एउटा मन्त्रीमा ज्यान फाल्नेले बनाउलान् त देश ?

माओवादीकै उपाध्यक्ष डा. बाबुराम भट्टराइले यदि प्रमुख तिन दलले आठ दश दिन भित्र सहमती नगरे देश ठूलो दूर्घटनामा फस्ने बताइरहेका छन् । तर उनैको पार्टी एउटा मन्त्री पदको लागि जात्रा देखाइरहेको छ । २०५२ सालमा एकताकेन्द्रसित फुटेर जनयुद्द गर्न एक दर्जन जति नेता निस्किँदा बरु तिनमा यति बिघ्न मतभेद थिएन । भएपनि बाहिर देखिएन ।

देखिएकै हो, सरकार आतंककारी कानुन लादेर टाउकाका मोल तोक्दापनि माओवादीका नेता टसको मस देखिएका थिएनन् । तर अहिले ? एउटा मन्त्री पदको लागि टाउकै छिनाउन तयार छन् । देश दूर्घटनातिरै जान लाग्दापनि ग्रिह मन्त्रि को हुने भन्ने ब्यक्ति विशेषकालागि उनीहरुले देशलाई बन्धक बनाइरहेका छन् ।

संसदबादी दल, संसदिय भास, संसदिय फोहोरी खेल जस्ता विशेषण झुण्ड्याएर माओवादीहरुले संसदिय परम्परा, संसदिय संस्क्रिति र संसदिय पार्टीहरुको खिल्ली उडाउँथे । उनीहरु आफूलाइ अरु संसदिय पार्टीले झैं सरकार र पदकालागि मरिनमेट्ने स्वच्छ दाबी गर्थे । तर अहिले देखियो, मन्त्री पदकालागि सबैभन्दा बढि मारमुंग्री माओवादीमै हुने रहेछ । मन्त्री पदका भोका माओवादी झन बढि रहेछन् भन्ने महिना दिनसम्म मन्त्री तोक्न नसक्नुले प्रस्ट पार्छ ।

सरकार मन्त्री बन्न, पार्टीको मत मतान्तर, तानातान, गाइजात्रा देखाउन बनेको होइन । संविधान सभाको निर्वाचन पछि बनेका सबै सरकारको प्रमुख जिम्मेवारी संविधान बनाउन केन्द्रित हुने थियो । तर कसैले त्यसमा ध्यान दिएन । बरु संविधान बनाउन भन्दै ओगटेका पदलाई उनीहरु पार्टीमा आफ्नो पक्ष बलियो बनाउने, कार्यकर्ता तान्ने, पार्टीमा बर्चस्व बढाउने, एउटाले शक्तिको आडमा अर्कोलाई खुइल्याउने काममै प्रयोग गरे । जतिसुकै संसदिय भास भनेपनि अहिले माओवादीले त्यहि गरिरहेको छ । ग्रिह लगायत ११ मन्त्री छान्न दर्जनौं पटक बैठक बस्दा, सयौं पटक कसरत गर्दापनि नसक्नुको कारण त्यहि हो । मुखले जे सुनै भनेपनि मन्त्री पद अहिले माओवादीमा शक्ति तानतान र प्रतिष्ठाको विषय बनिरहेको छ ।

देश र जनता, राष्ट्रियता, राष्ट्रिय अखण्डता, आर्थिक सम्पन्नता भन्दै माओवादीले त्यत्रो युद्द लडे । हजारौंको ज्यान गयो । मुखले अहिलेपनि हामी संविधान बनाउन प्रतिबद्द छौं त भन्छन् । तर ब्यवहारले त्यो देखाउँदैन । नाथे ग्रिह मन्त्री आफ्नै पार्टीको देव गुरुङ बनोस् कि वर्षमान पुन । क्रिष्ण बहादुर महरा बनुन् कि अर्को । के फरक पर्छ ? पार्टीको निति र निर्देशन अनुसार चल्नु पर्ने हो भने किन यत्रो बिबाद ? लाग्छ, माओवादी पार्टीमा बैद्द र प्रचण्डको लागि सर्वस्वनै ग्रिहमन्त्री पद हो । आफ्नो समर्थकलाई ग्रिह मन्त्री बनाउन सके पार्टीमा कब्जा जमाउन सकिन्छ, नसके उठिबास लाग्छ ।

तर जनताका लागि के नै फरक पर्छ जो सुकै ग्रिहमन्त्री होस् ? हिजो एमाले नेत्रित्वको सरकार हुनु र अहिले जनतामा के फरक छ ? हिजो भिम रावल ग्रिह हुँदा र अहिले के भिन्नता छ । हिजो नेपाली कांग्रेस र एमाले सरकार हुनु र आज माओवादी सामेल सरकार हुनुमा जनतालाई के फरक परेको छ ? के पाएका छन् र अहिले सर्वहाराको सरकारबाट ? अब ग्रिहमन्त्री पुन होउन् कि देव गुरुङनै त्यसले के फरक पार्छ जनतालाई ? न हिजो जनताको जिउ धनको सुरक्षा थियो न आज छ । आफ्नै मन्त्रीको सुरक्षा गर्न नसक्ने सरकारले देव गुरुङ वा वर्षमान पुन मध्ये कोहि ग्रिहमन्त्री हुँदैमा के सारा जनताको सुरक्षा होला ? आफ्नै पार्टीभित्रका बरिष्ठ ब्यक्तित्वबिचमै मारमुंग्री गर्नेले जनताको लागि केहि गर्लान् ? दुई महिनासम्म सरकारमा जानेकै नाम दिन नसकेर मारमुंग्री गर्नेले जनताका पक्षमा केहि गर्लान् भनेर कसरि आशा गर्न सकिन्छ र ?

तपाइँको प्रतिक्रिया