए र देखिएका समस्या जति सबै समाधान गर्छौं भने। त्यस्ता समस्या समाधान गतिलो संविधान कागजमा लेखेर हुने होइन । इच्क्षा शक्ति, केहि गर्छु भन्ने भावना, तत्परता र हिम्मत चाहिन्छ । देशलाई कसरि सम्पन्न बनाउने भन्ने गतिलो नेत्रित्व, दूरदर्शिता, स्पष्ठ योजना र साहस चाहिन्छ । त्यो त अधिकांश नेतामा देखिएन । निजि स्वार्थ चुलिएको छ ।

त्यसो त त्यहाँ केहि नेता गर्छु भनिरहेकै छन् । तर जुन नेतालाई त्यो गर्छु भन्ने छ । सामान्तको घरजग्गा अझै कब्जा गर्ने, अर्काको जमिन बाँड्ने संबिधान त बन्ने अवस्था छैन । अर्थात माओवादीले भने जस्तो जन संविधान । जन संविधान भनेको जनवादको आधारभूमी तयारपार्ने वा जनवाद उन्मुख संविधान हो । यस्तो संविधान त कसरि बन्ने ? आफूले गरेका बाचा जनता समक्ष सिद्द गर्न आफैंले चाहे जस्तो संविधान चाहिन्छ । त्यस्तो संविधान बनाउन अहिले आफ्नै दुई तिहाइ बहुमत भए त सकिन्न । पूँजीवादी लहरको यो यूगमा जनवाद उन्मुख संविधान एक त बनाएपनि टिक्दैन । अनि आफूले गरेका बाचा पूरा नहुने संविधान बनाएर माओवादीलाई के फाइदा ?

नेपाली कांग्रेस त यसैपनि संवैधानिक राजतन्त्रकै पक्षमा थियो । पूर्व राजा ज्ञानेन्द्र संवैधानिक भएरै नेपाली कांग्रेसलाई सत्ता चलाउन दिएको भए नेपाली कांग्रेसका गणतन्त्र पक्षियको कहिल्यै जोड चल्थेन यो गणतन्त्र ल्याउन । नेपाली कांग्रेसले कम्तिमा बेबी किङ छोड्नेनै थिएन । नेपाली कांग्रेस यसैपनि सामन्तको पार्टी । राष्ट्रिय पूँजीपती, दलाल र नोकरशाही, जमिनदार र शामन्तको पार्टी । तिनका स्वार्थ राज्य पूनर्संरचना गरेर, धर्म निरपेक्ष गरेर, दलित, सिमान्त वर्गलाई अधिकार दिएर पूरा हुँदैनन् । क्रान्तिकारी भुमी सुधार गर्‍यो भने नेपाली कांग्रेसका अधिकांश नेता, कार्यकर्ता र समर्थकको स्वार्थ रक्षा हुन्न ।  नेपाली कांग्रेस सिमित वर्गको हातमा राख्न, सत्तामा सधैं हाली मुहाली गर्न चाहन्छ । २०४६ साल पछि सबै भन्दा धेरै समय सत्ता बसेको नेपाली कांग्रेसले देश कता पुर्‍ययो भन्नेबाटै देखिन्छ । नेपाली कांग्रेसले उहि २०४७ सालकै संविधान विश्वकै एक उदाहरणिय भनेकै हो । उसलाई त्यो भन्दा क्रान्तिकारी संविधान चाहिएकै छैन । उसलाई जसरिपनि सत्तामा जाउ, पारिवारिक र सिमित शोषक वर्गको हाली मुहाली चलाउ । देश लूट । पैसा कमाउ । शहर केन्द्रित राज्यसत्ता चलाउ । भ्रष्टाचार गर । राष्ट्रिय पूजीपती वर्ग, शामान्त र दलाल नोकरशाहीहरुको पञ्चामा देशलाई राखेर शासन गर । अनि अब संविधान बन्यो भने मधेशले अधिकार खोज्छ । सुकुम्बासी, हेपिएका, दबिएका, महिला, अछुत, गरिव, किसान, दूर्गम, जनजाति सबैले अधिकार खोज्छन् । तिनले अधिकार पाउनु भनेको हाली मुहाली गरिरहेको वर्गको अधिकार खोस्ने वा बाँडिने न हो । अनि नेपाली कांग्रेसलाई किन चाहियो क्रान्तिकारी संविधान ?

माओवादीले जनयुद्द गर्दा एकातिरबाट राज्यसत्ता हल्लाए । राजासित मिलौं जनतामा झन नांगिने । नमिलौं ज्ञानेन्द्रले सैन्य बल र सयौं वर्षदेखि गडेर बसेको शाही प्रशासनले सत्तामा टिक्न नदिने । त्यसैले नेपाली कांग्रेस गणतन्त्रको मागमा आएको हो माओवादीसित हातेमालो गर्दै । तर उसको मूल्यांकन के थियो भने जनयुद्द गर्दा माओवादीले जनतालाई सताएका मात्रै छन् । प्रजातन्त्रिक पद्दतीमा आउँदा माओवादीलाई जनताले पत्याउँदैनन् । निर्वाचनमा माओवादी नांगिन्छ । माओवादीलाई नांगो पर्न सकिए वर्षौं वर्ष सत्ता चलाउने नेपाली कांग्रेसलेनै हो ।

तर चमत्कार उल्टो भो । जनताले उसैलाई रुचाए । मत दिए । अब माओवादी प्राजान्तिक निर्वाचन पद्दतीमा बसिराखे उसैलाइ पो जनताले पत्याउने देखियो । जतिसुकै खोट देखाएपनि माओवादी सम्मिलित सरकार नेपाली कांग्रेस र एमाले अनि पञ्चायती प्रिष्ठभूमीका पार्टीले चलाएको बेलाका सरकार झै नांगिएको र भ्रष्ट त देखिएको छैन अझै । अब संविधान बन्यो र निर्वाचन भयो भने फेरीपनि जित्ने त माओवादीलेनै हो । घटिहालेछ मत भनेपनि ठूलो त उहि हुन्छ । फेरी माओवादीलाई मत नदिएर कांग्रेस र एमालेलाइ पो के राम्रो गरे भनेर दिने ? आखिर उ भन्दा गतिलो जनताले पत्याउने भरोसायोग्य पार्टी त छैन । अनि प्रजातान्त्रिक पद्दती अनुसार निर्वाचन जितेर माओवादीलाई सत्ता सुम्पनकालागि नेपाली कांग्रेसले किन संविधान बनाउने ?

नेकपा एमाले त नेपाली कांग्रेस र एनेकपा माओवादी बाझेकाले हिरो भएको न हो । कांग्रेस र माओवादीको बुद्दि हुन्थ्यो भने त उ टुलुटुलु हेरेर बस्नेबाहेक कुनै उपाय थिएन । अहिलेको राजनितिक मोर्चामा एमाले निर्णायकपनि होइन । किनभने एमाले नाम मात्रको कम्युनिस्ट पार्टी न हो । उ सित न जनताको समर्थन् छ । न जनताका एजेन्डा छन् । संविधान बनाए के हुने ? नबनाए के हुने ? कस्तो बनाउने भन्ने कुनै स्पष्ठ द्रिष्टिकोण र नीति नै छैन । कम्युनिस्ट नामको यो पार्टीसित कम्युनिस्टसित मेल खाने झण्डामा हँसिया र हथौडा बाहेक बाँकि केहि छैन । सरकारमा स्वार्थ मिल्दा राजवादी पार्टेहोस कि नेपाली कांग्रेस,माओवादे होस् कि मधेशी दल जो सित पनि मिल्छ र सरकार बनाउँछ । अधिकांश नेता भ्रस्ट छन्, नितिहिन छन् । योजनाबिहिन छन् । त्यसैले नेकपा एमालेलाई त संविधान बन्नु न नबन्नुमा कुनै फरक छैन । बरु यसका केहि नेता त राजावादी पार्टीका भन्दापनि पश्चगामी छन् ।

मधेशवादी दलको त प्रसंग नै निकाल्नु परेन । यी त जसरि पनि सरकारमा जाने । कुर्सी पाइन्छ भने जुन पार्टीसितपनि मिल्ने । सरकारमा रहुन्जेल धुत्ने, लुत्ने, भ्रष्टाचार गर्ने । कमाउने । मधेशी जनतालाई गुमराहमा पार्ने । सरकार बाहिर निस्कनासाथ बिरोध गर्ने । अनेक बखेडा झिक्ने, अस्थिर बनाउने, भाँजो हाल्ने । जसरि हुन्छ संविधान सभा भंग गराउने । देशमा अशान्ति स्रिजना गर्ने । भारतीय चाकरी गर्ने, तिनैका गोट्टी बन्ने । देशलाई बिदेशीका पाउमा बेचेर सकेसम्म राष्ट्रकै नामोनिशान मेट्ने ।

अरु नेकपा माले लगायतका पार्टीको न त दम्भ छ । न जनताले पत्याउँछन् । न जनमत छ । न कुनै द्रिष्टिकोण छ । मिलेसम्म सरकारमा जाने । अस्तित्वकालागि यस्सो बिरोध गरेझैं गर्ने । पाएसम्म कुर्सी हत्याउने । अनुकूल अनुसार जसको सरकारमा मिल्छ पुग्ने । दुई चार जनालाइ पद दिने । स्पष्ठ द्रिष्कोण र एजेन्डा भएको कमल थापाको राप्रपा नै हो बरु । उसले त हाकै राजसंस्थालाई स्थान दिनुपर्छ, संविधान सभा भंग गरेर नयाँ जनादेशमा जानुपर्छ भनेको छ । उसलाई झन यो संविधान चाहिने कुरै भएन । उसकोपनि दाउ संविधान सभा भंग गराएर कतै ज्ञानेन्द्रको श्रीपेच स्थापित गराउन सकिन्छ कि भन्ने न छ । त्यसैले यो देशमा संविधान कसलाई चाहिएको रहेछ त ? संविधान जनतालाई चाहिएको हो । शान्ति जनताले खोजेका हुन् । तर कुन पार्टी छ जनताको आवाजको, आकांक्षाको कदर गर्ने ? सुन्ने ? बरु सबैको ध्याउन्न त पाए सम्म सरकारमा जाने र संविधान सभा भंग गराएको अपजस कसका थाप्लामा सर्लक्क बोकाएर आफू जनताका अगाडि साखुल्ले बन्ने दाउ मात्रै हो ।

(एक हप्ता अघि ईमेलबाट प्राप्त भएको यो लेखका झण्डै २५ प्रतिशत अंश काटेर संपादन सहित राखिएको हो । लेखकका विचारसित नेपालप्लसको पूर्ण सहमती र असहमती दुबै छैन । बहसकालागि मात्रै यहाँ स्थान दिइएको हो । आफ्ना बिचारहरु शिष्ठतापूर्वक राखेर बहस चलाउनुहुन अनुरोध छ -नेपालप्लस)

तपाइँको प्रतिक्रिया