संविधानकालागि पेलेर जाने मनस्थितिमा दाहाल र खनाल
पालुङटार बैठकमा जनविद्रोहको लाइन पास गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यु टर्न भएर शान्ति र संविधानको दस्तावेज केन्द्रिय समितिबाट पास गराउनासाथ सल्बलाएका छन् । शान्ति र संविधानकालागि अधिकतम प्रयास गर्ने भन्ने प्रताव पार्टीमा पेश नगरुन्जेल उनी कांग्रेस र अन्य दलले संविधान बनाउन नदिने चलखेल गरेको देशी बिदेशी प्रतिक्रियावादीले खेलमा भन्दै थिए । तर जब उनको प्रस्ताव अत्यधिक बहुमतले पास भयो, तब प्रचण्ड एकएक ताते, सक्रिय देखिए शान्ति र संविधान बनाउने पहलकदमी आफ्नै पार्टीले लिनुपर्छ भन्दै ।
त्यो अगाडिसम्म कांग्रेस र खासगरि एमालेको ओली- नेपाल पक्षले माओवादीले संविधान बनाउन नचाहेको आरोप लगाउँदै आएका थिए । अहिले संविधान बनाउनका लागि भन्दै माओवादी अध्यक्ष प्रचण्ड कांग्रेस लगायतका दलसित छलफलकालागि आफैं कस्सिएका छन् । संवैधानिक समितीलाईपनि सक्रिय गराए । मधेशी जनअधिकार फोरमसितपनि तुरुन्तै वार्ता गरि सरकारमा समेट्ने पहल गरिहाले ।
स्रोतहरुले के भन्छन् भने माओवादीले चाहे अनुसारको जन संविधान बनाउने अवस्था त जुनसुकै दललाई साथमा लिएपनि छैन । तर नेपाली कांग्रेस भने कुनैपनि हालतमा अग्रगामी संविधानको पक्षमा छैन । शब्दका आडम्बर र केहि क्रान्तिकारी शब्दजालले भरेपनि नेपाली कांग्रेस राज्यको पूनर्संरचना गर्ने पक्षमा छैन । संघिय राज्यको बिरुद्दमा छ । धर्म निरपक्षताका पक्षमा स्पष्ठ छैन । मधेशका मागमा अनुदार छ । उ अग्रगामी संविधान बनोस् भन्ने नै चाहेको छैन । संविधान बनेपनि आफ्नै पहलकदमीमा मात्रै जारी होस् भन्ने खेल खेलिरहेको छ । यसैगरि माओवादी र एमालेको झलनाथ पक्षले बुझेको बताइन्छ । त्यसैले उनीहरु नेपाली कांग्रेससित संविधानका पक्षमा अब छिट्टै स्पष्ठ हुने । नेपाली कांग्रेसले भाँजो हाल्ने स्थिति देखिए उसलाई छोडेरै पनि दुई तिहाई पुर्याएर संविधान बनाउने पक्षमा पुगेका छन् ।
त्यसैले, प्रचण्ड र प्रधानमन्त्री खनाल कांग्रेस बाहेकका दललाई मिलाएर सरकारमा लाने र दुई तिहाइ पुर्याएर संविधान बनाउने पक्षमा छन् । मधेशी जनअधिकार फोरमलाई सरकारमा लान र फकाउन अधिकतम प्रयास गर्नुको मुख्य कारणपनि त्यहि नै हो । अन्य मधेशी दललमापनि फूट आएकाले त्यताबाटपनि तान्न सकिने उनीहरुको बुझाइ छ । त्यसैगरि अन्य साना मसिना केहि दलको पनि समर्थन सरकारतिरै रहन्छ । संघिय राज्य, मधेश मुद्दा, धर्म निरपेक्षता, अल्पसंख्यक र जातिय मामिलामा माओवादीहरु तुलनात्मक रुपमा बढि उदार रहेकालेपनि समर्थन बढ्ने बुझाइ खनाल र प्रचण्डको छ ।
अहिले यसरि तात्तिनुको अर्को कारण केपनि हो भने संविधान बनाउने समय एक महिनापनि बाँकि छैन । यसबिचमा संविधानका सहमती हुन नसकेका विषयमा तिब्र छलफल चलाए जनता यो सरकारका पक्षमा देखिन सक्छन् । माओवादी शान्ति र संविधानको पक्षमा छैन भन्ने कांग्रेस, मधेशी दल र एमालेको अनुदार खेमाको आरोपलाई नंग्याउन सकिन्छ । यसले अन्तर्राष्ट्रिय जगतमापनि माओवादीको लोकप्रियता र समर्थनलाई बढाउँछ । माओवादी दिर्घकालिन शान्ति र संविधानको पक्षमा देखिन्छ । संविधान बनाउन सरकार गम्भिर देखिएको छ भन्ने सन्देश दिएर संविधान सभाको म्याद केहि समय थप्न सहज हुन्छ ।
सेना सामयोजनका पक्षमा सबै भन्दा अनुदार नेपाली कांग्रेसलाई ठानेकोठानेका छन् माओवादी र खनालले । यो बेला बरु सरकारमा केहि मन्त्रालय गुमाएर अन्य दलको समर्थन लिने र सेना समायोजन गर्ने पक्षमा माओवादी रहेको बताइन्छ । सेना समायोजनका पक्षमा नेपाली सेनाले ल्याएको प्रस्ताव सकारात्मक देखिएकालेपनि माओवादी यो काम सरकारमा सहभागि दलहरुको समर्थन लिएर छिटो टुंग्याउन चाहन्छ ।
जेठ १४ मा संविधन संविधान पक्कापक्की छ । कांग्रेस र केहि मधेशी संविधान सभाको म्याद नथप्ने पक्षमा देखिएका छन् । माओवादी र खनाल पक्षले यसलाई संविधान सभा भंग गराउने, राष्ट्रपतीलाई संविधानको संरक्षक भन्दै सक्रिय गराएर राष्ट्रपती शासन लाद्ने पक्षमा गरिएको षडयन्त्र ठानेको छ । त्यसैले उनीहरु यसलाई जसरिपनि चिर्ने पक्षमा छन् । यदि राष्ट्रपतीलाई सक्रिय गराउने, संविधान सभा भंग गर्ने जस्ता षडयन्त्र गरिए राष्ट्रपतीलाईनै फाल्न सक्नेगरि दुई तिहाई पुर्याउन खोजेको बताइन्छ ।
स्रोतका अनुसार प्रचण्ड र खनाल कुनैपनि हालतमा अहिलेको सरकार भंग गर्ने पक्षमा छैनन् । बरु यो सरकारलाई अझ मजबुत बनाउने पक्षमा छन् । भारतीय विदेश मन्त्रीको भ्रमणपछिको अवस्थालाई हेरेर पनि माओवादी यहि सरकारलाई टिकाउने पक्षमा छ। किनभने भारत अहिलेपनि खनाल र प्रचणको पक्षमा छैन । त्यसैले, अबका केहि दिनमा सरकार अझ बलियो हुन सक्ने संभावना छ । संविधानका सहमती हुन नसकेका विषयमा तिब्र छलफल, वादविवाद र गलफत्ती हुने छ । सकेसम्म नेपाली कांग्रेससमेतको सहमतीमा संविधान जारी गरिने छ । कांग्रेस बाधक बने दुई तिहाइ पुर्याएर पेलेर पनि प्रचण्ड र खनाल संविधान जारी गर्नुपर्छ भन्ने निर्णयमा पुगेका छन् ।




