यस्ता बेमानीपनि माओवादी नेता
नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन् । दशौं वर्ष सरकारमा छेलो खेलो गरेका एमाले, कांग्रेस नेता मुगु, बैतडी, डँडेल्धुरासम्म हेलिकोप्टरमा गए भन्ने सुनिन्थ्यो । माओवादी पर्यो नयाँ जोगी । धेरै खरानी घस्ने भो । एमाले, कांग्रेस, राप्रपा जस्ता पार्टीलाई उछिन्दै माओवादी नेताले राजधानीमै हेलिकोप्टर चढेर नयाँ किर्तीमान बनाए । चानचुने नेता होइनन् पोलिटब्युरो सदस्य वर्षमान पुन ‘अनन्त’। झण्डै ग्रिहमन्त्री पड्काएका । उनी अस्ति जम्मा चार घण्टा मोटर बाटोमै पुगिने काठमाडौंकै एउटा स्कूलको अतिथि बन्न गरिव स्कूलको पैसोमा हेलिकोप्टर चढेर पुगेछन् । (उनले चढेको हेलिकोप्टरको तस्विर भित्र छ)
कम्युनिष्ट सिद्दान्त र आदर्श मेरै खल्तिको नोटकापी हो झैं ठान्ने उनले त्यसको धज्जी उडाए । जनतालाई खुब जिस्काए । हेपे । झुक्याए । वामपन्थीहरुलाई बदनाम गर्ने एउटा ईट्टा थपेर बहादुरी देखाए ।
राजधानीको छिमेकी गाउँ भनेर के गर्नु ? थुम्का थुम्कीले बुझ्दैनन् । कच्ची बाटोले भोट माग्न जाँदा देख्छ नेताको मुख । जनताले त्यहि बेला मिलिक्कै झलल पार्ने भो येल्लेचाहिँ भनेर भोट हाल्छन् भाषण सुनेर । ‘आमा सन्चै ? बुवा देश बनाउन हाम्रो सरकार चाहिन्छ बुझ्नु भो ? ‘ भन्दै गाइ भैसीं सम्म चाटेर भोट माग्न लम्पसार परे । भोट माग्दा तिनले रात बिरात बिताए । जनताका घरमा बसेर कर गरे । जनताकै खाए । धारोमा पानी थाप्न गएकालाईपनि हुटहुटी लगाएर भाषण सुनाए । परालको टौवा हाल्दै गरेकालाईपनि बोलाए । गोठालाई गाइभैसीं चराउँदा चराउँदै त्यहिँ गएर भाषण ठोके । पसलमा सँगै फिक्का चिया सुर्काउँदै उचाले । फाटेको लाउनेसित फाटेकै लगाएर पुगे ।
माओवादी नेता अनन्त पनि त्यसैगरि नयाँ नारा, नौला आश्वासन, भिन्न योजना लिएर पुगे ललितपुरको गोटीखेल । जनताले पत्याए । धुलो बाटोमा कुइरिमण्डल लगाउँदै घर घर पसेर ‘आमा मोही छ ? मकै भुट्नुस् न’ भनेर सुकुलमा बसि बसि आश्वासन बाँड्दा ‘यसले चाहिँ बुझ्ने भो है हाम्रो समस्या’ भन्दै पत्याए । हाले भोट । तर अहिले जनताका दुख के हेर्नु ? उनले धुलो उडाएर कुदेको बाटोमा अझ बधि धुलो थुप्रे होला । तर उनी भने उल्टो हेलिकोप्टरमा जनताका छाना उडाउँदै पुगेछन् ।
त्यहि बेला तिसित जतिपनि फूर्सद थियो । तर अहिले ? अनन्त कुनै सरकारी पदमा छैनन् । तर चार घण्टाको मोटरबाटोमा जान उनलाई फूर्सद भएन र हेलिकोप्टर मागे ।
किन ? अहिले उनको स्वार्थ पुरा भयो । भोट पाए । जिते । सभासद बने । ग्रिहमन्त्री दाबी गर्ने हैसियत बनाए । नाथे जनता गोबर सोरेर बस्छन् । उनी सिंगदरबार छिर्छन् सुकिला लूगामा । महँगो गाडी चढ्छन् । मिठो खान पुग्छ । अनि कसरि स्तर मिल्छ र ति जनतासित उनको हिमचिम होस् ? सबै जोगी उस्तै । भोट गुट्मुट्याएपछि तिनैका नाममा लुट्न थाल्छन् ।
समाजमा आफ्नो वर्ग हुन्छ । आफ्नो वर्गले आफ्नो वर्गको स्वार्थ हेर्छ भनेर त माओवादीले प्रष्टै भनेका छन् नी । वास्तविकता त्यहि हो । अब उनको वर्ग फेरियो । उनलाई सँगै मोही, मकै र भटमास चपाउँदै सुनौला दिन ल्याउने वाचा गरेका जनताको वर्ग सायद फेर्नु छैन । अब फेर्नु छ आफ्नै आसेपासेको जिवन । आफैं फेरिनु छ ।
सुन्दै करुणा लाग्छ । बिचरा स्कूले नानीहरु भवन नभएर भूइँमै बसेर पढ्ने रहेछन् । एउटा कोठा थपिदिन न त त्यहाँ कांग्रेसको समाजवादले देख्छ । न एमालेको जबजले मेसो पाउँछ । हुँदा हुँदा ‘हाम्रो सरकार आएपछि आमा,शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टी’ भनेर सुकुलमा बसिबसि, जनताकै घरमा मोही र मकै टोकी टोकी भोट सोरेका माओवादीको कम्युनिष्ट क्रान्तिकारी आदर्शले बुझ्छ । ति भूइँमा धुलो सुँघेर बस्छन् । घामले सेकेर पढ्छन् । सिरेटोले सुक्सुकाएपनि खप्छन् । तर यी नेताको मथिंगलले त्यो देख्दैन । देख्छ त- कसरि ठग्ने भन्ने मात्रै ।
हेलिकोप्टरमा उनलाई बोलाउँदा गरिव स्कूलको ६० हजारजति खर्च भएछ । त्यति पैसोले सायद स्कूलको एउटा कोठो बन्दो हो । काठैको होस्, भित्तो हालेर कर्कट पाताको छानो त हालिँदो हो ।
आफ्नो क्षेत्रबाट सभासद बनेको ब्यक्ति । कसलाई इच्छा हुन्न दुखिया स्कूलको मुहार फेरिइपो हाल्छ ? केहि यस्सो सानो तिनो सहयोग पो मिलिहाल्छ कि भनेर ? प्रचण्डको विश्वासिलो । ग्रिहमन्त्रीमा पुग्छन् रे भन्ने हल्ला चलेको । माओवादी सरकारमा जानै लागेको । बोलाए । समय छैन भनेर टुँडे जवाफ दिएपछि के लाग्यो ? उल्टो घाटा । दुखिया वालवालिकामाथि उल्टो बोझ । आफू भुइँमा बसेर पढ्ने, नेतालाई हेलिकोप्टर चढाउने गर्न बाध्य भए ।
त्यस्तो दुखिया स्कूलको खर्चमा हेलिकोप्टर त चढे । उल्टो जनतालाई ढाँटे । सरकारले व्यवस्था गरिदिएको हो भन्दै । एक जना पत्रकारले प्रतिक्रिया माग्दा ढाँटेर के गर्नु ? त्यो क्षेत्रका जनतालाई पक्कै ढाँट्न सकिन्न । आफ्ना छोरा छोरी भुइँमा पढाएर अनन्तलाई ल्याएको हेलिकोप्टरको पैसो तिर्दा पक्कै त्यो क्षेत्रका जनताको मन हाँस्ने छैन । यस्ता वैमानमाथि गरेको गुन, गरेको विश्वासलाई कुल्चिने नेताको पार्टी संझिँदापनि जनता पकै फुरुंग हुँदैनन् ।
सत्तामा पुग्न नपाउँदै गरिव स्कूलको हेलिकोप्टर चढेर जनताका टाउकामाथि ऋण थोपर्ने । जनतालाई विश्वासघात गर्ने । ढाँट्ने । छल्ने । यिनले ग्रिह मन्त्रालय पाए भने के गर्थे होला ? कति घुम्दा हुन् हेलिकोप्टरमा ? कति हुँदो हो दुरुपयोग ? जनताको मुक्तिको लागि टाउकोमा कात्रो बाँधेर उत्रिएको दाबी गर्ने माओवादीका यस्ता वैमान पनि रहेछन् नेता ।
(दोस्रो तस्विर कान्तिपुरबाट लिइएको हो) ।




