नेपालबिरुद्द भारतमा मोर्चा कसिँदै, प्रमुख दल चुपचाप
नेपालमा संविधान बन्ला, स्थायित्व होला, शान्ति संझौताले पूर्ण रुप लेला भन्नेमा भारतलाई जति चिन्ता छ त्यो भन्दा बढि चिन्ता नेपाली नामका हाम्रै दलाल नेतालाई छ । नेपाली जनताले चाहे जस्तो संविधान बन्यो भने तिनको लूट टिक्दैन। प्रजातन्त्रको थोत्रो ढ्वाङ देखाएर सधैं जनतामाथि राज गर्न पाइन्न । देशमा शान्ति भो भने हातहतियारको ब्यापारमाथि भोटे ताल्चा ठोकिन्छ ।
त्यसैले कुनैपनि हालतमा संसद भंग गराउनु छ । संबिधान बन्न नदिनु छ । मारपिट मच्चाउनु छ । अशान्ति मच्चाएर, भाँडभैलो गरेर नेपाललाई खत्तम पार्न कसिएका छन् मधेशी जनताको आँखामा धुलो छर्न बनेका मधेशी दल । त्यसैमा थपिएका छन् अपराधी पूर्व राजा ज्ञानेन्द्र । घुसखोर, जनतामारा सूर्य बहादुर थापा यहि बेला भारतलाई जुरुक्क उचालेर फर्किएका छन् । तर अचम्म, यस्तो चलखेल हुँदापनि किन प्रमुख दलहरु चुपचाप बसेका हुन् ?
पहिले पहिले त यी दलालहरुले अलि साटाक सुटुक्क भेट्न जान्थे । नेपालको लोकतान्त्रिक बिधी र राष्ट्रियता बिरुद्द हाकै बोल्न डराउँथे । तर अहिले त साँच्चै यीनले हाकाहाकी प्रजातान्त्रिक मोर्चा बनाउन, संविधान अहिले नबने नयाँ निर्वाचन गर्न दबाब देउ भनेर भारतीय नेतासित सहयोग माग्यौं भनेर हाकाहाकी बताउँदै हिँडेका छन् ।
गच्छदारले नेपाल र नेपालीलाई चुनौति दिँदै नेपालको आन्तरिक मामिलामा बिदेशीलाई गुहारेको सिधै बताए- हामीले लोकतान्त्रिक संविधान निर्माणमा भारतको सहयोग मागका छौं ।’एमाले र माओवादीको सरकार बन्नासाथ त्यसलाई भाँड्न लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्ने भन्दै वृहत लोकतान्त्रिक मोर्चा निर्माण गर्न सहयोग गरिदेउ, नेपाली कांग्रेसलाई फकाइदेउ, दबाब देउ भन्दै हारगुहार गरेर ति फर्किएका छन् ।
उता गुमेको हुकुमी शासन फेरी फर्काउन सकिन्छ कि भन्दै पूर्व राजा ज्ञानेन्द्र भारतीय नेताका द्वार चहारिरहेका छन् । देशघाती काम गर्दै छु, राष्ट्रिय हित बिरुद्द बिदेशीलाई गुहार्दै छु भन्ने हेक्का भएरै होला उनी सधैं पारिवारिक भेटघाट, पूजापाठ र बिहेको निम्तोको निहुँमा जाने गरेका छन् । तर धार्मिक परिवारिक जमघट भन्दा भारतीय नेताका ढोका चहार्ने र लगौंटीमा झुण्डिने गरिरहेछन् उनी ।
उता तिनलाई एक ठाउँ बनाउने, सकेसम्म लोकतान्त्रिक उपलब्धि ध्वस्त पार्न कस्सिएका मधेशी दल र नेपाली कांग्रेसलाई एक ठाउँ ल्याएर फेरी प्रतिगमनलाई स्थापित गराउन सक्रिय छन् सूर्य बहादुर थापा । नेपालको भन्दा सधैं भारतीय हित र चाकरीमा रमाउने थापा लोकतान्त्रिक शक्ति निर्मणका नाममा नेपाली कांग्रेसलाई ल्याउन पाए गुमेको हुकुमी शासन फिर्ता ल्याउन सकिन्छ कि भन्ने ध्याउन्नमा छन् ।
स्पष्ठ देखिन्छ, अहिलेको प्रजातान्त्रिक अधिकार स्थापित गरेका नेपाली कांग्रेस, एमाले र माओवादी जति टाढिँदै गएका छन् उति जनताका वैरीहरु हौसिएका छन् । प्रमुख तिन दल एकापसमा मिल्न नसक्दा गैर प्रजातान्त्रिक शक्ति, राष्ट्रघाती नेताको गठजोड बाक्लिएको छ । तिनले प्रजातान्त्रिक शक्तिहरु एकापसमा टाढिएको मौका उठाएर भारतलाई उचालिरहेका छन् ।
तर अचम्म, मधेशी नामका ति राष्ट्रघातीहरु हाकाहाकी नेपालको मामिलामा भारतीय नेतासित गएर गुहार्दा, आफ्नै देश बिरुद्द उभिँदा प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी चुप्प बसेको देखिन्छ । उनीहरुले त्यसका बिरुद्द प्रहार गर्नुपर्ने हो । तिनलाई नङ्ग्याउनुपर्ने हो । ठाडै बिरोध गर्नुपर्ने हो । तर सूर्यबहादुर थापा देखि मधेशी दलका तिन नेता र पूर्व राजा ज्ञानेन्द्रसम्मले चलखेल गर्दापनि केहि बोलेका छैनन् । प्रधानमन्त्री मौन छन् । माओवादीपनि चुप्प देखिन्छ । कांग्रेसले हाइसञ्चो मानिरहेको छ । लाग्छ, राष्ट्रियता बिरुद्द जसले जेसुकै बोलोस् तिनलाई पटक्कै छुँदैन । यात राष्ट्रघाती शक्तिबिरुद्द बोल्ने तिनको ह्याउ छैन । या ति भारत चिढिन्छ भनेर थुरुरु भएका छन् ।




