ढुलमुले देउवालाई प्रधानमन्त्री बनाउने के छ माओवादी स्वार्थ ?

आफ्नो, पार्टीमा भन्दा बाहिरी पार्टीहरुमा चलखेल गर्न जति सिपालु छन् एकिक्रित माओवादी अध्यक्ष प्रचण्ड त्यो भन्दा तगडा छन् पद र कुर्सीमा मर्नेलाई लोभ्याउन । लोभक पोका पुन्तुरा मिल्काउँदै नाफा लिने र पार्टीमा फूट पारिदिनेमा तगडा प्रचण्डले यतिखेर कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको लोभ देखाएका छन् । भनिन्छ, प्रचण्डको हरियो संकेत पाएकैले अहिले देउवाको डौडादौड शुरु भएको छ । तर के प्रचण्डले देउवालाई देलान् प्रधानमन्त्री हुन ? कांग्रेस भित्रैबाट देउवालाई सफल हुन देलान् ?

नेपाली कांग्रेसका सभापती शुसिल कोइराला यतिखेर अमेरिका र यूरोपको २ साता लामो भ्रमणमा दगुरेका छन् । यहि बेला प्रधानमन्त्री बन्न देउवाको दौड बढेको छ । त्यसकालागि देउवा र प्रचण्डबिच केहि विषयमा खासगरि माओवादी जनसेनालाई समायोजन गर्ने विषयमा केहि गोप्य सहमती भएको बताइन्छ । सहमती के भएको हो भन्ने स्पष्ठ नभएपनि देउवाको पछिल्लो क्रियाकलाप हेर्दा केहि सहमती भएको नकार्न सकिन्न ।

माओवादीहरुलाई सबैभन्दा ठूलो समस्या वा घाँडो नै यतिखेर जनसेनालाई कसरि थान्को लाउने, कसरि खुशि पार्ने भन्ने छ । जसरि हुन्छ बढि भन्दा बढि संख्यामा तिनलाई सुरक्षा निकायमै समायोजन गर्नुछ । त्यसको लागि सबैभन्दा ठूलो बाधकनै नेपाली कांग्रेस रहँदै आएको माओवादीको मूल्यांकन हो । तराइका केहि पार्टीले बिरोध गरेपनि कांग्रेसलाई सहमतीमा लिन सके त्यसलाई मिचेर जान सकिन्छ भन्नेमा माओवादी ढुक्क छ । जनसेनाको सहि किसिमले थान्को लाउन पाए माओवादी जतिखेरपनि सरकार छोड्न तयार देखिन्छ । यहि मौकामा माओवादीले देउवालाई प्रधानमन्त्रीको लोभ देखाएर जनसेना समायोजनमा देउवालाई सहमत गराउने योजना बनाएको बताइन्छ । त्यसमा देउवा सहमत भएको विश्लेषणहरु गरिएका छन् ।

देउवाका पछिल्ला गतिबिधीले त्यसैलाई सत्यको नजिक पुर्‍याउँछन् । किनभने जनसेना समायोजनका विषयमा देउवाले नकारात्मक टिप्पणी (माओवादी अर्थमा) गर्न छोडेको धेरै भयो । बरु उनले नेपाली सेनाले अगाडि बढाएको लडाकू समायोजनको प्रस्ताबमा मान्नुपर्ने भन्दै माओवादीकै बोलीमा सहमती जनाउने गरेका छन् । प्रचण्डसित भएको सहमती अनुसार माओवादीले अबको प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने छ । त्यसको लागि देउवाले लडाकू समयोजनमा माओवादी प्रस्तावलाई समर्थन गर्नुपर्ने छ । देउवा त्यसमा सहमत भएको बताइन्छ । लडाकू समायोजनबारे बिरोधका स्वर उराल्न छोड्नुको देउवा कारण त्यहि हुन सक्छ ।

देउवालाई माओवादीले अगाडि सार्को अर्को कारणपनि छ । विश्वको शक्तिशाली भनिएको मुलुक अमेरिकाले माओवादीलाई अहिलेसम्म आतंककारीको सूचीबाट हटाएको छैन । माओवादीलाई अन्तर्राष्ट्रिय संवन्ध बिस्तार गर्न र विश्वासिलो बनाउनपनि त्यो सूचीबाट हट्नु आवश्यक छ । देउवा अमेरिकी लबीका मानिन्छन् । देउवालाई प्रधानमन्त्री बनाएर माओवादीहरु अमेरिकी आतंककारी सूचीबाट हट्न सहज हुन्छ भन्ने ठान्छन् । देउवाले त्यसकालागिपनि लबी गर्ने बुझाइ माओवादीको हुनसक्छ । वा भित्री रुपमा त्यो शर्तपनि हुन सक्छ ।

विश्वका शक्तिशाली अमेरिका र भारत दुबै अहिले माओवादीको समर्थकमा छैनन् । छिमेकि मुलुक भारत माओवादी प्रतिकूल छ । कम्तिमा अमेरिकालाई निकट बनाउन सके अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा माओवादीलाई सहज हुन सक्छ भन्ने बुझाइ माओवादीको छ । त्यसकोलागि अमेरिकी छनौटका भनेर चिनिने देउवा उपयुक्त माध्यम बन्न सक्छन् माओवादीका लागि । उता देउवालाईपनि नेपाली कांग्रेसभित्र रामचन्द्र र कोइरालाको निकटताले पेलिरहेको छ । पार्टीमा बलियो हुन कुनै न कुनै रुपमा देउवाले रामचन्द्र र सुशिल कोइरालालाई देखाउनु पर्ने छ । त्यसैकालागि मुख्य त लडाकू समायोजनमा खुकुलो भैदिएर प्रधानमन्त्री पद पाइन्छ भने संस्थापन पक्षका अगाडि बलियो बन्न बन्न सक्छु भन्ने दाउमा देउवा देखिन्छ्न् ।

पदका अलगि पूर्व राजा ज्ञानेन्द्रसित पनि झुक्ने र पार्टीनै फुटाउन सम्म पछि नपर्ने देउवा अडान कम भएका नेताका रुपमा चिनिन्छन् । यस्तै ढुलमुले प्रव्रीतीको ब्यक्तिलाई अगाडि सारे पदकालागि लडाकू लगायत माओवादीका अन्य स्वार्थमा देउवाले साथ दिन्छन् भन्ने मूल्यांकनपनि माओवादीको देखिन्छ । झलनाथ खनालको बिदाइ गर्न तम्सिने ओली पक्षलाई लोप्पा खुवाउनपनि माओवादीलाई सजिलो बन्ने छ कांग्रेसकै देउवालाई प्रधानमन्त्रीमा अगाडि सार्न सके । त्यसैले अबको प्रधानमन्त्री कतै देउवानै त हुने हैनन् ?

हुन त माओवादीको यहि नै अन्तिम बिकल्प भने छैन । अन्तिम अवस्थासम्म जस्तो राजनितिक समिकरण बन्न पनि सक्छ । माओवादी प्रस्तावमा रामचन्द्र पक्ष लचिलो भए माओवादीले उनैलाई काखिच्याप्ने छन्। तर एउटा वास्तविकता चाहिँ के हो भने संसदमा सबै भन्दा ठूलो दल हो माओवादी । उसको समर्थनबिना अन्य दललाई सरकार बनाउन गाह्रै पर्छ । बन्दापनि दिर्घकालिन हुन उत्तिकै मुस्किल। जो माओवादीका स्वार्थ र प्रस्ताबमा निकट बन्छ माओवादीले त्यसैलाई प्रयोग गर्ने छन् ।

तपाइँको प्रतिक्रिया