फोरम फूट : भारतीय दलालीको अर्को झड्का

संविधान सभाको म्याद हप्तादिनपनि बाँकी छैन । दलहरु सहमतीका आधारमा म्याद थप्ने बहस, छलफल र प्रस्ताव गरिरहेका छन् । यदि नेपाली कांग्रेस र अन्य झिना मसिना दल सहमत नभएको भए बहुमतका आधारमा संविधान सभाको म्याद थप्न सरकार अघि बढ्ने संकेत थियो । एमाले, माओवादी र मधेशी जन आधिकार फोरमको संयुक्त सरकारसित त्यो दुई तिहाइ मत पुग्थ्यो । त्यो दुई तिहाइ बहुमत पुर्‍याउन नदिन ठ्याक्क पार्टी फोरेर गुप्ता बाहिरिनु के सामान्य हो ? यो बेला संविधान बनाउनकालागि सहमती, छलफल, दबाब दिनु प्रमुख काम हो कि पार्टी फोर्नतिर ? कसको कुन स्वार्थमा फोरे पार्टी जेपी गुप्ताले ?

कुरो घाम जत्तिकै छर्लङ्ग छ- भारत कुनैपनि हालतमा नेपालमा शान्ति देख्न चाहन्न । नेपालमा अशान्ति, भाँडभैलो, हत्या, हाहाकार, होहल्ला मच्चाएर आफ्ना स्वार्थ सिद्द गर्न चाहन्छ । शान्ति हुँदा, प्रजातान्त्रिक दलहरु मिल्दा भारतले चलखेल गर्न सकिन्न भन्ने बुझेको छ । नेपाली जनताले चाहे अनुसारको अग्रगामी संविधान होइन कि भारतीय प्रभाव र स्वार्थको संविधान बनाउन चाहन्छ भारत । उसले नेपाली नेताहरुलाईपनि राम्रोसित छामेको छ, छोराछोरी आफ्नो देशको विश्वविध्यालयमै निशुल्क पढाइदिएरैपनि नेपाली नेता किन्न, बिकाउन, झुकाउन सकिन्छ भन्ने बुझेको छ । भारतले त्यहि गर्दै आइरहेको छ ।

नेपालका हरेक दल, पार्टी र संगठनमा, नेताका बोली र दिमाखभित्रै भारतले कब्जा जमाएको छ । उ आफ्नो प्रतिकूल हुनासाथ त्यसैलाई प्रयोग गर्छ । सके फकाउँछ । नसके हप्काउँछ, दप्काउँछ, लोभ्याउँछ र प्रभावमा पार्छ । अहिले भएको फूटपनि त्यसैको पुनराव्रित्ति मात्रै हो । संविधन सभा भंग गराएर नेपालमा अशान्ति मच्चाउने, भाँडभैलो गराउने । गुप्ताले एक भारतीय दलालका रुपमा त्यसैको पालना गरेका हुन् ।

वर्षौं वर्षदेखि गोप्य वा खुल्ला, यो वा त्यो नाम र निहुँमा भारतीय शासकका नोकरका रुपमा रहँदै आएका गुप्ताले भारतीय गुन तिरेका मात्रै हुन्, आफ्ना मालिकको खटनपटनको पालना गरेका मात्रै हुन् । देशका अपराधी, स्वदेशको छद्म भेषमा बिदेशको दलाली गर्नेहरु, आफ्नो समाजमा आगो झोंसेर पराइलाई खरानी लगिदिन रमाउनेहरुको विशेषतानै कमजोर अवस्थामा सल्बलाउने हुन्छ । आखिर बाघलेपनि त लुलो, लंगडो, खोरन्डो, कमजोर यस्तै म्रिगलाई नै आक्रमण गर्छ । गुप्ता यस्तै एक शिकारी हुन् भारतीय शासक वर्गका । उनलेपनि आफ्नो देश कमजोर भएका बेला शिकारी नंग्रा गाडेका हुन् । 

नेपाली कांग्रेस एक ठूलो शक्तिका रुपमा थियो । मधेशमा बलियो थियो । त्यति बेला यिनै गुप्ताले पार्टी फोर्न उक्साए देउवा पक्षलाई । आफूपनि उतै लागे । जब मधेशको आन्दोलन उठ्यो तब नेपाली कांग्रेसलाई मात्रै लात हानेनन् उनले त्यहाँका अरुलाईपनि उचाले, उक्साए र कांग्रेसलाई कमजोर बनाए । अन्तमा मधेशमा फोरमलाई बलियो देख्नासाथ त्यहिँ हाम्फाले । अहिले भारत कुनै हालतमा नेपालमा संविधान नबनोस्, अशान्ति फैलियोस् भन्ने चाहन्छ । सबै दलले जनतासित माफी मागेर केहि समय संविधान सभाको म्याद थपे त्यो टर्छ । त्यतिपनि नभए प्रजातान्त्रिक पद्दती अनुरुप बहुमतका आधारमा थपिन्छ म्याद । त्यसैलाई रोक्न उनले भारतीय षडयन्त्रको गोट्टी बनेर फोरम फुटाए । अब सरकार बदलियो भने उनले नयाँ बन्ने सरकारसित अनेक शर्त तेर्स्याउने छन् र फेरीपनि उनको मूल भक्ति र सेवा गर्ने उद्देश्य त भारतकै हुने छ ।

सरकार रहेको उपेन्द्र यादवको समूह स्वच्छ छ । राष्ट्रप्रेमी छ । राष्ट्रिय अखण्डताको रक्षक हो । यस्तो भन्न खोजिएको होइन । मधेशका अधिकांश दल भारतीय स्वार्थ र निर्देशनमै बन्ने, जुट्ने, फुट्ने र बाहिरिने गर्छन् । तैपनि अहिलेको अवस्था भनेको पार्टीहरु फुट्ने होइन । सरकार परिवर्तनका लागि पार्टी फुटालेर तानातानमा बिताउने बेलापनि होइन यो । शान्ति र संविधानकालागि काम गर्नुपर्ने संकटपूर्ण अवस्था हो । जे गर्छन् नेपाली जनताका प्रतिनिधीले गर्नु पर्ने हो । आफ्नै बुझाइ, आफ्नै मेहनत, आफ्नै धारणा र निति अनुसार आफ्नो भाग्यको फैसला नेपालीहरु स्वयंले गर्नुपर्छ । गुप्तालाई नेपाली जनताले त्यसैकालागि प्रतिनिधी बनाएका हुन् ।

तपाइँको प्रतिक्रिया