आलोपालो होइन कांग्रेस सहितको सरकार
एकिक्रित नेकपा माओवादी र एमालेले फेरी अर्को गल्ति गर्दैछन् । दूर्घटना निम्त्याउँदै छन्, आलोपालो सरकार चलाउने भन्दै । माओवादीको सहयोगमा नेकपा एमालेले झलनाथ खनालको नेत्रित्वमा सरकार बनायो । तर यो सरकारले न त राष्ट्रिय सहमती बनाउन सक्यो न संविधान बनाउन गतिलो काम गर्न सक्यो । पटक पटकका सरकार परिवर्तनले देखाएको छ, कांग्रेस, माओवादी र एमालेमा कुनै एक्लो दल वा दुइ मिलेर, तेस्रोलाई पाखा लगाएर संभव छैन । त्यसको कारण के हो भने, यी तिनै दल अहिलेको परिवर्तनका बाहक हुन् ।
जबसम्म नेपाली कांग्रेस र एमालेले राजतन्त्र फाल्न खोजे जनताले गहिरोसित पत्याएनन् । साथ दिएनन् । माओवादीले त दश वर्षदेखि शसस्त्र युद्द गरेकै थियो, सकेको थिएन । जब यी तिन दल मिले तब जनताले साथ दिए । जनताले तिनलाई संयुक्त रुपम मिलेरै गणतान्त्रिक संविधान बनाउने जिम्मेवारी पनि दिए । तर जनताको भरोसा, आसा र निर्देशन नटेर्दा के हुन्छ भन्ने देखियो । तिन वर्षसम्म यी तिन दल लडे देशलाई घाटा मात्रै भयो । न संविधान बन्यो । न शान्ति संझौताले पूर्ण रुप लियो । देशलाई आर्थिक, समाजिक रुपमा घाटा मात्रै भयो । जनताका वैरीहरुले मुन्टो उठाए । जनता कमजोर हुने काम भयो । निराश बने ।
जनताको आशा फेरीपनि कम्तिमा परिवर्तनका प्रमुख बाहक तिन दल मिलुन भन्ने नै छ । बिगतको अनुभवले त्यहि सिद्द गरेको छ । फेरिपनि तिन दल मध्ये एउटाले अर्कोलाई उछिन्न, धकेल्न, पछारेर अगाडि बढ्न खोज्नु जनतामाथिको खेलवाड हो । संविधान बनाउन नखोज्ने निहुँ हो । जनतामाथि अर्को धोका दिने तयारी हो ।
अबको बिकल्प यस अघिका गल्ति कमजोरी सच्याएर कम्तिमा प्रमुख तिन दल सम्मिलित राष्ट्रिय सरकार बनाउनुनै हो । जबसम्म मुख्य तिन दल मिल्दैनन् तबसम्म संविधान त के बन्ने सिन्को सम्म भाँचिन्न भन्ने सिद्द भैसकेको तथ्य हो । जसले त्यसलाई लत्याएर फेरी आलोपालो भन्दै सरकार बनाउने मेसो गर्छ उ धोकेबाज हो, जनताको धोकेबाज । अहिले तिन महिना संविधान सभाको म्याद थपिएर के गर्नु ? तिनमहिनापछि फेरी भोग्नुपर्ने नियती उहि हो । त्यतिबेला संविधान नबनेको परिणामको जिम्मेवारपनि त्यहि दल बन्नुपर्छ ।




