एमाले-कांग्रेस मिल्दा हुने, माओवादी एमाले मिल्दा अलोकतान्त्रिक ?

नेपालमा अहिलेपनि बामपन्थीहरुको अत्यधिक बहुमत छ संसदमा । एमाले र माओवादीका सभासद जोड्दा मात्रैपनि पुग्छ । त्यसबाहेक अरु झिनमसिना वाम दलहरुको पनि छ मत । त्यो भनेको बहुमत जनताको चाहना वामपन्थी सरकार हो । तर वामपन्थीहरु भिडे । जनताको मतलाई आदर गर्न सकेनन् । बरु जनताले रछ्यानमा मिल्काएको राजाको शासन चाहने पार्टीलाई साथ दिए । शासनमा पुर्‍याए । नेपाली कांग्रेसले यहि कमजोरीको फाइदा उठायो । अहिले माओवादी र एमाले मिलेर भर्खरै सरकार बनाउन खोज्दै छन् । दुई हप्तापनि नहुँदै, सराकरले पूर्णतापनि नपाउँदै नेपाली कांग्रेस र अरु प्रजातान्त्रिक स्वनामधारी दलहरु चरिफाल गर्दै छन्- लौ वामपन्थीहरु मिलेर अप्रजातात्र्निक सरकार बन्ने भो ।

जनताले, जनताद्वारा जनताका लागि गर्ने शासनलाई हो क्यारे प्रजातन्त्र, लोकतन्त्र जे जे तन्त्र भनेपनि । हाम्रै नेताले भाषणमा खुब सुनाउँछन् यो । संविधान सभा निर्वाचनको परिणामले भन्छ- जनता वामपन्थीहरुको सरकार चाहन्छन् । जनताले सबैभन्दा ठूलो जिम्मेवारी वामपन्थीहरुलाई र पार्टीगत रुपमा माओवादीलाई दिएका छन् । अहिले त्यहि चाहना अनुसारको बल्ल दुई वामपन्थी दलमिलेर सरकार बनाउँदै छन् सरकार । जनताको चाहना बिपरित अझ कतिपय साना वाम दल त बाहिरै छन् । संसदको सबैभन्दा ठूलो दल माओवादी आफ्नै विवेक गुमाएर नौ महिने शासनबाट हाटेपछि फेरी एमालेसित मिलेर सरकारमा जाँदै छ ।

तर यो अलोकतान्त्रिक गठबन्धन भयो । यसले प्रजातन्त्र मास्छ । यो बिटिलो भयो । यीनीहरु मिलेर अरुलाई सरकारमा जानै नदिने बनाउने भए । लौ न मार्ने भए । ल न बिताए । ऐया । आथ्था । लौ न बचाओ भन्दै कोकोहालो हालेका छन् । त्यसरी कोकोहोलो हाल्नेमा २०४६ सालदेखि अधिकांश समय सरकारमा बसेको नेपाली कांग्रेस माउ मियो बनेको छ । उसलाई उचाल्नेमा सूर्य बहादुर थापा, महन्त ठाकुर, विजय कुमार गच्छदार । यी सबै जनताका नाममा बदनाम पार्टीका नेता । दशकौं सरकारमा गएर लुट्ने । ठग्ने । जनतालाई चुस्ने । देशलाई कंगाल बनाउनेमा नाम कमाएका । कि हुकुमी शासनको पक्षमा रहेका कि त त्यसलाई मलजल गरेका । अनि यीहरु प्रजातान्त्रिक, लोकतान्त्रिक शक्ति रे । यिनीहरुले लोकतन्त्रको रक्षा गर्ने रे । एमाले र माओवादी र एमालेले चाहिँ लोकतन्त्रको उपहास गर्छन् रे ।

एमालेले एक त राष्ट्रिय सहमतीको सरकार प्रायस गर्ने भनिरहेको छ । दलहरु थपिँदै छन् । उसले सहमतीको प्रयास गर्ने भनेर साँचो प्रयास गर्छ कि जनतालाई ढाँट्न सहमतीको राग मात्रै अलाप्छ हेर्न बाँकी नै छ । जे सुकै होस्, संविधान सभामा जनताले मत दिएर जितेका दुई दल । जनताले रुचाएका दलको बहुमतले सरकार बनेको छ । कम्तिमा बिदेशी दबाब छलेर, लत्याएर आफैंले सरकार बनाएका छन्  । जनताले तिमीहरुले सरकार चलाउ भनेर दिएका दलले मिलेर नियमसंगत ढंगले सरकार बनेको छ । अनि यो कसरि अबैध गठबन्धन ? किन अप्रजातान्त्रिक ? कसरि अप्रजातान्त्रिक ?

जनताको मत र चाहना अनुसारको सरकार अप्रजातान्त्रिक ? कि प्रजातान्त्रिक हुन जहिलेपनि नेपाली कांग्रेसकै सरकार चाहिन्छ ? सरकारबाट नेपाली कांग्रेस बाहिरियो कि अप्रजातान्त्रिक ? आफूले संसदको प्रमुख दललाई किनारा लगाएर सरकारमा लूट मच्चाउन्जेल प्रजातान्त्रिक । जनतालाई ढाँटेर, छलेर, कालो धन्दालाई मन्त्र झैं जपेर देशमा राइँदलो मच्चाउन पाएसम्म बैध । हरुवाहरुलाई सरकारको तालाचाबी बुझाएर देशको ढुकुटीमा राज गर्न पाए मात्रै लोकतान्त्रिक ? ठग ठग मिलेर सरकारमा मस्ति गर्ने सल्लाह मिलुन्जेल त्यो गठबन्दन लोकतान्त्रिक ? आफूले एमालेसित सरकार बनाउनुन्जेल लोकतन्त्रको उपहास भएन ? संसदको प्रमुख दललाई बाहिर राख्ने, प्रमुख संवैधानिक पदमापनि आफ्नै मान्छे घुसाउने । यो चाहिँ लोकतान्त्रिक ? जनताको मतलाई कुल्चिएर बनेको सरकार चाहिँ प्रजातान्त्रिक ? लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रकोपनि आफ्नै परिभाषा नेपाली कांग्रेस, मधेशी जनअधिकार फोरम प्रजातान्त्रिक, तराइ मधेश लोकतान्त्रिक पार्टी लगायतका दलको ?

आफू लोकतान्त्रिक हुनु छ भने पहिले जनमतको कदर गर्नुपर्छ । जनताले जसलाई मत दिए उसलाई ‘तिमीहरुले सरकार चलाउ’ भन्न सक्नुपर्छ । जनताले मिल्काएकालाई जनताका नाममा फेरी चोर बाटोबाट नेता भन्दै जनताको टाउकोमा बोकाउनुहुन्न । अहिले नेपाली कांग्रेस लगायतका दल, लोकतन्त्रको परिभाषा गर्दै हिँडेका तिनका नेताले पहिले एकपटक अनुहार हेरुन् तिनको छबी कति लोकतान्त्रिक छ ? कति लोकतान्त्रिक काम गरे ? लोकतान्त्रिक हुन लोकलाइ अहिलेसम्म के दिए ? नेपाली कांग्रेसले साँच्चै लोकतन्त्रको परिभाषा दिने हो भने त उसले सरकारमा हामी बस्नै हुन्न भन्नु पर्छ त ! लोकले हामीलाइ सरकार बनाउने जिम्मेवारी दिएनन् त्यसैले सरकार बनाउने हाम्रो नैतिकता नै छैन पो भन्न सक्नुपर्छ त !

तपाइँको प्रतिक्रिया