किन यहि चाटुकारका पछि लाग्छन् हँ पत्रकारपनि ?
एमालेका यी केपी ओली देश भाँडुवा हुन् भन्ने सबैलाई थाह छ । देखाउन उनका कुरा सहमतीका । सल्लाह र निर्देशन दक्षिणका भैयाहरुको । यीनको कुनै बौद्दिक तर्क हुन्न । राजनेताले बोल्ने भाषा यीनलाई कुन चरोको नाम हो थाह छैन । बाँदर नचाउने र डमरु बजाए झैं बोल्छन् । चाटुकारले झैं हसाउँछन् । देश बनाउने, राष्ट्रलाई अगाडि बढाउने न कुनै रचनात्मक कला र बौद्दिकता छ । वास्तवमा अहिलेको यीनको नीति देशलाई भड्खालामा हाल्ने हो सकेसम्म ।
तैपनि नेपाली मिडियाले यीनैका तिनै चाटुकारिता छाप्न दौडिन्छन् । उनैका काइते भाषण छुटे के के सर्वस्व जाला भने झैं मरिहत्ते गर्छन् । यीनको तर्क र मत सुन्न लाखौं जनता लालायित छन् । त्यो समेट्न सकिएन भने सारा नेपाली जनता निरास हुन्छन् झैं यीनैका वरिपरि झुम्मिन्छन् । उनले बोलेका तिनै काइते कुरा, सर्प नचाउनेका जस्ता छुट्टु टुक्का सुन्न भिडमभिडम गर्छन् ।
नेताको बोली बिक्न कम्तिमा उसको बोलीमा बौद्दिकता होस् । वा दह्रो राजनितिक तर्क । जनतालाई चित्त बुझाउन सक्ने, जगाउन सक्ने क्षमता । नेता भनेको जनताको मनमा भिजेको हुनुपर्ने हो । समाजमा रुचाइएको होस् । उसले देश र जनतालाई कुनै न कुनै गतिलो मार्ग निर्देश गरोस् । अनि पो त्यस्ताले बोलेका कुरा जनता समक्ष लजान मरिहत्ते गर्नु ।
यी ओली त सर्वनाक भएका जनताबाट । संविधान सभाको निर्वाचन भयो । बल्ड्याङ खुवाए, जनताले । पत्याएनन् । भने- तिमी स्वाँठ हाम्रो नेता हुन लायक छैनौ । भो पुग्यो । फेरी नेकपा (एमाले) को महाधिवेशन भो । त्यसमा पनि कमिज तन्काउँदै र जाँगे हल्लाउँदै उपस्थित भए पार्टीका कार्यकर्ताको परिक्षामा । त्यहाँपनि कार्यकर्ताले भने- ओली कामरेड भो पुग्यो हाम्रा लागि । इच्क्षा छ भने उतै भैयाहरुकै तिर राजनिति गर । जता तिम्रो आँखामा मुहुनी गडेको छ उतैको सेवा गर । तैपनि यी ओली लाज शर्म पचाएर म नेता हुँ भन्दै दौडिरहेछन् । मुलुकका अगाडि नेता हुने परिक्षामा पटक पटक पछारिँदापनि फेरी उहि मान्छे सर्वश्रेष्ठ ? कति लाज शरम पचेको !
यीनले बोलेको जनता सुन्न राजी छैनन् । यीनको छायाँ नेपालीकालागि चाहिएको छैन । यीनको वाणीले सर्प नाच्ला जनता हाँस्दैनन् । कुनै तर्क, विश्लेषण, ज्ञानगुनका कुरा हुँदैनन्। अनि यीनैका कुरालाई भैंसी जत्रा अक्षरमा छापेर कसलाई दिने हो ?
अहिले जसरि हुन्छ कांग्रेस र माओवादीलाई एक ठाउँमा नल्याइ हुँदै हुन्न । यी दुई पार्टी नमिले न रहन्छ संविधान सभा । न बन्छ संविधान । न हुन्छ लडाकूको समायोजन । सिन्को भाँचिन्न । एमाले त रिमिक्स न हो यस्सो जोडजाड गर्न सकिने । त्यसैले यी दललाई एक ठाउँ ल्याउने जोडजुलुम हुनुपर्छ । पत्रकारले अधिकतम कोसिस गर्नु पर्ने विषय त्यहि हो । बेलापनि यहि हो ।
तर ओलीको नियत के छ ? जसरि हुन्छ उता माओवादीलाई भड्काउने, यता कांग्रेसलाई बिच्काउने । जसरि हुन्छ संविधान बन्न नदिने । लडाकूलाई बिच्काएर फेरी हतियार उचाल्न सन्काउने । संविधान सभा भंग गराउने । माओवादीलाई लघार्ने । हरौटेहरु पूजनिय हुन्छन् गणतन्त्रमा भनेर भएभरका हरौटेलाई सरकारमा छिराएर गणतन्त्रको बेइज्ज्जति गर्ने । कुनै दल कतै मिल्न लागे भने बिचमा कान फुकेर भत्काइहाल्ने । देशमा फेरी कलह भित्र्याएर सकेसम्म दक्षिणका गुरुहरुलाई स्वदेशमा हुल्ने । बिदेशीको न्रित्यस्थल बनाउने ।
यीनले बोल्ने यस्तै हो । अनि यस्ता कुरालाई प्राथमिकताकासाथ छापेर कसको भलो हुन्छ ? देशलाई खाडलतिर धकल्ने ओलीका काइते कुरा छाप्न किन मरिहत्ते गरेरिरहेका हुन् कुन्नी पत्रकारपनि ! र यो अहिले मात्रै होइन । उनी एक छत्र फिँजिएका हुन्छन् मिडियामा । हरेक दिन थुप्रो मिडियामा उनका तिनै काइते कुरा छापिन्छन्, प्रसारित हुन्छन् । जनताका अगाडि यी गनौटे हुन् भन्ने उनको बिगत र बर्तमानले देखाइरहेको छ । तैपनि जनतालाई सुन्नै मन नलाग्ने यीनैका कुरा जबर्जस्ति छरपस्ट हुनुको कारण के हो ? त्यसमा कसको के स्वार्थ छ ?
(फोटो- नागरिक न्युज)




