चिनमा भए सिधै मृत्युदण्ड

हाम्रो देश कति स्वर्ग हेर्नुस् त भ्रष्टाचारीका लागि । नक्कली बिल देखाएर देशको राजस्व छल्ने र सरकारसित उल्टै भ्याटसमेत फिर्ता लिएर देशलाइ २ अर्ब भन्दा बढि घाटा पुर्‍याउने देशमारा भरतमोहन अधिकारी ठाँट पल्टेर हिँडिरहेका छन् । हिजो संसद बैठकमा लाजै नमानी उनको तस्करी अनुहार लिएर प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन खोज्दै थिए । अनेक नाममा जाली बिल बनाएर कर छलेकाबाट २ अर्ब ५० करोड रुपैयाँ राजस्व तिराउने निर्णय भएको थियो । त्यसमा लौ व्याज र जरिवाना मिनाहा दिएपनि करिब १ अर्ब २५ करोड रुपैयाँ राजस्व चोख्खो राष्ट्रको ढुकुटीमा आउने रहेछ । तर उनले रातारात करोडौं घूस खाएर र भ्रष्टाचार गरेर चोर ब्यापारीलाई सफाइ दिन खोजे ।

देशको यत्रो रकम डुबाएर काला ब्यपारी, तस्कर, देशमाराहरुको राज्य फैलाउन उनले जुन कुकर्म गरे नैतिकता हुन्थ्यो भने तुरुन्त राजिनामा दिनुपर्थ्यो । प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्ने हो । उनलाई तत्कालै बर्खास्त गरिनुपर्थ्यो । यस्तै घटना चिनमा भएको भए ? सिधै मृत्युदण्डको भागिदार हुन्थे भरतमोहन अधिकारी । उनलाई राज्यमाथि अपराध गरेको कसुरमा सिधा झुण्ड्याएर मारिन्थ्यो । उनी एक राष्ट्रघाती अपराधीका रुपमा गनिन्थे । चिनमा यस्ता भ्रष्टहरुलाई भकाभक मृत्युदण्ड दिइन्छ । राष्ट्रिय सम्पत्ती चुसेर पुस्तौं पुस्ताकालागि थुपार्ने, ब्यक्ति धनी बनेर देश कंगाल पार्नेहरुलाई त्यसरि ज्यानलिनेसम्मकै सजाएँ दिइन्छ र पो भ्रष्टाचार गर्न डराउँछन् सरकारी ओहदामा बस्नेहरु ।

तर हाम्रो देश भ्रष्टाचारीकालागि स्वर्ग न पर्‍यो । यहाँ भ्रष्टाचारीहरु पुजिन्छन् । काला बजारीयाहरु सम्मानित हुन्छन् । कर र भ्याट छलेर कालो धन्दा गर्नेको प्रशंसा हुन्छ । सरकार देश लुट्ने लुटेराहरुको संरक्षणमा खटेर गरिव निमुखाहरुको छाला काढ्छ । ज्यानमारा, गुण्डा, अपराधीहरु पार्टीमा भित्र्याएर सोझासाझा, राष्ट्रिय चिन्तन बोकेकाहरुलाई घोक्रेठ्याक लगाइन्छ । गरिब मारिन्छन्, भ्रष्टहरुको हित हेरिन्छ । राष्ट्रहित हेर्नेहरु पाखा लगाइन्छन् । अधिकारी जस्ता लुटेरा, भ्रष्टहरु सरकारमा पुग्छन् । जनतालाई सास्ती दिएर कार्यकर्ता पोसिन्छ ।

तैपनि हाम्रा नेताहरु भाषणमा निकै कुर्लन्छन्, “हामीले छिमेकी देशको आर्थिक विकास, थिति र उन्नतीबाट” सिक्नुपर्छ भन्दै । खै त यीनले सिकेको छिमेकबाट ? भारतमै राष्ट्रको यत्रो आर्थिक अनियमितता र भ्रष्टाचारमा मुछिएको हुन्थ्यो कुनै बहालवाला मन्त्री भने त्यसले निकै ठूलो हंगामा मच्चाउँथ्यो । उसले तुरुन्त राजिनामा दिन्थ्यो । आनाकानी गरे संवन्धित पार्टीले तुरुन्तै हटाउँथ्यो । प्रधानमन्त्री जिम्मेवार बन्थे ।

तर नेपालमा ? प्रतिपक्षी नेपाली कांग्रेसलाई केहि मात्रामा बाहेक खासै कसैलाई पोलेको देखिन्न । संसद बैठक बोलाएर प्रधानमन्त्री स्कूल उद्घाटन गर्न पुगे । चितवनका चराको चिरविर सुन्न हान्निए । गैंडाको भागभाग र हातीको लस्काइ हेर्न जति आतुर उनी संसदको बैठकमा भएनन् । पर्यटकिय होटेलको बिदेशी खानाले तान्यो । पार्टीको भात्रि संगठन जस्तो पत्रकार संगठनको भेला उद्घाटन गर्न हतारो भयो । अर्कोतिर उनको पार्टी चुँक्कसम्म बोलेको छैन । लाग्छ, एमाले नामको सुकुम्बासी, श्रमिक, गरिव र बिपन्न जनताको हितगर्न भनेर हँसिया र हथौडाको झण्डा बनाएर बसेको पार्टीलाई यसमा कुनै चासो छैन । किनभने भोली अर्को सरकारमा गयो भनेपनि त्यसैगरि राज्य डुबाउनु छ । देश लुट्नु छ । भ्रष्टहरुलाई काँधमा बोकेर रातारात खरबपती बन्नु छ । देशलाई आर्थिकरुपमा टाट पल्टाएर भिरबाट गुल्ट्याइदिनु छ । त्यसले न त एमालेलाई सरकार बनाउन काँधमा बोकेको प्रमुख दल माओवादीलाई नै छोएको छ ।

संसदको प्रमुख दल हो उ । सबैभन्दा ठूलो जिम्मेवारी माओवादीकै हो सरकारका राम्रा नराम्रा कामको आलोचना र बिरोध गर्ने । आफैं सरकारमा संलग्न भएकोले झन उ सरकारका काम कारवाहीबाट कुनै हालतमा पन्छिन पाउँदैन । तर जुन पार्टीले त्यसको जिम्मेवारी महसुस गर्छ उसले मात्रै त्यसरि सोच्ने न हो । माओवादीको कुनै प्रतिक्रिया नदेख्दा उपनि दुधको साक्षी बिरालो बनेझैं देखिएको छ । क्रेनले तानी तानी एमालेलाई सरकारमा पुर्‍याउनेले उ बाट गरेका अपराधको जिम्मेवारीपनि लिनुपर्ने हो कि होइन ?

तपाइँको प्रतिक्रिया