बिदेशी पैसामा पो रैछ ओलीको ब्रुक ब्रुक

-विनोद केसी / काठमाडौं

जनताले सभासद बनेको हेर्नपनि रुचाएनन् । असफल पारिदिए । दशकौं राजनिति गरेर, पद र कुर्सीमा बसेर, राज्यशक्ति प्रयोग, भोगचलन गरेका ओली । माओवादीका फुचुने नेताले साँच्चै सर्वनाक हार गराइदिए । भुनभुनिँदै उनी गए फेरी एमालेको पर्टी अध्यक्ष बन्ने दाउमा चुनाव लड्न । त्यहाँ देखियो- कार्यकर्तालेपनि रुचाएनन् । मुन्ट्याइदिए । यति हुँदा त ईमान हुन्थ्यो, जनमतको कदर हुन्थ्यो भने खुरुक्क भेडी गोठ वा भैंसीपालनतिर लाग्नुपर्ने हो केपी ओली । तर उनको चुरीफुरी घटेन । ईमानलाई जमानीमा राखेर ओली स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्न छोडेनन् । पाइलै पिच्छे हारेका उनले जनमतको परिक्षा उत्तिर्ण गरेकामाथि हैकम चलाइरहे ।

लाग्थ्यो, हैन जब नेपाली जनताले उनलाई पाइला पाइलामा रुचाउँदैनन् भने उनको चुरी फुरीको स्रोत के हो ? कसको बलले उनी अझै नेता बनिरहेका छन्, शक्तिशाली नेता । उनको गर्जनको स्रोत नेपाली जनता त होइन । हो को त ? रात ढल्किन दिनुपर्छ औराख पलाएको हेर्न पाइन्छ । अहिले बुझियो, उनको गर्जनको स्रोत त बिदेशी दलालहरु पो रहेछन् ।

आरोप फगत लगाइएको होइन । हल्लाका भरमा पनि होइन । उनैको पर्टीबाटै लगाइएको हो । लिखित रुपमा वरिष्ठ नेताबाट लगाइएका आरोप हुन् । ति चानचुने पनि छन् र ? आरोप निकै छन् । उनीमाथि अद्रिष्य स्थानबाट आर्थिक स्रोत लिएर पार्टीमा गूटबन्दि गरेको दरो आरोप लगाएका छन् संस्थापन पक्षका नेताले । पार्टीभित्र गूटबन्दि, महाधिवेशनको फैसला बिरुद्द काम गरेको, समानान्तर संगठन चलाएको । यस्ता आरोप त लागेकै थिए अघि अघिपनि । अरु नेतामाथिपनि लाग्छन् नै । तर अहिले त उनीमाथि अद्रिष्य शक्तिबाट पैसा लिएको आरोप लागेको छ । गणतन्त्र आएपछि चुरीफुरी देखाएपनि उनी भित्री रुपमा गणतन्त्र असफल पार्न लागेका रहेछन् ।  राजतन्त्रका पक्षमा मरिमेटेका पो रैछन् । अरुले गणतन्त्रको लागि आन्दोलन गरिरहेका बेला उनले भने राजा राजावादीसित गोप्य साँठगाँठ र भेटघाटमा दौडघुप गरेका पो रैछन् ।

हेलिकोप्टर चढेर जिल्ला जिल्ला घुमेका रहेछन् ओलीले । अनि स्कूल र अरु संस्थालाई आर्थिक चन्दा बाँड्दै हिँडेका रहेछन् । तर त्यसको स्रोत के हो ? त्यसरि बाँड्ने पैसो कहाँबाट आयो ? कसले दियो कुन प्रयोजनकालागि ? कतै उल्लेख रहेनछ । पार्टीलाई पनि कुनै जानकारी नाई । तस्करबाट लिएपनि भयो । ज्यानमारालाई थर्काएर हात पारेपनि ठिकै । घुसखोरसित साँठगाँठ गरेर झारेपनि भएकै छ । अपराधिक काम, गुण्डागर्दी, तस्करसित साँठगाँठ । केहि बाँकि रहेनछ ओलीले गर्नुपर्ने । उनले पार्टीभित्र गुण्डा संस्कृति भित्र्यएका रहेछन् । अपराधीलाई संरक्षण दिएका रहेछन् । ठेक्कापट्टा कब्जा गर्दा रहेछन् । भन्सार नाकाबाट तस्करी गराउने रहेछन् ।

त्यति मात्रै हो र ? अपहरणकारीलगायतका अपराधीहरुसँग मिलेर आर्थिक भागबण्डासमेत गर्दा रहेछन् । भन्सार नाका नछोड्ने, अपराधीसित मिल्ने, गुण्डासुण्डा जेपनि लाउने गरेपछि अनि चुरीफुरी नहोस् त ? उनका दरबार जस्ता बंगाला के त्यसै बनेका हुन् र ? उनको तारन्तारको बिदेश भ्रमण त्यसै हुने रहेछ त ? निजि कामलाई, स्वास्थ्य जाँचकालागि भन्दै उनले गर्ने बिदेश भ्रमणको स्रोत त यस्तो पो रहेछ । जब नेताको स्रोत नै यस्ता अपराधी, बिदेशी दलाल, तस्कर र ज्यानमारा, अपहरणकारीहरु भएपछि नेपाली जनताले किन पत्याउनुपर्‍यो ? जनताले किन जिताउनुपर्‍यो ? तस्करी र अपराधीको आड भएपछि जनमतको आड र भरोसा किन चाहियो ?

राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय हित बिपरित अदृश्य शक्तिसँग साँठगाँठ गरेर शंकास्पद गतिविधिहरु गरेको र संविधान सभानै भंग गराउने षडयन्त्रमा लागेको आरोपपनि लागेको छ उनलाई । आरोप दर्ता भए उनको पार्टीमा । तर अहिलेको अवस्थामा छलफल भएन एमाले केन्द्रिय कमिटीमा । त्यो दर्ता नहुनु भनेको असत्य हो भन्ने होइन । पार्टीको संस्थापन पक्षले बकाइदासित लिखित प्रस्ताव पक्कै हचुवाका भरमा पार्टीमा दर्ता गराएको होइन । यस्ता गम्भिर आरोपहरु लिखितरुपमा दर्ता गराएर संस्थापन पक्ष पछाडि हटेपनि ओलीको वास्तविकता त देखियो नै । भलै एमाले पार्टीमा ओली मात्रै पक्कै छैन यस्ता नेता । कुनै न कुनै दिन यसको छनबिन त पक्कै होला ।

हुँदै हुन्थेन, असत्य थियो भने त ल दर्ता गराएर छलफल गराउ । जाँचबुझ गर । छानबीन गरेर सिद्द भए मलाई कारवाही गर । सिद्द भएन भने आरोप लगाउनेमाथि कारवाही गर भन्न सक्थे । तर उनले त त्यसो नभनेर त्यसलाई स्विकार गरे झैं, सिद्द होला र कारवाही भोग्नुपर्ला, बेइज्जत होला झैं गरेर छलफल गर्न नदिने बनाए । अहिले पो उनको पार्टीमा चुरीफुरी बढेको छ । उनी बलिया देखिएका छन् । धम्काएकै भरमा ति आ रोप शिथिल भएका छन् , थन्काउन बाध्य भएको छ संस्थापन पक्ष । तर त्यस्ता वास्तविकताहरु के सधैं सतहमै रहलान् र ?

तपाइँको प्रतिक्रिया