गगन होउन् कि, नरहरी र बाबुराम, कसैले छोडेन राज्यको ढुकुटी
डा बाबुराम भट्टराई गत संविधान सभाको निर्वाचनमा सबैभन्दा बढि मत ल्याएर जितेका । जनताले सबैभन्दा रुचाइएका भन्नु पर्यो । गगन थापा युवा नेताहरु मध्ये लोकप्रिय । नेपाली कांग्रेसभित्र ठूलो संभावना बोकेका मानिन्छन् उनी । कांग्रेसका नरहरी आचार्य त थिंक ट्याङ्क अर्थात् बैचारिक भण्डारनै भैहाले । ब्यक्तिगत रुपमा मपनि उनको अति प्रशंसक हुँ । नेपाली कांग्रेसले गणतन्त्रको लाइन समात्नु उनको बैचारिक लडाइँको प्रतिफल हो । एमालेमा प्रधानमन्त्री झलनाथ खनाल, प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारी लगायतका केहिको छवी स्वच्छ मानिन्छ । तर के गर्नु जतिसुकै स्वच्छ, हिमालको मुल जस्तै कञ्चन मानेपनि देशको ढुकुटी खर्च गर्न पाउँदा भने कसैले अस्विकार नगर्ने रहेछ । गगन थापादेखि नरहरी आचार्य, बाबुराम भट्टराइदेखि झलनाथ खनाल, रवीन्द्र अधिकारी र प्रदीप ज्ञवाली सबैले राष्ट्रिय ढुकुटी भने भटाभट लिए ।
पारिश्रमिक भन्दै तिनले महिनाकै ३२ हजार १ सय १२, स्वकिय सचिव राख्न १३ हजार ९ सय ९० लगायत आवास, फोन, धारापानी, मसलन्द, पत्रपत्रीकाको नाममा ५७ हजार १ सय ४८ रुपियाँ लिने रहेछन् । त्यति लिँदापनि बैठकमा आए बापत २ सय भत्ता, १५० रुपियाँ ट्याक्सी खर्च । यो बाहेक एनजिओका कार्यक्रम र बिदेश भ्रमण, जिल्ला भ्रमण उस्तै ।
कति लाज शर्म हराएका नेता हाम्रा ? पारिश्रमिक भनेको के हो ? परिश्रम गरेको फल होइन ? तर बैठकै नबसेपनि तिनले पारिश्रमिक भन्दै राज्यकोषबाट लिन छोडेनन् । एकातिर ति एकजिओका कार्यक्रममा गए । तिसित भत्ता लिए, गाडी भाडा लिए । उतैको खाए, पिए, न्रित्य गरे । गाना बजाना छोडेनन् । अर्कोतिर संसद सचिवालयबाटपनि तिनले त्यो समयको भत्ता बुझिरहे । राम्रो संविधान बनाउने अनुभव लिन भन्दै सबै पार्टीका दर्जनौ सभासद बिदेश गए । त्यो बेलाकोपनि पारिश्रमिक लिए । बिदेश घुम्न, एनजिओको कार्यक्रममा सहभागि हुँदापनि के संविधान सभाको लागि परिश्रम गरेको मान्ने ? जनता खाने पानी र एक मुठी चामल नपाएर छ्ट्पटिएका छन् । तर नेता भने बिना परिश्रम पारिश्रमिक लिन्छन् ।
संविधान सभाको मुख्य काम संविधान बनाउने थियो । संविधान बन्दैन भन्ने तिनलाई गत वर्षको जेठमै थाह थियो । किनभने कांग्रेस, माओवादी र मधेशी दल सबै आआफ्नो स्वार्थ अनूकुल संविधान बनाउन चाहन्थे । त्यो नहुँदा बरु संविधान नै बन्न नदिने वातावरण बनाउने मनशायमा थिए । जुन काम गर्न भनेर तिनले भत्ता र अनेक शिर्षकमा राज्य कोषबाट रकम लिने गरेका हुन्, त्यो काम नगरेपछि के तिनले रकम लिन सुहाउँछ ?
चोर, डाँका, फटाहा, देशमारा, भ्रष्टाचारी, जनता चुसाहाको त के कुरा गर्ने ? कम्तिमा आम जनताले आशा गरेका र स्वच्छ मानिएका बाबुराम भट्टराई, गगन थापा, प्रदीप ज्ञवाली, गुरुराज घिमिरे, रवीन्द्र अधिकारी, नरहरी आचार्यलगायत स्वच्छ मानिने, चिन्तनशिल, सोझा, राष्ट्रप्रति ईमान्दारहरुले त अस्विकार गर्न सक्नु पर्दैन ? कम्तिमा जनताका अगाडि माफी माग्नु पर्दैन ? कि त्यसको औचित्यबारे प्रस्ट्याउनु त पर्छ । तर कुनै बहादुर निस्किएन । के गर्नु जतिसुकै स्वच्छ र सफा भनेपनि राष्ट्रिय ढुकुटी मिलाएर खान पाउँदा चाहिँ कुनैपनि नेताले अस्विकार नगर्ने रहेछ ।




