मधेशवादी दलको विकल्प खोजौं

कृपा थापा / काठमाडौं 

राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व कायम गर्न कुनै न कुनै उपाय रच्दै बस्ने मधेशवादी दलहरू यो पटक पनि चर्चाको शिखरमा रहन सफल भयो । माउ पार्टीबाट टुक्रँदै-चोइटिदैं विभिन्न टुक्रामा संख्यात्मक रूपमा विभाजन हुँदै गइरहेको अवस्थामा मधेशवादी दलहरू रहेका छन् । पछिल्लो समयमा सरकारमै सामेल रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायत तराई मधेश लोकतान्त्रिक पार्टीमा पनि फुटको श्रृंखला सुरु भइसकेको छ । मधेशवादी दलहरूलाई फुटाउन ठूला दलहरू सक्रिय रहेका छन् । 

आफ्नो पक्षमा मत जुटाउन वा मधेशवादी दललाई एक जुट हुन नदिनका लागि विभिन्न प्रलोभनमा मधेशवादी दललाई फुटाउने काम तीव्र रूपमा हुँदै आएको छ । ठूला दलहरूको पाउभक्ति गरेकै भरमा मन्त्री बन्ने यी मधेशवादीहरू राष्ट्रिय राजनीतिमा अयोग्य नै साबित भइसकेका छन् । स्वतन्त्र रूपमा मधेशवादको वकालत नगर्ने, राष्ट्रियता र मधेशको पक्षमा इमान्दार हुन नसक्ने तर दल दर्ता गरी सरकार बनाउने र भत्काउने कार्यमा पोख्त भएका यी मधेशवादीहरू अन्ततः ठूला दलहरूको गोटी बनेका छन् । पद र पैसाको लागि आफ्नै पार्टीलाई विभिन्न टुक्रामा विभाजन गर्न अग्रसर हुने यी मधेशवादी दलहरूले मौका मिले देश र मधेश  नै बेच्न पनि बेर लगाउँदैनन् । 

वर्षौ देखि शोषण र उत्पीडनमा परेका मधेशी समुदायहरूले आफ्नो अधिकारको रक्षार्थ मधेशवादी दलहरूलाई सत्तामा पठाएका थिए । मधेशीहरूले अपेक्षा गरेजति केही काम पनि मधेशवादी दलहरूले गर्नसकेका छैनन् । राजधानी केन्द्रित यी दलहरू मधेशको समस्यासँग अनभिज्ञ बनेका छन् । मधेशमा हत्या, हिंसा, आतंक, अपराध र असुरक्षाले दिन प्रति दिन प्रश्रय पाइरहेको छ । मधेशी भनाउँदाहरूबाट नै मधेशीहरू पीडित र शोषित बन्दै गइरहेका छन् । मधेशको प्रतिनिधित्व गर्दै सरकारमा सामेल भएका सत्ताधारी मधेशीहरू उपप्रधानमन्त्रीलगायत मन्त्री नै हुँदापनि मधेशले न विकास र सुरक्षा न शान्ति नै पायो । मधेशको समस्यासँग सिंगो राष्ट्र नै परिचित हुँदा-हुँदैपनि मधेश तर्फ कसैको आँखा पुग्न सकेको छैन । 

मधेशबाट लाभ लिने कुरामा सबै दलहरू एकजुट हुन्छन् । तर मधेशलाई न्याय दिलाउने र अधिकार दिलाउने कुरामा सबै राजनीतिक दलहरू बीच मत जुध्ने गरेको छ । मधेश आन्दोलन पश्चात् राष्ट्रिय राजनीतिमा स्थान पाएका मधेशवादी दलहरूले कागजी मधेशवादलाई आत्मसात गरी भौतिक सुख सुविधाको उपभोग गरे । जे-जस्ता नारा लिएर सत्तामा सामेल भएका थिए ती मूलतः पद र पैसा बाहेक अरू केही थिएन । मधेशवादको नारा अहिले विभिन्न टुक्रामा टुक्रिएको र चोइटिएको अवस्थामा छ । मधेशवादको सच्चा वकालत गर्ने राजनीतिक दल कुन हो भन्ने अन्यौलतामा नै मधेशीहरू अल्मलिएका छन् । ठूला दलको पाउभक्ति गर्दै, मधेशी हुँ भन्दै, योग्यता र क्षमताको आधारमा भन्दा पनि गैर-राजनीतिक कार्यहरू गरेर आफूलाई राजनीतिमा स्थापित गराउँदै आएका छन् यी मधेशवादीहरूले । 

पद र पैसाको लागि तराईमा शसस्त्र समूहहरू पाल्ने, सभासद् खरिद बिक्रीको प्रपञ्च रच्ने, नयाँ-नयाँ पार्टी गठन गर्नु र पार्टीलाई टुक्रा-टुक्रामा विभाजन गराउनु नै मधेशवादी दलहरूको प्राथमिकतामा रहेको काम हो । राष्ट्रिय स्तरको नेता कहलाउने तर राजधानीमै बसेर मधेशलाई चियाउने मधेशवादीहरू वास्तवमै क्षेत्रीय स्तरका नेता समेत बन्न सकेका छैनन् । मधेशी शोषित र पीडित छ भनेर नारा अलाप्ने तर मधेशवादीहरूलाई सरकारमा सामेल गराउँदा पनि देश र मधेशको पक्षमा केही गर्न नसक्नेहरू असफल भए पश्चात् पनि सत्तामा टाँसिरहनु लाजमर्दो छ । 

मधेशवादी दलहरूले सरोकार नराखेका मुद्दाहरू
– मधेश आन्दोलनका उपलब्धिहरू- मधेशी शहीद र शहीद परिवार

– सरकारले गरेको गैरन्यायिक हत्या

– संचारभित्रको साम्प्रदायिक विभेद

– सशस्त्र आतंक

– बन जंगल फँडानी

– कोशी पीडित

– मरुभूमीकरण र चुरे विनाश

– नागरिकता समस्या

– समावेशी/रोजगारी/विकास

– गौरघटनाका पीडित

– नेपालगंज घटनाका पीडित

– सुस्ता र गण्डक समस्या

– मधेशभित्र पर्यटन र पूर्वाधार

– सरकारी विभेद र दमन

– मधेशवाणीमाथिको राष्ट्र द्रोह

– राजनीतिक आतंक

 शाही शासन काल देखि कहिल्यै काँग्रेस, कहिल्यै एमाले र कहिल्यै माओवादी नेतृत्वको सरकारमा मन्त्री पद खाँदै आएका सरकारी मधेशवादीहरूले आजको दिनसम्म पनि मधेशका लागि केही गर्न सकेका छैनन् । यो सरकारले केही गर्न सकेन भनेर ठूलो-ठूलो स्वरमा भाषण गर्ने मधेशवादी दलका नेताहरूले आफै सामेल भएको सरकारलाई पनि भीडमै गाली गर्छन् । मन्त्री जस्तो व्यक्ति कहाँ-कसरी-के- कस्तो वक्तव्य दिने भन्ने कुरामा नै प्रष्ट छैनन् मधेशवादीहरू । कागजी मधेशवादलाई आत्मसात गरेका मधेशवादी दलहरू बीच नै चरम द्वन्द्व छ । मधेशी नेताहरूको आपसी द्वन्द्वको शिकारमा मधेशी जनताहरू फसेका छन् । मधेशी भएकै कारण आरक्षण र अवसरको नाममा, गैर-लोकतान्त्रिक र अमर्यादित तवरबाट पद प्राप्त गर्न सफल भएका यी दलहरूको राजनीतिक उपस्थितिको बारेमा सबैले एक पटक सोच्नु पर्ने भएको छ ।

मधेशी जनताले पहिचान, आत्मनिर्णयको अधिकार, सु-शासन, शान्ति, विकास र आर्थिक उन्नति र सुरक्षा नै चाहेको छ । मधेशको मुद्दाले राष्ट्रिय राजनीतिमा स्थान पाएको छ तर ती मुद्दाहरूलाई पूरा गर्ने तर्फ मधेशवादी दलहरूले कुनै पनि सक्रियता देखाएको पाइँदैन । मधेशको मुद्दालाई राष्ट्रिय दलहरूले सम्बोधन गर्छन् र पूरा गर्ने प्रतिबद्धता देखाउँछन् भने मधेशवादी दलको औचित्य नै किन रहयो र ? त्यसैले मधेशको मुद्दाले स्थान पाउनु पर्छ तर मधेशवादी दलहरूले नै मधेशको मुद्दा उठाउनु पर्छ भन्ने जरुरी छैन । यसै पनि कागजी मधेशवादको नारा लिएर खोलिएको पार्टी करिब १२ वटा रहेको छ । यी पार्टीहरूले मधेशको लागि के-के गर्‍यो भन्ने कुरा सबै सामु नै प्रष्ट देखिएको छ । त्यसैले अब बन्ने झलनाथ खनाल नेतृत्वको सरकारमा मधेशवादी दलहरूलाई सरकारमा सामेल गर्नुको सट्टा मधेशको मुद्दालाई सम्बोधन गर्छु भनि प्रतिबद्धता जनाउने जुनसुकै दललाई पनि मधेशी जनताले समर्थन दिने छन् ।

-लेखिकाका अघिल्ला लेखपनि हेर्नुस्-

रुवेल के राष्ट्रकै घर ज्वाइँ हुन ?

 

मधेशवादको व्यापारीकरण

तपाइँको प्रतिक्रिया