नेपाली भेषका भारतीय दलाल

यीनीहरुको शिरमा छ नेपाली टोपी । नागरिकता सायद नेपाली । तर यीनको सुर्ता भारतलाई कसरी खुशि पार्ने भन्ने छ । आफ्नो देशमा कसरी भाँडभैलो मच्चाउने भन्ने ध्येय छ । यीनलाइ नेपालमा संविधान बन्ला भन्ने ठूलो चिन्ता छ । जसरी हुन्छ देशलाई लतार्दै, घिसार्दै लगेर युद्दमा होम्नु छ । थोत्रा हतियार भित्र्याएर कमिसनका बिटा हात पार्नु छ ।

अन्तरिम संविधानलाई खोस्टोमा बदल्ने । जेठ १४ पछि प्रजातन्त्रको नाममा कुनै मूर्ति सरकार प्रमुखका रूपमा उभ्याउने । अनि कायम शान्ति संझौता भंग गराउने । देशलाई ग्रिहयुद्दमा चोबलेर नेपाली जनताको रगत धोक्ने । किनभने दक्षिणको छिमेकी त्यसैगरि खुशि हुन्छ । दक्षिणका यीनका पात्रले सिकाएको यही हो । देखाएको यही हो । खटन त्यही हो । किनभने यी नेपाली टोपी लगाएका भारतीय दलाल हुन् । 

नेपाली ढाका टोपीमा भारतीय स्वार्थको काम गर्ने धेरै छन् नेपालमा नेता भनाउँदाहरु । हरेक पार्टीमा छन् दलालहरु । माओवादीमै पनि छन् पक्कै । कांग्रेसमा त झन् नहुने कुरै भएन । मधेशवादी दल त धेरैको ताला चाबीनै उतैबाट खोल्ने र बन्द हुने गर्छ । अहिले यहाँ यिनको चर्चा गर्नुको आशय भने राजनीतिक निकासको प्रयास भइरहेका बेला नांगो रूपमै उत्रेर भाँड्न लागेकाले हो । अर्थात् हाल प्रमुख दलालको भूमिकामा देखाएकाले ।

ज्ञानेन्द्रका पाउमा ढोगेर बिन्ती गर्दै कुर्सीको लल्लरी बिल्लरी गाए झैँ भारतीयका पाउ मोलेर फेरी सरकारमा मन्त्री पद पड्काउनु छ । किनभने यीनको परीक्षा नेपाली जनताबाट भइसकेको छ । लामो समयसम्म कि त पार्टी हाँकेर कि पटक पटक मन्त्री भएर यीनले जनताका अगाडि नाक देखाउन नसक्ने भइसक्यो । पटक पटक जनताबाट यी पराजित भैसके । अब नेपाली जनताको परीक्षामा उत्रिनु भनेको झन् बेइज्जती खेप्नु हो । सधैँको लागि सत्ताको रस चाट्नबाट हुत्याइनु हो ।

त्यसमा टिक्ने उपाय नै कुनै हालतमा संविधान बन्न नदिनु । जारी शान्ति संझौतालाई लगौंटी लगाइदिनु । भाँड भैलो मच्चाउनु । आफ्ना प्रतिस्पर्धीलाई भूतलमा बस्नै नसक्ने बनाएर लघार्नु । अनि दक्षिणका आफ्ना मालिकको खटनपटनमा फेरी पदमा पुग्नु । नेपाली जनताको सुख शान्ति, चिन्ता र चासो बोक्ने जति छन् तिनलाई आफ्नै पार्टीबाटपनि घोक्रेठ्याक लगाएर खेद्नु । कि तुम शरण भन्ने गराएर दक्षिणकै भक्ति भाउमा आफू जस्तै डमरु बजाउने बनाउनु ।

नत्र यीनलाई किन यति बिघ्न अहिले यो सरकारको विरोध गर्नुपर्ने ? आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री चुनिएको छ । संसदमा तेस्रो दल हुँदापनि सरकार चलाउन पाउने काकाताली परेको छ । प्रमुख दलले साथ दिएको छ । शान्ति संझौतालाई टुंगोमा पुर्‍याउने, संविधान लेख्न आम सहमति पाउन सक्ने जस लिने अवसर छ । अनि आफ्नै पार्टीको स्थायी समितिले गरेको निर्णयलाई मान्दैनौं भन्दै सारा पार्टीमा भाँड भैलो मच्चाउने कारण के छ ? मान्यनै हुँदैनथ्यो भने किन स्थायी समितिबाटै त्यसलाई अमान्य गर्न सकेनन् ?

सिंगै सरकारको प्रमुख पदमै आफ्नै पार्टी अध्यक्ष । रक्षामन्त्री आफ्नै । अर्थ आफ्नै । फेरी सरकार सञ्चालन गर्न समिति बनाउने भनेपछि त्यो समितिकै सल्लाहमा सरकार चल्दो हो । लौ माओवादीलाई ग्रिह दिँदा जगतै पल्टिने भयो रे । त्यसकोपनि त उपाय हुँदो हो । ल तिम्रै पार्टीको सही माओवादी भन्ने हस्कोपनि सुन्न नचाहनेलाई भन्दा मिलाएर लैजान सक्नेलाई राख न त ग्रिहमन्त्री भन्दा पनि नाइँ कि नाई भनेर पानी बार्न खोज्नु यी दुईको नियत के हो ? 

लौ त्यो दिन सकिएन भने अर्को उपाय के छ त ? के यीनले कुनै आम जनता, आफ्ना पार्टीका कार्यकर्ता र नेतालाई चित्त बुझ्दो प्रस्ताब गरेका छन् ? यीनको भाषामा सहमतीको कुनै रस छैन । विकल्प यो हो भन्ने केही प्रस्ताब छैन । छलफल गरौं न त भन्ने कुनै प्रयास छैन । प्रधानमन्त्री पदमै सहमति गरेपछि नाथे एउटा मन्त्री पदमा हलो अड्काएर शान्ति र संविधानको बाटो बन्द गर्न हुन्न भनिरहेका छन् कार्यकर्ताहरू । तर यीनको कानले पटक्कै सुन्दैन । उही सुगा रटान लगाएका छन् – माओवादीसितको सात बुँदे सहमति छोइ छिटो हो मानिन्न ।

किनभने यीनलाई यो पनि थाह छ कि अब सत्ताको कुर्सीमा पुर्‍याउने तागत कार्यकर्तासित छैन । सरकारको पदमा पुर्याउने बुटी कार्यकर्ताबाट संभव छैन । कार्यकर्ताका अहिलेका कुरा सुने संविधान बन्न सक्छ । शान्ति संझौता पालना भएर देश दिर्घकालिन शान्तिमा जान सक्छ । त्यो गर्न यीनले भारतको एजेन्ट भएर बसेका होइनन् । यी त त्यो सबै भाँडन बसेका हुन् ।

माओवादी जे भएपनि प्रमुख दल हो । प्रमुख दलले सरकार बनाउनुपर्नेमा तेस्रो दलले सरकार बनाइरहेको छ । जनताको अभिमतलाइ कुल्चिँदै फेरीपनि मन्त्री पदमा हार्नेनै लगिएका छन् । सरकार बनाउने पार्टीस्वयं बढि सुझबुझ, बढि सौम्य, बढि गम्भिर, अझ बढि बुझक्कि भएर प्रस्तुत हुनु पर्छ भन्ने सामान्य ज्ञान पनि भारतीयले यिनलाई किन नसिकाएका ?

आफूलाई समर्थन गर्ने पार्टीलाई कम्तीमा बिच्काउने होइन कि सहमतिमा ल्याउने कोसिस हुनु त हुनुपर्छ । कि आम जनता र आफ्नो पार्टीलाई चित्तबुझ्दो विकल्प प्रस्तुत गर्न सक्नुपर्छ । त्यसो गर्न सके पो माओवादीले अर्घेल्याइँ गरेको भएपनि सहमतिमा आउन कर लाग्छ । तर माधव र केपी त सम्पूर्ण सहमतीनै टुप्पी कसेर भत्काउन लागेका छन् । भारतले जे चाहेको छ त्यहि गरिरहेका छन् । जे गर्दा हाम्रो हित हुन्छ, नेपालको भलो हुन्छ त्यसैलाई भड्काउन कम्मर कसेका लागेका छन् । किनभने यी नेपाली होइनन् । नेपाली ढाका टोपी भिरेका भारतीय दलाल हुन् ।

तपाइँको प्रतिक्रिया