टाढिंदै बिगतको हिमचिम

-विनोद केसी

हुनत नेकपा (माओवादी) मा डा बाबुराम भट्टराई र पार्टी अध्यक्ष प्रचण्डबिचको संवन्ध अहिले मात्रै चिसिएको होइन । भूमिगत कालमैपनि बाबुराम भट्टराईले पटक पटक बहुमतको कारवाही भोगेका हुन् । पार्टीमा असुरक्षाको महसुस पनि गरेका हुन् । पछिल्लो पटक माओवादी शान्तिवार्तामा आउनु केहि अघि जब माओवादीका नेता भारतमा भटाभट पक्राउ पर्न लागे । त्यो बेला एक पटक त बाबुराम भट्टराई आफ्नै पार्टीबाट असुरक्षित महसुस गरि भारतमा सुरक्षा खोज्दै थिए । यद्दपी यो विषय उति सार्वजनिक भएन ।

तर पार्टी खुल्ला भएपछि वा शान्ति संझौता गरेर बाहिर आएपछि भने डा बबुराम भट्टराई र प्रचण्डको निकटता ज्यादै नजिकको थियो । पार्टीका कयौं दस्तावेज भट्टराइलेनै खेस्रा गरे । माओवादीको चुनावी अवधारणा, नयाँ संविधानको नमूना सारा भट्टराईले तयार पारे। प्रचण्डले साथ दिए ।

दलहरुसितको प्रमुख संवाद, कूटनितिक संवन्ध बिस्तार गर्दा भेटघाट, निर्णायक वार्ता । यि जोडी छुट्दैनथे । ब्यंग्य र सांगितिक कार्यक्रम हेर्न समेत सँगै नारिँदै पुग्थे । तर अहिले ? यी मुस्कान दूर्लभ भएका छन् । यो मेलमिलाप संकटमा परेको छ । पहिलेको निकटतामा धाँजा परेको छ । पालुङटार बैठक अघिसम्मपनि प्रचण्ड र भट्टराइबिचको फाटो दिर्घकालिन रहन्छ भन्ने थिएन । तर जब पालुङटार बैठकमा स्पष्ठ भट्टराइले स्पष्ठ फरक मत प्रस्तुत गरे तब संबन्धले संस्थागत फाटो स्थापित गरेको माओवादीहरु बताउँछन् ।

आआफ्ना सैद्दान्तिक मत अनुसार पार्टीमा कार्यकर्ता स्तरसम्म तानातानको अवस्था छ । कुनै जनवर्गिय संगठन निर्माण गर्दा होस् कि सरकारमा सहभागिता जनाउँदा नै, आआफ्ना समर्थकलाई स्थापित गराउने नाममा विवाद पर्छ । ति टेढिएका खबर सहतमै छचल्किन्छन् । अहिले प्रचण्ड पार्टीमा आफ्नो खस्कँदो प्रभावलाई जमाउन कस्सिएका छन् र बाबुरामको लोकप्रियताको तिब्रतालाई कम गर्न ।

यि दुईको लडाई कतिसम्म चर्किएको छ भने जिल्ला विकास परिषद् गोर्खाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी बनाउन भट्टराईलाई निम्तो थियो । तर प्रचण्डले त्यसमा उनलाई रोकेर आफ्ना विश्वासपात्र नारायणकाजी श्रेष्ठलाई अघि सारे । माओवादी कार्यकर्ताहरुको भनाईमा नारायणकाजी पनि गोर्खाकै हुन् र प्रचण्ड उनलाई गोरखामा स्थापित गराउन चाहन्छन् । भट्टराईले आफूलाई भिमसेन थापालाई झैं प्रचण्ड पक्षले रेट्न खोजेको भन्दै कटु आलोचना गरे सारा जगतका अगाडि ।

केन्द्रिय समिति बिस्तार गर्दा होस् कि मजदूर संगठन पूनर्गठन गर्दा वा पार्टीको कुनैपनि तहमा कुनै ब्यक्तिलाई खटाउँदा, यी दुई बिच जहिलेपनि गलफत्ती पर्छ । प्रचण्ड अहिलेपनि पार्टीमा सबैभन्दा बलवान छन् । भट्टराई आफ्नो लोकप्रियता उकास्दै । भट्टराई आफ्नो प्रभाव बलियो पार्न खोज्दै छ्न् भने प्रचण्ड आफ्नो प्रभावलाई अझ कसिलो पार्न । उम्किन नदिन ।

सरकारमा जाने वा नजाने, पार्टीबाट कसलाई पठाउने, सरकारमा गए कस्तो भूमिका खेल्ने, अन्य दलसितको भूमिका र संवन्ध कस्तो राख्ने ? कुनैपनि विषयमा दुई भिन्न पार्टीको झै ब्यक्त हुन्छन् प्रचण्ड र भट्टराईका भनाई । कुनैपनि विषयमा एकले अर्काको तर्क र मतलाई आलोचना नगरि हुँदै नहुने झैं देखिन्छ । पार्टीमा अहिले त्यो दूरी अझ टाढिँदै गएको माओवादी कार्यकर्ताहरु बताउँछन् ।

पालुङटार बैठकपछि माओवादीलाई भुत्ते पार्ने, संसदिय खेलमै अलमल्याउने, बोधो पारेर एमाले पार्टी जस्तो बनाउने, संविधान बन्न नदिने वातावरणको स्रिजना गर्ने र पार्टीलाई सुधारवादी र संसदिय धारमा भसाउने भारतीय योजना अनुसार भट्टराईले काम गरेको भनेर अहिले आरोप लगाउनेहरु निकै छन् । यस्तो आरोप अहिले प्रचण्ड र बैद्द समूहले भट्टराईमाथि लगाइरहेका छन् । खासगरि बैद्द समूह भट्टराई पक्षको भारत प्रतिको नरमपना देखेर बढि सशंकित देखिएको छ ।

कुनै बेला काँधम काँध मिलाएका, कहिँकतै नछुट्ने प्रचण्ड र भटराई जोडीको संबन्ध अहिले संकटमा छ । दुबै पक्ष एक अर्कालाइ कमजोर पार्ने, आफू बलियो हुने ध्याउन्नमै देखिन्छन् । यदि यहि तानातान रहिरहेमा पार्टी कता जाने हो, पार्टीमा कसको हैसियत के हुने ? र प्रचण्डको बहुमत हुनाले कहिले सम्म सहेर बस्ने हो भन्न सकिन्न । यसले समग्र माओवादी पार्टीलाईनै ठूलो घाटा लाग्ने हदसम्म पुर्‍याउन सक्छ ।

तपाइँको प्रतिक्रिया