सरकार नबन्दै घेराबन्दी
पहिलो लटको सानो मन्त्री मण्डल गठन नै गर्न नसकेर प्रधानमन्त्री झलनाथ खनाल एक्लैले प्रधानमन्त्रीको सपथ लिए । सरकारले कहिले पाउने हो पूर्ण रुप ठेगान छैन । बरु समर्थक दल माओवादीमा त्यति ठूलो विवाद देखिन्न सरकारमा जाने विषयमा । को को मन्त्री बन्ने भन्ने लोभमा । तर तेस्रो दल हुँदा हुँदै पनि सरकार बनाउन पाएको एमाले भित्र यति विवाद छरपस्ट भएको छ कि सरकार नबन्दै सरकार कति टिक्ला भनेर दिनगन्ती शुरु गरिएको छ ।
त्यो दिनगन्ती नेपाली कांग्रेसले भाउँतो निकालेर होइन । माओवादीले अड्को थापेर होइन । न त हो नै, अरू साना दलले किच किच गरेर होइन । हो, एमालेभित्र कै पदलोलुपहरुको कारणले । हरुवाहरूलाई मन्त्री बन्न परेकाले । जितेका भन्दा हारेकाको वर्चस्व देखाउनु परेकाले । फेरी करोडौँ कुम्ल्याउन र मन्त्रालयमा फोटो झुन्ड्याएर इतिहास बनाउन परेकाले ।
एमालेमा तराइका बलिया किल्ला मानिने रामचन्द्र झा । उनको टक्कर रघुवीर महासेठसित । झा झलनाथका यति निकट की उनै हुन् प्रधानमन्त्रीका समर्थक । जोसित टक्कर छ उसैलाई मन्त्री बनाएपछि कसरी खप्ने ? झाले राजीनामा दिए । यसले एमालेमा बिबाद तीव्र पारेको छ । खनालका बलिया खम्बा भनेकै युवराज ज्ञवाली, वामदेव गौतम, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, प्रकाश ज्वाला, घनश्याम भुसाल, यमलाल कँडेल, रवीन्द्र अधिकारी, गोकर्ण विष्ट, भानुभक्त जोसी लगायतका हुन् । ती मध्ये प्रकाश ज्वाला बौद्धिक खुराक दिने व्यक्ती । मन्त्री पदको बाँड फाँड हेर्दा आफूले पद नपाउने देखेपछि उनी टेढिए ।
देश र जनताको हित हेरेर भए पो । पार्टी । नेता । कार्यकर्ता । पद । प्रतिष्ठा । चाकरी । भ्रष्टाचार । शक्ति हेरेर पार्टी बदल्ने । नेताका पछि लाग्ने । नीति नहेर्ने, नेताका भाषणमा विश्वास गर्नेले देश र परिस्थिति हेर्दैन । देश र जनताको हितका लागि बाहिरै बसेरपनि सहयोग गर्छु भन्ने सोच्दैन । आफ्नो पदको हेर्छ । पैसा हेर्छ । शक्ति हेर्छ । झन्डा हल्लाएर बाँच्नुको शान हेर्छ । अहिलेसम्म झलनाथ खनाललाई जे जतिले निकट रहेर सहयोग गरे । तिनले त्यही हेरेर न हो झलनाथ प्रधानमन्त्री हुनासाथ पद खोजेको ।
योगेश भट्टराई, प्रकाश ज्वाला, घनश्याम भुसाल, यमलाल कँडेल, रवीन्द्र अधिकारी, गोकर्ण विष्ट, भानुभक्त जोसी जे यदि देश र जनताको नाममा गरेको भए तिनले बुझ्नु पर्ने हो- अहिले मन्त्री पदका लागि बखेडा झिक्ने बेला होइन । धेरै दल सम्मिलित हुनाले सबैलाई भागबन्डा गर्न संभव छैन । गरिब देशमा ठूलो मन्त्रिमण्डल बनाउनु हुन्न । प्राथमिकता अहिले सरकार चलाउनु, ठूला ठूला विकासका काम गर्नु भन्दा संविधान बनाउनु हो । त्यसैले बाहिरै बसेर रचनात्मक सहयोग गर्नु पर्छ । तर तिनको मथिंगलमा यो घुसेको छैन । तिनले हाकै भनेका छन्- हाम्ले अहिलेसम्म तपाइका अघि पछि लाएर, पाखुरी सुर्याएर तपाइलाई साथ दिएको ब्याज खै ?
त्यसैले तिनले झलनाथसित अड्को थापेका छन् । देशका तमाम काम गर्नु पर्ने, अरू दललाई विश्वासमा लिनुपर्ने, अरू दलसित छलफल र बहसमा खट्नु पर्ने प्रधानमन्त्री झलनाथ खनाल तिनका घेराउमा परेका छन् । को हुने त्यो भन्दा निकट उनको ? आफ्ना निकट र बिगतदेखि जाने बुझेका, सहयोग गर्दै आएकानै टेढिएपछि झलनाथले सरकार सञ्चालनमा कसको पाउने रचनात्मक सहयोग ?
माओवादीलाई गरेको कबोल अनुसार दिनै पर्यो । ग्रिह मन्त्रीमै बबाल भइसक्यो । बाँकी मन्त्रालय देउ । उता आफूलाई समर्थन गरेका माले, सद्भावना, फोरम लगायतका दललाई चित्त बुझाउनै पर्यो । त्यही गर्दा आधा दर्जन जति मन्त्रालय एमालेले पाउँछ । तर एमालेमा मन्त्री पद दिनुपर्छ भनेर घुर्क्याउनेनै दर्जन बढि भैसके । अनि झलनाथले गर्ने के हो ? एमालेमा पनि पार्टी मात्रै हेरेर नहुने । ओली पक्षलाई नदिए तत्कालै ज्वाला दन्किन्छ ।
अरू दलको कसरि चित्त बुझाउन् झलनाथले ? आफ्नै दलका, आफैँसित हातमा हात मिलाएर हिँडेकाले हद्दु पारेका छन् । मन्त्री पद नपाए हेरम्ला भनेर घुर्काउनेलाई कसरि फकाउने, कहाँ के पद दिने भनेरै झलनाथका नौनाडी गलिसके । प्रधानमन्त्री पदको कुर्सीमा ट्यास्स गर्नै नपाइ चौतर्फी घेराबन्दिमा पारेपछि यो सरकार कसरि टिक्छ ? कतिन्जेल टिक्छ ?
विरोधीले औँलो ठड्याउनु त कता कता । ‘खै कति टिक्ला र त्यो सरकार’भन्दै अहिले एमालेहरुनै हिँड्न थालेका छन् । टिकाउनु पर्ने जो हो तिनैले चारतिर फर्केर हेरम्ला, पख्लास् भनेपछि टिकाउने कसले हो ? आफ्नै पार्टी, आफ्नै सहकर्मीको घेरा बन्दि र पेलानमा छन् उनी । आफूलाई जसले प्रधानमन्त्रीको उम्मेदवार हुँदा समर्थन गर्यो उसैलाई समेत विश्वासमा लीन नसकेपछि झलनाथले कसलाई विश्वासमा लिन सक्ने हो ?




