आफ्नो ज्यानमाथि खतरा भन्दै प्रचण्ड आगो
बेलाबेला आफ्नो रूप फेरिरहने माओवादी अध्यक्ष प्रचण्डभित्र शुक्रबार अनौठो खालको परिवर्तन देखियो । बाहिर–बाहिर जेठ १४ भित्रै संविधान जारी हुन्छ र शान्तिप्रक्रियाले पनि पूर्णता पाउँछ भन्ने प्रचार गरिरहेका प्रचण्डले त्यसदिन काठमाडौंको एक भव्य होटलभित्र यसो भने, ‘हामीलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उभ्याउने षड्यन्त्र भैरहेको छ, हामीमाथि दोहोरो सुरक्षा खतरा छ । दलित, उत्पीडित र अपहेलित समुदायको मुद्दा हामीले उठाएको हो, हतियार उठाएको पनि त्यही कारणले हो तर तिनको हकमा अहिलेसम्म केही भएको छैन । यी सब कुरा नटुंगिइकन हतियार कसरी बुझाउन सकिन्छ ?’
शुक्रबार बेलुका होटल बैशालीमा डा. बाबुराम भट्टराईबाहेकका माओवादी नेताहरू उपस्थित थिए । स्रोतका अनुसार, माओवादी–कांग्रेसबीचको वार्ता बेलुका ४ बजेदेखि साढे ७ बजेसम्म लगभग साढे ३ घन्टा चलेको थियो । तर, वार्ता सकारात्मक हुन सकेन ।
प्रचण्डले आफूहरूमाथि षड्यन्त्र भइरहेको र सुरक्षा खतरा रहेको भन्दै हतियार र सेना समायोजन किन गर्ने भन्ने प्रश्न राखेपछि कांग्रेस नेताले दिएको जवाफचाहि“ यस्तो थियो– ‘‘तपाईहरूले पहिले संविधान सभामात्रै कांग्रेसले मानोस्, हामी हतियारको राजनीति त्याग्छौं भन्नुभो, हामीले संविधानसभा मान्यौं । त्यसपछि राजतन्त्र हटाउने कुरा मात्रै मान्नोस्, हामी शान्तिपूर्ण राजनीतिमा आउँछौं भन्नुभो, हामीले आफ्नो विधानबाट संवैधानिक राजतन्त्र हटायौं । त्यसपछि गणतन्त्र कार्यान्वयन गरौं भन्नुभो, ‘हामीले त्यो पनि मान्यौं । यसरी तपाइहरूले भनेका सबै कुरा मान्दै आयौं तर अहिले पछिल्लो बार्गेनिङका रूपमा हतियार र सेना बुझाइन्न भनिरहनुभएको छ, तपाईहरूले के गर्न खोजेको ? कहाँ लान खोजेको ?’’
कांग्रेस नेताहरू पनि वार्तामा माओवादी अध्यक्ष प्रचण्डजस्तै कडा रूपमा प्रस्तुत भएका थिए । ‘‘तपाईहरू असुरक्षित कि हामी ? राज्यसत्ता तपाईहरूसित छ, काट्ने, मार्ने टोली पनि तपाईहरूसितै छ, भरतपुर क्यान्सर अस्पतालमा जस्तै कानूनबमोजिम नियुक्ति पाएकालाई कार्यान्वयन गर्न नदिने क्षमता तपाईहरूसित छ । को असुरिक्षत छ ? को खतरामा छ ? हामीले अब कसरी राजनीति गर्ने ?’’
माओवादी नेताहरू पनि के कम ? उनीहरूले आफ्नो वर्गीय चिन्तन प्रकट गरिहाले– ‘‘तपाईहरू अर्कै वर्गको हो । हामी पीडित, उपेक्षित, उत्पीडित वर्गका हौं ।’’ माओवादीको भनाइमाथि कांग्रेस नेताको प्रतिक्रिया आयो–‘‘तपाईहरू समाजवादी हो कि नयाँ किसिमको जमिन्दार ? एकपछि अर्का बहाना थप्दै जान थालेपछि हामी कसरी तपार्इंहरूप्रति विश्वस्त र सुरक्षित हुन सक्छौं ?’’
कांग्रेस नेताहरूको जवाफ बनिबनाऊ थियो–‘‘हामी हिजो राणाहरूसित लड्यौं । राजाको तानाशाही कदमविरुद्ध पनि सत्याग्रहका नाममा विनाबन्दुक लड्यौं । अब पनि लोकतन्त्रका पक्षमा शान्तिपूर्वक लड्छौं । तपाईहरूलाई चाहिँ सुरक्षाका लागि अझै बन्दूक नै चाहिने ?’’ माओवादी नेताको जवाफ पनि त्यस्तै कडा थियो– ‘‘हामी सकिए पनि, मेटिए पनि हामीले दिएको विचार फैलिन्छ, त्यो मेटिनेवाला छैन । त्यो विचार फैलिँदाको परिणाम के हुन्छ, तपाईहरूलाई थाहा छ ?’’
‘‘भारतले हामीप्रति कस्तो व्यवहार गर्दैछ, त्यो सबैलाई थाहा छ, उसको योजना भनेको हामीलाई सिध्याउने नै हो, त्यसैले ऊ पहिले लडाकू समायोजन अनि मात्र संविधान भन्दै छ ।’’– प्रचण्डले भने– ‘‘तपाईंहरू र राष्ट्रपतिपनि आजकल जोडतोडले यही कुरा भन्दै हुनुहुन्छ, किन यसो भनिँदै छ ? यो हामीलाई राम्रोसित थाहा छ । यो सबै हामीलाई सिध्याउने खेल हो । त्यसैले जनताको पक्षमा संविधान बन्ने ग्यारेन्टी नभएसम्म सेना समायोजन हुने र क्यान्टोनमेन्ट खाली हुने कुरा तपाईंहरूले नसोच्नुभए हुन्छ । ’’
प्रचण्डले कब्जा सम्पत्तिका बारेमा पनि जवाफ दिए– ‘‘तपाईहरू कब्जा सम्पत्ति फिर्ता गर्नुपर्यो भन्नुहन्छ, कति त हामीले फिर्ता गरेका पनि छौं । तर, यो कुरा भूमि नीतिसितपनि सम्बन्धित छ । त्यसैले नयाँ संविधान बनेर नयाँ भूमिसुधार नीति नआएसम्म बाँकी घरजग्गा फिर्ता हुन्छ भन्ने आशा नराखे हुन्छ ।’’
कांग्रेस– माओवादी वार्तामा राज्य पुनर्संरचनाको विषयमा पनि कुरा नउठेको चाहिँ होइन । संविधानका अन्तरवस्तुका बारेमापनि छलफल गर्ने प्रयास भएतापनि हुन सकेन । माओवादीले मधेसवादीले राज्य पुनर्संरचना आयोगलाई मान्छौं भनेमात्रै आफूहरूले मान्ने तर्क गरेका थिए । पहिले मधेसीले बिगारे, दिल्ली गएर आएपछि खतरा भयो भन्ने माओवादी नेताले शुक्रबार भने मधेसीको पक्षमा आफूलाई उभ्याएको बैठकमा सहभागी एक कांग्रेस नेताले जनआस्थालाई बताए ।
(आज बुधबारको जनआस्था साप्ताहिकबाट)




