दूरदर्शी ? साहसी ? पिपलपाते कि धोकेवाज ?

पालुङटार बैठकको जनबिद्रोहमा जाने भन्ने म्यान्डेटलाई उछिनेर शान्ति र संविधान निर्माणका पक्षमा माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव अगाडि सारेपछि निकै ठूलो तरंग ल्याएको छ । पालुङटार बैठकको निर्णय पछ्याउनुको बिकल्प छैन भनिरहेका बेला एक्कासि प्रचण्डले ल्याएको प्रस्तावले फेरी धेरैलाई अचम्मित पारेको छ । उनको प्रस्तावका बारेमा गम्भिर बहस, आरोप प्रत्यारोप र संभावनाहरुको चर्चा परिचर्चा शुरु भएको छ ।

कोहि नेपाली जनताको मनोभावना अनुसार, जनताको चाहना अनुसारको साहसिक निर्णय भनिरहेका छन् । कोहि प्रचण्डले धोका दिए भन्दै छन् जनता र क्रान्तिका बिरुद्द । कोहि प्रचण्ड अति दूरदर्शि रहेछन् भनिरहेका छन् । ‘खेलाडी हुन् प्रचण्ड, कहिले बैद्द त कहिले भट्टराइलाइ खेलाउने’ भन्नेपनि उत्तिकै छन् । के हुन् त आखिर प्रचण्ड ?

पहिलापनि थिए नै र अहिले झन शान्ति संझौतापछि प्रचण्डलाई हेर्ने द्रिष्टिकोण, गरिने मूल्यांकन फरक छन् । हुने नै भए । २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (एकताकेन्द्र) को मूल पार्टी पंक्ति लिएर जनयुद्द घोषणा गर्दा त्यहि जनयुद्दमा हिँड्ने समूह बाहेक अरुले उनलाई जोक्कर ठाने । त्यतिबेला जोक्कर ठान्ने समूह नारायणकाजी श्रेष्ठ सहितको पार्टी अहिले माओवादीमै मिसियो । तिनै अहिले प्रचण्डको गाउन सम्म गुनगान गाउँछन् । जनयुद्दको विकास हुँदै जाँदा प्रचण्ड अन्तर्राष्ट्रिय स्तरमै चर्चाको पात्र बने, स्वदेशमा त बन्ने नै भए । पार्टीमा त उनलाई झण्डै माओ, स्टालिन र लेलिनको हाराहारीमा राखेर उनको तस्विर टाँस्ने गरियो प्रचण्डपथका नायक भन्दै ।

दुई पटकका शान्तिवार्ता भंग हुँदापनि माओवादीको हात माथिनै पार्न सफल भए उनी । फेरी शान्ति संझौता भयो । यो बेलापनि उनलाई मूलत निकै दूरदर्शी, एकदम बहादूरका रुपमा प्रस्तुत गरियो, भलै पार्टी संसदिय भासमा जान्छ कि भन्ने त्रास भने ब्यापक थियो । संविधान सभाको निर्वाचनको परिणाम, ठूलो रक्तपात बिनानै राजतन्त्रको बिघटन लगायतका मुद्दाले उनको साख बढाइ रह्यो । एशियाका तारासम्म भन्न भ्याए ।

कम्युनिस्ट पार्टीहरु फूटेको फुट्यै गरिरहेका बेला भुरे टाकुरे दलहरुलाई एकतामा उनेर जसरि उनले माओवादीलाई समुद्र जस्तो बनाए, त्यसमा पनि उनलाई दूरदर्शीनै मानियो । यद्दपी शान्ति वार्ता शुरु भएदेखि र शान्ति संझतापछि पार्टीमा आन्तरिक द्वन्दपनि तिब्र हुँदै नगएको होइन । माओवादी ब्रित्त बाहिर त उनलाई षडयन्त्रकारी, बोलीको ठेगान नभएको, भएका संझौता पालना नगर्ने धोकेबाज, तानाशाह लाद्न खोजेको भनेर आरोप लगाइन्छ । त्यो अनौठोपनि होइन । तर पार्टी भित्रै पनि उनलाई त्यसरि हेर्नेहरुको जमात बाक्लिँदै गएको छ । पार्टीलाई शान्ति संझौतामा ल्याउने डा बाबुराम भट्टराइको रोडम्यापलाइ आफू अनूकुल बनाउन सफल रहे । पार्टीमा बैद्द समूह बलियो देखेका बेला उनले भट्टराईलाई पाखा लगाउने र बैद्दलाई च्याप्ने गरिरहे । बैद्द र भट्टराइलाई टाढै राखेर पार्टी अध्यक्ष र प्रधानमन्त्री, जनसेनाको सर्बोच्च कमाण्डरसम्म हत्याउन सफल रहे ।

यता पालुङटार बैठक भयो । त्यसमा उनले अधिकांश कार्यकर्तामा पार्टी सुद्दिकरण र जनबिद्रोहको भावना देखे तब उनले बैद्दलाई काखि च्यापे । भट्टराईलाई अँचेटे । आम कार्यकर्ताका बिच बैद्दसित मिलेर जनबिद्रोहको लाइनमा सहमत भएर दस्ताबेज ल्याए, कार्यकर्ताका अगाडि क्रान्तिकारी देखिए, भटराईलाई सुधारवादी देखाउन सफल भए ।

अहिले ? शान्ति र संविधान बनाउनमै ध्यान दिनुपर्छ, तत्काल जनबिद्रोह गर्न सक्ने परिस्थिति छैन भन्दै त्यहि बाबुराम भट्टराइको ‘सुधारवादी’ लाइन समाते । उता बैद्दलाई धोका दिए । आफैंले ल्याप्चे हानेको जनबिद्रोहको लाइन त्यागेर आफैले असहमती गरेको भट्टराइको लाइन समाउँदापनि अहिले हाली मुहाली प्रचण्डकै छ । उनीनै पार्टीमा अत्यधिक बहुमत जुटाउन सफल देखिएका छन् । पालुङटार बैठकमा प्रचण्डसित आगो भएको भट्टराइ समूह आफ्नो लाइन प्रचण्डले टिपेर प्रस्तुत गर्दापनि दंगै छ । पालुङटार बैठकमा जसरि भट्टराइपक्ष आगो थियो अहिले क्रान्तिलाई धोका दिएको भन्दै बैद्द पक्ष आगो भएको छ । तर हिरो त जसरिपनि प्रचण्डनै देखिएका छन् ।

तर बाहिर जस्तो देखिँदै छ माओवादी पार्टीभित्र भने बहस र शंकाको घेरो, आरोप प्रत्यारोपको गर्जन निक्कै बढि छ । बैद्द र भट्टराई समूह दुबैले पिपलपाते भनिरहेका छन् प्रचण्डलाई । मौका पर्दा कहिले सर्लक्कै बैद्द पक्षतिर ढल्कने हावा लाग्दा पिपलको पात हल्लिएझैं त कहिले बाबुराम भट्टराइतिर । उनको आफ्नो कुनै अडान, स्पष्ठ बैचारिक लाइन, स्पष्ठ नीति नभएको तर एक अर्कालाई फुटाएर, जुधाएर, खेलाएर आफूले फाइदा लिन सक्ने, जता फाइदा हुन्छ त्यतै पिपलको पातसरी ढल्किने भनेर चर्चा गरिँदै छ ।

त्यतिमात्रै होइन, माओवादीभित्र जन सेनाको अधिकांश पक्ष जनबिद्रोहको पक्षमा रहेछ । त्यो मानसिकतामा रहेका जनसेना समेतले प्रचण्डलाई धोकेबाजका रुपमा प्रस्तुत गर्दै छन् । बैद्द पक्षले त सिधै भन्ने गरेका छन्, प्रचण्डले क्रान्तिलाई धोका दिए, जनयुद्दको अवमूल्यन गरे । देश र जनतामाथि ठूलो धोका दिँदै छन् । अरुलाई लडाएर, भिडाएर, फकाएर वा अनेक उपायले प्रचण्डले परिस्थितिलाई आफ्नो अनूकुल पार्न सक्छन् । अप्ठेरो परिस्थितिमा तत्कालै निर्णय गरेर कुनै न कुनै निकास दिनपनि सक्छन् । तरपनि उनको क्रियाकलाप र निर्णय हेर्दा, तत्कालै ९० डिग्रीमा मोडिन सक्ने उनको निर्णय हेर्दा उनीमाथि पार्टीभित्रैबाट लाग्ने गरेका ति आरोप फत्तुर नै हुन् भन्ने चाहिँ लाग्दैन । यो सबै हेर्दा उनी वास्तबमै कस्ता नेता हुन् त ? हक्की ? साहसी ? पिपलपाते वा धोकाबाज ?

तपाइँको प्रतिक्रिया