देश बनाउँछु भन्नेहरु मन्त्री पदमै मारामार
माओवादीहरुले जनतालाई खुब आरोप लगाउँथे- संसदिय दलहरु जहिलेपनि पदका लागि मरिमेट्छन् । संसदिय फोहोरी खेलको दलदलमा रमाउँछन् । तर उनीहरुपनि कम रहेनछन् । एमाले, कांग्रेस र अरु दललाइ आरोप लगाउन जति छरिता रहेछन् पदको लागि ज्यान फाल्न, चाकरी गर्न र धम्क्याउन उत्तिनै सिपालु रहेछन् । पद नपाउँदा पो रहेछ त माओवदीलेपनि संसदलाई अनेक तरिकाले गाले गर्ने । पद केहि होइन देश बनाउनु ठूलो हो भन्ने त आदर्श मात्रै पो रहेछ ।
ग्रिह मन्त्रालयको किचलो रहुन्जेल माओवादीले एमालेको कारणले सरकार गठनमा ढिलाई भएको भनेर निकै सजिलोसित आरोप लगाए । तर जब सरकारमा जाने निधो भयो त्यसपछि देखियो मन्त्री पदका लागि माओवादीमा कतिसम्म मारमुंर्गी, तानातान र लडाइँ हुँदो रहेछ ।
एउटै पार्टी भनेर के गर्नु ? बैद्द, प्रचण्ड र भट्टराईका तिन थरी मुख छन् । तिनतिर फर्किएका टाउका छन् । तिनवटा पार्टीका नेता जस्तो छ तिनको पारा । बाँकि मध्यमार्गी धार समात्ने बादल जस्ताको पनि त्यहाँ कुनै न कुनै स्थान हुने नै भयो । एउटै पार्टी भएर के गर्ने ? भट्टराईलाई आफ्नै मान्छे घुसाउनु छ । बैद्दलाई आफ्ना समर्थक हुल्नु छ । प्रचण्डका झन आफ्नै आउरेबाउरेको सूचि अझ लामो ।
११ थान मन्त्री पाएको छ पार्टीले । सुरुक्क छान्न नसकेर तिनको मारमंग्री चल्यो । तिन चार पटक देखिने गरि स्थायी समिति बैठक बस्यो । जगतले नदेखिने गरि त कति चले होलान बैठ्क अँध्यारा कोठामा ? तर ११ जनाको नाम सदर भएन । किनभने ११ जनाको मन्त्री पद भएर के गर्नु ? ११० जनालाई मन्त्री हुनु रहेछ । अर्थात एउटा पदमा दश जनाको टेण्डर परेको रहेछ पार्टीमा । अनि कन्दै कन्दै बल्ल बल्ल चार थरी धारका मिलाएर चार जना छानिए । अब सात थानकालागि जति अझै कतिवटा बैठक बस्नुपर्ने हो ।
भन्नलाई तिनले हाम्रो पार्टी सबै भन्दा स्वच्छ भन्छन् । देश र जनताप्रति सबै भन्दा जिम्मेवार दाबी गर्छन् । पदका लागि सबैभन्दा त्यागी नेता हाम्रै पार्टीमा छन् भनेर छाती फुलाउँछन् । पार्टी एकजूट छ भनेरपनि सुनाउँछन् । तर तिनको मती हेरेर बुझियो- अर्को चोटी क्या हो क्याहो ! एकबारको जुनीमा झण्डा हल्लाउनु र मन्त्री पदको कुर्सीमा टाँस्सिएर गाडी कुदाउनुमा पो छ मजा । त्यहि भएर तिनले मरिमेटेका छन् । ११० जनलाई नै मन्त्री नभै भएको छैन । जम्मा ११ जनाको पद छ मन्त्रीमा । तर ११० को सूचि मन्त्री हुनकालागि । यतिबिघ्न लामो सूची त सायद अरु कुनैपनि पार्टीमा भएको थिएन होला । एमालेलाई गाली गरेर, सरापेर के गर्ने बरु उसले बाहिर जगत नहसाइ साट्टसुट्ट छानेको हो अहिलेका चार थान मन्त्री ।
तर मन्त्री पद केहि हैन, संसद केहि हैन, जनताको पूर्ण अधिकार स्थापित नभएसम्म हामी जस्तो सुकै जोखिम उठाउन, संघर्ष गर्नपनि पछि पर्दैनौं । हामी देश बनाउनेहरु हौं भन्नेहरुको पारा देखाउने र सुनाउने मात्रै रहेछ । पद र शक्तिका लागि यी झन मरिहत्ते गर्ने रहेछन् । मन्त्री बन्नकै लागि यस्तो बिधि ज्यान फाल्नेहरुको भूमिका पदमा पुगेपछि के होला ? के संविधान निर्माणकालागि मेहनत गर्लान् ?
पदकालागि अहिलेनै यस्तरि मरिमेट्नेले जनताको लागि काम गर्लान् ? सामूहिक पार्टी । जनताकालागि सोच्ने नेता । सामूहिक पार्टीगत निर्णय । समान विचार । यस्तो हुन्थ्यो भने आफ्नो पार्टीको जो सुकै जाओस् आखिर के फरक पर्थ्यो मन्त्रीमा ? जनताको लागि सेवा गर्न जाने हो भने पार्टीले उपयुक्त व्यक्तिको सहजै निर्णय गर्नुपर्ने होइन र ? त्यहाँ त मोज गर्नु छ । झण्डा हल्लाएर देखाउनु छ सान र मान । पार्टीमा तानतान गर्नु छ । केहि कमाउनु छ । त्यहि भएर न भैरहेको हो ‘देशका लागि सोच्ने’ हरुको तानातान मन्त्री पदकालागि ।




