मानव बेच बिखनको प्रसंग र बेल्जियमको राजनिति

यति खेर बेल्जियमका नेपालीबिच दुई वटा मुद्दा निकै चर्चामा छन्- मानव बेचबिखनमा संलग्न भनिएका नेपाली र एनआरएनको निर्वाचन । बेल्जियमका साथीहरु सुनाउँछन्, यहाँका नेपालीहरुको कम्प्युटर स्क्रिनमा अहिले सन्तोश न्यौपानेले लेखेको ‘बेल्जियममा दियो युनिटीले सास्ती, प्रहरी कागजपनि शंकास्पद’ शिर्षकको लेखले प्राथमिकता पाएको छ । चर्चा त्यसैको छ । कोहि जिब्रो टोकिरहेका छन् । कोहि यसलाई राजनितिक रंग दिन रात दिन फोन हल्लाइरहेका छन् ।

मानव बेचबिखनमा संलग्न भनिएका ब्यक्तिको समाचार बाहिर आउनासाथ सिंगै राजनितिक संस्था उसको बचाउ गर्दै टुप्पी कसेर मैदानमा उत्रिएकालेपनि यसले झन चर्चा पाइरहेको छ । कुनै ब्यक्ति विशेषले गरेको भनिएको अपराध वा गल्तिमा सिंगो राजनितिक संस्थाले बक्तब्यबाजी गर्दै संरक्षण दिनुको लाभ के हो ? केकालागि हो ? यसले बेल्जियममा झन शंका, उपशंकाहरु उब्जाएको छ ।

त्यस रिपोर्टपछि आरोपित र उसलाई बचाउ गर्न जसरि केहि संस्था, ब्यक्ति र ब्यक्तब्यबाजी गरियो, धाकधम्कीहरु बाहिर आए त्यसलाई केलाउने कोशिस मात्रै हो यो । सन्तोश न्यौपानेले युरोपमा सकृय नेपाली मानवतस्कर फ्रान्स प्रहरीको फन्दामा शिर्षकमा समाचार लेखे । त्यसमा बेल्जियम निवासी हुन् कि नेपाल निवासी हुन् कुन्नी (उनी आफैंले कहिले बेल्जियम त कहिले हेटौंडा भनेक छन् एकै दिनको लिखित निवेदनमा) क्रिष्ण खतिवडाको नाम मुछियो । समाचार गलत भए खण्डन गर्न पाइन्छ । लेख्नेलेपनि भुल सुधार गर्नुपर्छ । माफी माग्नुपर्छ । तर मर्का पर्नेले शिष्ठ भाषामा खण्डन गरेको देखिएन । खतिवडाले सम्मान खोज्दा अरुलाई सम्मान दिन जान्नु पर्छ कि पर्दैन ? जुन मेडियामा प्रकाशित प्रसारित हो त्यसैमा आफ्नो खण्डन नपठाएर सिधै धम्किको भाषामा ईमेल लेखे । फटाहको नाइके र बाहिरी आवरणका खलनायक भनेर पठाए ।

उनले आफू हनुमानढोका प्रहरी कार्यालयमा थुनामा नरहेको ब्यहोराको पत्र तत्कालै पठाए । दुनियाँलाइ थाह छ, एउटा पुलिस रिपोर्ट बनाउनु पर्‍यो भने त्यहाँबाट सहजै बन्दैन । गाउँमा सर्जिमिन गर्नुपर्छ भन्दै हप्तौं लगाइन्छ । त्यस्तो अवस्थाको नेपालको प्रहरीले उनलाइ किन र कसरि दियो त्यस्त्रो पत्र तत्कालै ? ‘म बेल्जियन नागरिक हुँ’ भनेर भन्दा भन्दै नेपालको प्रहरीले कसरि, केका आधारमा, के प्रभाव र कुन लाभ हेरेर हेटौंडा निवासी भनेर दियो क्लिन चिट ? यदि कुनै ब्यक्ति प्रहरीको कारवाहीमा परेको छैन भने ‘क्लिक चिट’ ल्याउनुपर्ने उसलाई के जरुरत ? सज्जन ब्यक्तिले ‘म चोर होइन’ भन्दै बक्तब्य दिँदै हिँड्नुपर्छ र ? आफ्ना बिरुद्द वा आफुलाई मर्का परेको ठाउँ र ब्यक्तिलाई नै उसले जाहेर गरे पुग्दैन र ?

सिंगो एन डि एफ किन लाग्यो उनलाई बचाउन ?

क्रिष्ण खतिवडा ब्यक्ति हुन् । कुनैपनि ब्यक्तिको जिम्मेवारी कसैले लिन सक्दैन । हुँदैन र लिइँदैनपनि । तर बेल्जियमको नेपाली लोकतान्त्रिक मञ्च बेल्जियम (एनडिएफ) ले हत्तन पत्त किन बक्तब्य जारी गर्‍यो पत्रकारलाई गाली र मानव बेचबिखनमा मुछिएका भनिएकाको बचाउ गर्दै ? नेकपा एमाले बेल्जियमका अध्यक्ष शिव बरुवालले जारी गरे त्यो बक्तब्य मञ्चका तर्फबाट । के यसमा सिंगो एमाले र मञ्चको संलग्नता हो ? ब्यक्तिले गरेको गल्ति वा मानव बेचबिखन जस्तो गम्भिर विषयको अपराधमा आरोपित ब्यक्तिलाई पूर्खादेखिको बल निकालेर बचाउ गर्न किन कस्सियो एनडिएफ ?

कुनै ब्यक्तिमाथि लागेको आरोप वा अपराध संवन्धित ठाउँबाट सिद्द हुनुपर्ने हो कि होइन ? वा मर्कामा परेको भए मर्कामा पार्नेमाथि कारवाही हुनुपर्ने हो कि होइन पहिले ? त्यसको छानबिन गर्ने, सत्य तथ्य पत्ता लगाउने काम प्रशासन वा संवन्धित निकायको हो कि एनडि एफको ? कि एनडिएफ बेल्जियमको त्यस्तो संस्था हो जसले बेल्जियमको सिंगो प्रहरी निकायलाई नचाउँछ ? कि बेल्जियमको प्रशासनिक अधिकारप्राप्त भैसकेको हो ? नेकपा एमाले बेल्जियमको अध्यक्ष जस्तो पदमा बसेका शिव बरुवाल बाह्र हात माथि बाट फालहाल्दै खतिवडाको बचाउमा बिज्ञप्ती जारी गर्नुको अर्थ के ?

युनिटिको अर्को काण्ड

युनीटि इन्टरनेशललाई सरकारले गैह्र कानुनी घोषणा गरेको करिब दुई वर्ष भयो । सरकारले गैह्र कानुनी घोषणा नगर्दै त लौ जनकारी भएन । त्यसपछि कारोबार बन्द गर्नुपर्छ कि पर्दैन ? तर बेल्जियममा शिव बरुवाल र क्रिष्ण खतिवडाले त्यसपछिपनि त्यो गैह्र कानुनी काम जारी राखेको पाइयो । चाखलाग्दो कुरो त के छ भने बरुवाल आफैंले आफ्नो बक्तब्यमा त्यो स्विकार गरेका छन् । ‘बेल्जियममापनि युनिटीको ठगी’ शिर्षकमा अन्नपुर्ण पोस्ट दैनिकमा २७ असार २०६७ मा प्रकाशित समाचारमा सिधै क्रिष्ण खतिवडालाई युनिटी काण्डमा ठगेको भनेर लेखिएको छ । राष्ट्रिय दैनिक पत्रीमा छापिएको त्यो समाचारको अहिलेसम्म कहिँ कतै खण्डन भएको देखिन्न । युनिटीको सदस्य बन्न भनेर डेढ सय यूरो शिव बरुवाललाई स्वयं बुझाएको र त्यसको हालसम्म न बील, न रसिद, न नाफा, न साउँ केहिपनि नपाएको गुनासो पिडित हरुलेनै लगाएका छन् । त्यसको भ्वाइस रेकर्ड नेपालप्लससित सुरक्षित छ ।

पैसा लिने बेलामा बेल्जियममा लिने, तर नेपालमा युनिटीको भगाभाग भएपछि भने ‘नेपालमा यस्तो भयो त्यहि भएर’ भन्दै पन्छिन पाइन्छ ? बेल्जियममा पैसा तिर्नेहरुले शिव बरुवाललाई विश्वासि ठानेर तिरे कि नेपालको युनिटीलाई ? पैसा तिर्ने बेला बेल्जियममा तिर्ने, लिने बेला पसिना र रगत चुहाएको पैसो घरै गएर नाफा हुन्छ भन्दै बटुले । अनि समस्या आएपछि नेपालमा यस्तो भो भनेर औंलो सोझ्याउने ? यसलाई ठगी नभने केलाई भनिन्छ ? त्यो लूट नभए के हो ?

एनडिएफ संभवत धेरै नेपालीको विश्वास, भरोसा, आशा र संलग्नता भएको संस्था होला । तर त्यस्तो ठगी काण्डमा आरोपित देख्दा देख्दै एक्लो ब्यक्तिले बक्तब्य जारी गरेर समाचारलाई कपोलकल्पित, भ्रामक, झूट भन्न हतारिनुको अर्थ के ? आफुपनि संलग्न भएर ? कि सम्पूर्ण संस्थालाईनै त्यसैमा गाँजेको भएर ? चिरन्जिवी वाग्ले भ्रष्टाचारको मुद्दामा जेल परे । के नेपाली कांग्रेसले त्यसै गरि काँध थाप्यो ? उ निर्दोष हो भनेर कोकोहोलो मच्चायो ? एनडिएफमा कुनै बेला पद लिएको, जिम्मेवारी लिएको ब्यक्ति हुनासाथ साह्रा जिम्मेवारी लिन सक्छ ?

कारबाही कसलाई ?

बेल्जियमका हरेक नेपालीलाई थाह छ, त्यहाँको कोहि न कोहि नेपाली मानव बेचबिखनमा संलग्न छ भनेर । त्यो घाम जत्तिकै छर्लंग छ । नेपालीलाई बेल्जियमबाट ट्रकमा हालेर बेलायत दर्जन पटक लगाएरपनि छिराइएको छ । भलै त्यसम कसैको भलो भयो होला त कसैको भएनहोला, कत्तिले दुख पाए । तर वास्तविकता के हो भने मानव बेचबिखन त भएकै हो । के त्यसरि भिसा, पासपोर्टबिनानै ओहोरदोहोर गराउनु कानुनसम्मत हो त ? बिदेशी भूमीमा गैर कानुनी रुपमा राजनितिक पार्टी खोलेर त्यसैको नाममा राजनिति गर्ने ब्यक्तिको क्रियाकलाप चाहैँ कानुनी ? बेल्जियम ल्याउने मन्छेलाइ पोल्याण्ड भएर ल्याउने र त्यसकाबारेमा राम्रो जान्कारी नदिने, साँढे दुई सय यूरोमा लाग्ने यातायातको खर्चमा हजार यूरोसम्म लिएकोपनि कानुनसम्मतनै हो कि बरुवालजी ?

यदि सन्तोश न्यौपानेले लेखेको रिपोर्ट गलत थियो भने स्वस्थ खण्डन किन गरिएन संवन्धित मेडियाबाटै ? एउटाको आरोपमा अर्कोले बिज्ञप्ती जारी किन गरियो ? बिज्ञप्तीमा देखियो, पित पत्रकारिता गरेको भन्ने आरोप ? आफ्नै देशमा दुख पाएका, हेपिएका, थिचिएका, ठगिएका, थिचिएका नेपाली यहाँ आएरपनि फेरी कुनै नेपालीको हातबाट ठगिएको समाचार लेख्ने ब्यक्ति सहि कि त्यसको बचाउ गर्ने ? सरकारले गैर कानुनी घोषणा गरेको संस्था देखाएर पैसा असुल्नु र फिर्ता नदिनु । त्यसको समाचार लेख्ने पत्रकार पितपत्रकार भन्ने ज्ञान कुन देशको पत्रकारितामा छ होला लौन हाम्लेपनि पढ्न पाउँ ।

एन आर एनको चुनाव छ भनेर गलत कुरो नउठाउने ?

बेल्जियममा अहिले एनआरएनको निर्वाचन आएको छ । यो निर्वाचनलाई हालका समाचारले प्रभावित पार्न सक्छ भन्ने पिरलो लिखितरुपमै देखियो । एनआरएनको निर्वाचनलाई प्रभाव पार्नकालागि भनेर फत्तुर लगाइयो । हो, कुनै पनि सकारात्मक र नकारात्मक कुराले अवश्यै फरक पार्छ । तर यसम फत्तुरीमा कुनै दम्भ किन छैन भने सन्तोश न्यौपाने स्वयं त्यसमा कतै संलग्न भएको देखिन्न । म त झन अहिले एन आर एनको सदस्यसमेत रहेको छैन । एन आर एनको राजनिति सँगै सर्प नचाउनेको जस्तो बीन बजाउनुपनि हामीलाई छैन । अर्को तर्फ गलत काम गर्नेलाई यस्तै जमघटमा चिनुन् भन्नेपनि लाग्छ । कसैको चुनाव आएको छ भन्दैमा त्यो सक्किउन्जेल भन्दै गलत कुरोलाइ अझ मौलाउन दिने कुरोपनि पत्रकारले हुँदैन । यदि आरोपित ब्यक्ति निर्दोष छन् भने त्यसले त संस्थालाई,के घाटा पर्छ र ? घाटा त लेख्ने ब्यक्ति र छापिने संस्थालाई न हुने हो । हैन र ?

(फोटो विश्वन्युज डटकमबाट लिइएको हो) ।

तपाइँको प्रतिक्रिया