कांग्रेस त्यागेका किसुनजीमाथि किन चार तारे झण्डा ?

हाम्रा नेता बडा गज्जबका ढोँगी, आत्मरतीमा रमाउने र लाज शरम पचेका छन् । किसुनजी बाँचुनजेल उनको सोझो पनको फाइदा लिए । लिन नसक्दा उनलाई लत्याए । कांग्रेसका पछिल्ला गतिबिधि किसुनजीले मन पराएनन् । मन पराउनपनि कसरि ? प्रजातन्त्र र समाजवाद जुन नेपाली कांग्रेसको मन्त्र हो त्यो सबै खोलामा सेलाएको थियो । अनि थियो मौलाएको- घुसखोरी, षडयन्त्र, मनपरी, भ्रष्टाचार, नातावाद, लूट, राष्ट्रिय समर्पण, ठेक्कापट्टा, कालोबजारी, सांसद किनबेच, पजेरो र प्राडोको मस्ती, सरुवा बढुवा र घटुवामासमेत अनियमितता । ब्यक्तिगत सम्पत्तीको ह्रास, सुन ओसाराओसार । अनि सरकारले दिएको छानो र मानोमा रमाउने किसुनजी अटाउँछन् नेपाली कांग्रेसमा ?

कुनै हालतमा अटाउन नसकेर नेपाली कांग्रेसबाट बिदा लिए । छोडे । राजिनामा दिए किसुनजीले । उनी बरु सर्व साधारणका रुपमा बस्न रुचाए कांग्रेसको पार्टी सदस्य हुनु भन्दापनि । अन्तिम अवस्थासम्मपनि उनी नेपाली कांग्रेसमा फर्किएनन् । अनि नेपाली कांग्रेसको सदस्यनै नभएका कुसुनजीमाथि आज नेपाली कांग्रेसले पार्टी झण्डा ओढायो । पार्टी त्यागेका किसुनजी माथि पार्टीको झण्डा ओढाउनु उनीमाथिको अपमान होइन ?

किसुनजी बाँचुन्जेल नेपाली कांग्रेसका केहि नेताबाटपनि प्रताडित बने । सुशिल कोइराला ति मध्येका एक हुन् । गिरिजा कोइरालासित मिलेर पेल्नेमा उनीपनि एक थिए । तर आज तिनै सुशिल भट्टराइलाई पार्टी झण्डा ओढाउन पुगेछन् । र भनेछन्- सच्चा लोकतन्त्रवादी र निष्ठावान नेताको रुपमा भट्टराईलाई मुलुकले सँधै स्मरण गर्ने छ । कांग्रेसको आँखामा उनी यस्ता नेता थिए भने किन उनलाई नेपाली कांग्रेसमा स्थान मिलेन ? किन उनको त्यस्तो सच्चा निष्ठाको सिको गरिएन ? कुरो स्पष्ठ छ- कांग्रेसमा न लोकतन्त्र बाँकि छ । न निष्ठाको कतै पित्को देख्न पाइन्छ ।

झन कांग्रेस महामन्त्री प्रकाशमान सिंहका कुरा सुन्ने हो भने त टाउको त्यसै रन्केर आउँछ । उनले खोके- भट्टराईको निधनले देशभक्तिपूर्ण आन्दोलनलाई क्षति पुगेको छ। यति सम्म त ठिकै हो । ‘उहाँले देखाएको बाटोलाई काङ्ग्रेसले मार्ग दर्शनको रुपमा अङ्गाल्ने’ । यो सुन्दा बर्मन्ड तात्दैनन् कांग्रेस कार्यकर्ताकै पनि ?

भट्टराईको सादा जिवन उच्च बिचार । स्पष्ठ अडान । त्यागी चरित्र । निस्वार्थी भावना । पारदर्शी जिवनशैली । केहि बाँकी छ नेपाली कांग्रेसमा ? भट्टराईका विचारलाई मार्गदर्शन सिद्दान्तका रुपमा लिएको भए कांग्रेसभित्र लोकतन्त्र यस्तै हुन्थ्यो ? भ्रष्टाचारी यसैगरि मौलाउँथे ? लूट र मनपरीतन्त्र, कुर्सीको लागि आत्महत्या यस्तै चल्थ्यो ? ब्यक्तिगत सम्पत्ती कुम्ल्याउन यसैगरि भ्रष्टाचारका बंकर खनिन्थे ?

कांग्रेसी नेता हो बुझ- क्रिष्ण प्रसाद भट्टराई आम नेपाली जनताका साझा नेता हुन् । आदर्श पुरुष हुन् उनका केहि कमजोरीका अलावापनि । उनी नेपाली कांग्रेसका सदस्य थिएनन्, होइनन् । यस्ता त्यागी नेताको पार्थिव शरिरमा खुम बहादुर खड्का, चिरन्जिवी वाग्ले, गोबिन्द बहादुर जोशीजस्ता भ्रष्टाचारीहरुले छुनुपनि किसुनजीमाथिको अन्याय हो । नेपाली कांग्रेस त्यागेका उनलाई कांग्रेस झण्डा जबर्जस्ति ओढाउनु उनीप्रतिको अपमान हो । हे कांग्रेसी नेता हो, बाँचुन्जेल त उनलाई खुशि बनाउन सकेनौ । उनका आदर्शलाई पछ्याउन सकेनौ । सम्मान र आदर गर्न सकेनौ । कम्सेकम जिवित छँदा उनले जे चाहेका थिए त्यसमा त जबर्जस्ति नगरी शान्तिले अस्ताउन देओ ! (फोटो: अनलाइन खबर डटकम)

तपाइँको प्रतिक्रिया