षडयन्त्रकारी ओलीका आँखामा जसो गर्दा’नी षडयन्त्र

फूलको आँखामा फूलै संसार । जो षडयन्त्रकारी छ उसले जहिले जतिखेरपनि षडयन्त्र मात्रै देख्छ । माओवादी शान्ति वार्तामा आउँदा यिनै ओली हुन् कुर्लिने यो माओवादीको षडयन्त्र हो भन्दै । शान्ति संझौता हुदाँपनि यीनै ओली हुन् यो षडयन्त्र हो सत्ता हत्याउने भन्दै भाँजो हाल्न खोज्ने । संविधान सभाको निर्वाचन भयो । माओवादी पहिलो दल बनेर देखायो । त्यो बेला पनि यीनै ओली गर्जिए- यो सब षडयन्त्र गरेर जितेको सिट हो भन्दै ।

माओवादीले पालुङटार बैठकबाट जनबिद्रोहको लाइन पास गर्‍यो । त्योबेला त झन् धरतीनै भासिने गरि सारा जगतलाई सुनाए ओलीले- देख्यौ माओवादी अहिले सम्म किन आएको रहेछ ? शान्ति संझौता षडयन्त्र रहेछ, आखिरमा अब  षडयन्त्र गरेरै सत्ता कब्जा गर्ने नीति पास गरे । अहिले आम नागरिक शान्ति र संविधान चाहन्छन् । माओवादी अध्यक्ष प्रचण्डले जनबिद्रोहको लाइनलाई पछि धकालेर शान्ति र संविधान बनाउने प्रस्ताव अगाडि सारे । तर यी ओली फेरीपनि षडयन्त्र हो भन्दै कुर्लिरहेका छन् ।

संविधान सभाको चाहना माओवादीकै प्रमुख माग हो । यहि माग पुरा हुन नसक्दा दुइ पटक वार्ता भंग भएका थिए । त्यसबिच देशमा थुप्रै रक्तपात चल्यो, सयौंको ज्यान गयो । अन्तत: यहि माग पुरा भएकाले माओवादीसित शान्ति संझौता भयो । संविधान सभाको निर्वाचन भयो । देशबाट राजतन्त्र बढारियो । त्यसैले स्थापित संविधान सभाको माया पक्कैपनि कम्ति छैन माओवादीलाई । आफ्नै माग र संविधान सभाको प्रमुख दल भएकाले यो जोगाउने प्रमुख दायित्वपनि उसैको हो ।

अहिले जनता शान्ति र गणतान्त्रिक संविधानका पक्षमा छन् । नत देशमा तत्कालै जनबिद्रोह वा अन्य कुनै बिद्रोहको नाममा जनता अर्को रक्तपातपूर्ण आन्दोलनमा जान तयार छन् । नत माओवादीले आफैंले जन्माएर, हुर्काउँदै ल्याएको संविधान सभा त्याग्ने अवस्था छ । किनभने उसले बुझेको छ- जनता रक्तपातपूर्ण बिद्रोहका पक्षमा छैनन् । यदि उ अहिलेको अवस्थाबाट हटेर हिँड्यो भने संविधान सभा बच्दैन । फेरी प्रतिगामीहरु स्थापित हुन सक्छन् । त्यसो हुनु भनेको पहिलो घाटा पनि माओवादीलाई नै हो । त्यसको प्रमुख जिम्मेवारपनि जनताले माओवादीनै ठान्ने छन् । त्यसैले जनताको चाहना अनुसारको संविधान बनाउन माओवादी संकल्पित भएर लाग्नु नै माओवादी पार्टी, राष्ट्र र जनताको पक्षमा छ ।

यहि बुझेर अन्तत माओवादी अध्यक्ष प्रचण्डले शान्ति र संविधानको प्रस्ताव अगाडि सारे । यो प्रस्ताव अत्यधिक बहुमतका आधारमा स्विकार्य हुने अवस्था छ । संविधान सभाको म्याद सक्किनै लाग्दा फेरी संविधान बन्दैन की, शान्ति भंग हुन्छन् कि भनेर कुहिरोको काग झैं भएका जनता रमाएका छन्। माओवादीलाई शान्ति र संविधानका पक्षमा गम्भिर देखिरहेका छन् अन्य दलका नेताहरुले । माओवादीको यो निर्णयले अब राजनितिक दलहरुमा शान्ति संविधानका लागि नयाँ सहमती हुन सक्ने भनेर हौसिएका छन् । तर एमालेको शक्तिशाली गूटको नेत्रित्व गर्ने भनिएका यी ओली ? यसलाई फेरी षडयन्त्र भनेर बिच्काउने, सहमतीकै  बाटो बन्द गर्ने अभिब्यक्ति दिइरहेका छन् ।

एक दशक लामो युद्दबाट आएको पार्टी र राष्ट्रिय भेलाले आम जन बिद्रोहको लाइन पास गर्दा गर्दैपनि अध्यक्षले त्यसलाई थाँती राखेर शान्ति र संविधानको प्रस्ताव ल्याउनु के यो राम्रो पक्ष होइन ? अहिले आम जनताले चाहेकोपनि यहि होइन ? माओवादी संविधान बनाउने पक्षमा गम्भिर भएन भन्ने शंका र गुनासालाई यसले निराकरण गर्दैन ? मुख्य दल र आम नागरिकको चाह्ना अनुसार प्रमुख दल शान्ति र संविधानकालागि अगाडि बढ्नु षडयन्त्र कि त्यसलाई षडयन्त्रकारी आँखाले हेर्ने ओलीका आँखा नै षडयन्त्रकरी ?

शान्ति र संविधानका पक्षमा बहस गर्नु । दलहरुबिच नयाँ सहमती खोज्नु । संविधानका बाँकी विषयहरुलाई सल्टाउनु । माओवादी अध्यक्षको नयाँ प्रस्तावमा उसलाई अझ जिम्मेवार बनाउनु । माओवादीलाई अझै शान्ति र संविधानका पक्षमा लाग्न उत्साहित पार्नु अहिले अन्य दलको दायित्व हो । तर ओलीले त्यसको आवश्यकता देखेका छैनन् । नयाँ संविधान बनाउनु ओलीको उद्देश्य होइन । दिर्घकालिन शान्तिपनि उनको ध्येय होइन । माओवादी नयाँ संविधान बनाउन लाग्यो भने दिर्घकालिन शान्ति हुन्छ । नयाँ संविधान बन्छ । नयाँ संविधानले देशमा नयाँ रेखा कोरिन्छन् । संभावना बोकेका, जनताले चाहेका नेता स्थापित हुन्छन् । निर्वाचनमा तिनै नेतालाई जनताले चुन्छन् । दशकौं देखि सत्ता र सरकारमा बसेर राज्य लूटेका, जनता चुसेका ओली जस्ताको नयाँ नेपालमा स्थान रहन्न । त्यसैले, जनता र पार्टी कार्यकर्तासमेत बाट तिरस्क्रित ओली जस्ता कोत्रिएका नेताको भलो देशमा संविधान नबन्नुमै छ । माओवादी फेरी खेदिनुमै छ । देश यथास्थितिमै रहनुमा छ । फेरी अशान्ति मच्चिनुमै छ । शान्ति र संविधानको माओवादी अध्यक्षको नयाँ प्रस्तावको त्रास यहि हो ओलीमा । उनले षडयन्त्र देख्नुको मुख्य कारणपनि यहि हो ।

सरकारको होस् कि प्रमुख दलको । हरेक निर्णयलाई षडयन्त्र बाहेक केहि देख्दैनन् ओलीका आँखाले । संविधान बनाउनकालागि गम्भिर भएन भनेर आरोप लगाउने । जब गम्भिररुपमा प्रस्तुत हुन्छ त्योबेला पनि षडयन्त्रनै देख्ने यी ओलीका दिमाख, आँखा, मन र मस्तिस्क पुरै षडयन्त्रकारी छन् । त्यसैले यी षडयन्त्र देख्छन् । षडयन्त्र पिउँछन् । षडयन्त्रलाइनै अँगालो हाल्छन् । षडयन्त्रकै सिरानी राख्छन् । षडयन्त्रसँगै उठबस हुन्छ । षडयन्त्र कसरी गर्ने भन्ने तानाबाना मात्रै यीनको दिमाखले बुनिरहन्छ ।

तपाइँको प्रतिक्रिया