सम्पदाहरुको संरक्षण छैन नेतै पिच्छे सालिक ?
भारतको ताजमहल र पाल्पाको रानी महलको कथा उस्तै छ । नदी, वन, दुई नदीको संगम, उत्तरतिर देखिने हिमाली स्रिङ्खलालाई साथमा राखेर बसेको रानी महल ताज महल भन्दा अझ आकर्षक स्थानमा छ । तर ताज महलमा दिनकै हजारौं पर्यटकको भिड लाग्छ । लाखौं रुपियाँ कमाउँछ त्यसले । हजारौंलाई रोजीरोटी दिएको छ । तर उस्तै कथा र कहानी बोकेको हाम्रो रानी महल ? ढल्ने अवस्थामा छ । कारण ? यस्तै शालिक संस्क्रितिले ।
बडा अचम्मको छ हाम्रो पारा । गज्जबको छ हाम्रो सोच । हाम्रा नेता कति सम्म स्वाँठ, नितिहिन, स्वार्थी, चाकरीबाज, अदूरदर्शी छन् भने भएकालाई जोगाउनु छैन । कुनै नेताको म्रित्यु भयो कि त्यसको नाममा कोष खोल्ने । सामाजिक र सांस्क्रितिक महत्व बोकेका बाटा घाटाको नाम बदलेर नेताको नाममा बनाइहाल्ने । कि तुरुन्तै शालिक बनाएर कंक्रिटको जंगल फैलाउने । स्वं गिरिजाप्रसाद कोइरालाको वार्षीकिमा त्यसैगरि गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृती शान्ति प्रतिष्ठानले काठमाडौं शंखपार्कमा शालिक शिलन्यास गर्न खोजे । तर जनताले लाठि उठाए । मुड्कि बजारे । र दिएनन् (सँगैको तस्विर) । गज्जब गरे, साह्रै उदाहरणिय काम गरे । पाठ सिकाए ।
नेपालमा यति धेरै हाम्रा सांस्क्रितिक र प्राक्रितिक धरोहरहरु छन् तिनको संरक्षण गर्न अति ढिलो भैसकेको छ । पाल्पाको रानी महल, नुवाकोटको दरवार त यि समान्य उदाहरण मात्रै हुन् । काठमाडौंमैपनि यति धेरै संपदा छन् तिनको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन । यस्ता धरोहरहरु देशैभरि संरक्षणको पर्खाइमा छन् । छैन त्यसमा कसैको ध्यान । यस अघि बनाइएका शालिकहरु काठमाडौंमै संरक्षित छैनन् । फेरी किन बनाउने नेतै पिच्छे शालिक ?
काठमाडौं शहर यसैपनि घरैघर, शालिक र मन्दिरहरुले ढाकिसकेको छ । खालि जमिन देख्नै मुस्किल छ । यस्तो कुरुप राजधानी शहरमा फेरि शालिक थप्नुको उपदेयता के ? कसैको शालिक बनाउँदैमा उप्रति सम्मान र न्याय गरेको लाग्न सक्छ । तर त्यो भ्रम र मतिहिन सोच बाहेक केहि होइन । महान ब्यक्तिको सम्मान उसका बारेमा, उसले गरेका कामका बारेमा लेखेर, जनतालाई जानकारी दिएर गर्न सकिन्छ । शालिक बनाउन लायक ब्यक्तिको नाममा दुखिहरुको सेवा, असहायहरुलाई सहयोग, निरक्षरहरुलाई शिक्षा, रोगीलाई औषधी, काख खोजेका वालवालिकालाई सुन्दर भविष्य दिएर समाज परिवर्तन गर्न सके पो उच्च मूल्यांकन हुन्छ । आदर र सम्मानयोग्य मानिन्छ । पूजिन्छ त्यस्तो काम ।
(जिर्ण अवस्थामा पाल्पाको रानी महल । संग्रहालय र शालिक बनाउने पैसो र चासोले यसको संरक्षण गरिदिए कति जाति हुन्थ्यो ?
गिरिजाप्रसाद कोइरालाको नाममा शालिक बनाउने पैसाले दुई जना वालकलाई शिक्षा दिन सक्ने हो भने कति महत्व रहन्छ ? क्रिष्णप्रसाद भट्टराइको नाममा संग्रहालय खोल्नुभन्दा भैरहेको सुन्दरीजलस्थित बीपी मेमोरियल संग्राहलयलाईनै संरक्षण गर्नसके त्यो क्षेत्र र त्यस संग्रहालयको सदुपयोग हुन्थ्यो । उचित प्रचारप्रसार, अर्थ र मेहनतको अभावमा अहिले त्यो उपयोगहिन जस्तै छ । नेपाली कांग्रेसको सिद्दान्तनै बिपीले पारित गरेको भन्छन् । महामानव भन्छन् । तर उनैको नाममा खोलिएको संग्रहालय लथालिंग छ । फेरी गिरिजा कोइरालाको शालिक ?
के बितेर जाने नेतै पिच्छे शालिक, संग्रहालय, तिनका नाममा स्कूल, बाटो घाटोको नाम फेर्दै जान संभव हुन्छ ? हरेक पार्टीका नेतै पिच्छे शालिक । संग्रहालय, अध्ययन केन्द्र, कोष भन्दै सार्वजनिक जमिन हडप्दै गए के हुन्छ अवस्था ?
केन्द्रमा मुख्य राजनितिक दलका केन्द्रिय नेता वा पार्टीले भाग बण्डा गरे झैं नेतै पिच्छे शालिक बनाउने । जिल्लामा फेरी जिल्लास्तरका नेताका शालिक ठड्याउने । कालगतीले मरेकालाईपनि शहिद भन्दै स्वागतद्वार बनाउने, शालिक उभ्याइहाल्ने । यसो गर्दै गएर देशभरि सालिकै सालिक र गाउँ पिच्छेनै स्वागतद्वार बनाउने ? के देश राजनितिक दलका नेताको मात्रै पेवा हो र ? सालिक जसको बनाउने हो त्यो ब्यक्ति आम जनताको मनमा बसेको, सबैलाई स्विकार्य र प्रिय हुनुपर्छ कि पर्दैन ? कुनै पार्टीका अन्धभक्त, झोले समर्थक, चाकरीबाझ र नेताका कारिन्दाले निर्णय गरेकै भरमा राष्ट्रिय सम्पत्ती मनपरी अतिक्रमण ?
गिरिजाप्रसाद कोइराला नेताकै रुपमापनि गणेशमान झैं सर्वमान्य भन्न लायकका होइनन् । शान्ति संझौतापछिका उनका भूमिका उदाहरणिय भएपनि उनी भ्रष्टाचार लगायत अनेक अप्राजतान्त्रिक दुस्कर्मका मूल हुन् । लामो समय सत्तामा बसेरपनि उनले देशलाई साँच्चै गति दिन सकेका होइनन् । त्यसैले सार्वजनिक पार्कमा उनको शालिक निर्माण तर्क संगत थिएन ।
कोइरालाको विषयमा मात्रै होइन, कुनैपनि पार्टीलाई लहड चलेकै भरमा त्यो स्विकार्य हुन सक्दैन । शालिक बनाएर भक्ति गर्न लायकको राजनेता जन्मियोस् न । राजधानीमा एउटा शालिक किन ? मन मनमा, आत्म आत्ममा, हरेक धड्कनमा सालिक बनाउँछन् नेपालीहरुले । राजधानीमा मात्रै किन त्यस्तो महान, राजनेता जन्मिए आँगनमा मोठ झैं त्यस्तो नेताको सालिक घरैपिच्छे बनाउने छन् ।
जतिसुकै महान भनिएपनि खै त देशलाई गतिलो दिशा दिन सक्ने नेता जन्मिएको ? २०४७ सालपछिको यत्रो कालमा देश झन पछाडि पर्यो । झन दूर्वल बन्यो । झन पराधिन बन्यो । शालिक बनाएर जयजयकार गर्न लायकको के काम गरे नेताले ? जनताको ह्रिदयमा बस्ने, देशलाई सबल र सक्षम बनाउने, सहि राजनिति दिशा दिने, देशलाई सक्षम राष्ट्र बनाउने कुनै नेता जन्मिएको भए पो शालिक बनाएर पुज्ने ।
शंखमूलवासीले गिरिजाप्रसाद कोइरालाको शालिक बनाउन नदिएर राम्रो गरे । नेता, राजनितिक दल र पार्टीका चाकरीबाजभन्दा स्थानिय जनता बढि बुझक्कि र सचेत रहेछन् । देशका सबै ठाउँमा स्थानिय जनताले यस्तै खालको बिरोध गर्नुपर्छ । राजधानीमा मात्रै होइन देशको कुनैपनि भागमा, कुनैपनि नेताको मनलागि शालिक, संग्रहालय र कोषका नाममा राष्ट्रिय संपत्तीको दूरुपयोग गर्न दिनुहुन्न । स्थानिय तहबाटै त्यसको प्रतिरोध गरिनुपर्छ ।
(पहिलो तस्विर: अनलाइन खबर, दोस्रो नेटबाट तानिएको हो)





