डा. साप विरोधको डम्फुमात्रै बजाएर चल्छ ?
नौ महिना देखि बन्धक रहेको परिस्थितिबाट देशले निकास पायो । कम्तीमा देश कुनै न कुनै रूपमा अगाडि बढ्नै पर्थ्यो । प्रचण्डले हाकै भने- हार्ने निश्चित भएपछि देशलाई बन्धक बनाउनबाट जोगाउन भनेर झलनाथ खनाललाई केही सहमतिका आधारमा समर्थन गरियो । संसदको सबै भन्दा ठूलो दलले तेस्रो दललाई समर्थन गर्नु आफैँमा एक खाले त्याग हो त्यो । प्रचण्ड त समर्थन गर्नेमै परे । बाँकी तिन मध्ये तुलनात्मक रूपमा पनि झलनाथ खनाल सुहाउँदा उम्मेदवार थिए ।
माओवादी पार्टीमा छलफल भएरै, स्थायी समितिको बैठक बसेरै झलनाथ खनाललाई समर्थन गर्ने निर्णय भएको हो । यद्यपि प्रचण्डले त्यसको प्रस्ताव र प्रमुख खेल खेले । तर उनको प्रस्तावलाई असफल पार्ने क्षमता र अधिकार स्थायी समितिलाई थियो ।
प्रजातान्त्रिक व्यवस्थामा बहुमतको कदर हुन्छ । प्रधानमन्त्रीनै बहुमतका आधारमा चुनिएका हुन् । तर मुलुकका अधिकांश जनताले रुचाइएका र देशको वर्तमान परिस्थितिलाई निकास दिन अति संवेदनशील मानिएका भनिएका डा बाबुराम भट्टराईनै सरकार गठन नुहुँदै विरोधको डम्फु बजाउँदै हिँडेका छन् । सरकार गठनको प्रक्रिया सम्म शूर नुहुँदै यो सरकारले शान्ति संविधानका मुद्दालाई संवोधन गर्न सक्दैन भन्दै कोकोहोलो हाल्नुको कारण के हो डा बाबुराम भट्टराईको ?
आम जनताले मात्रै रुचाएर हुँदैन, पार्टीमा उनले झैँ त्याग र तपस्या गरेका कार्यकर्ता समक्षपनि भिज्न सक्नुपर्छ । आखिर कुनैपनि नेतालाई आम जनता समक्ष स्थापित गराउन कार्यकर्ताकोपनि अहं भूमिका हुन्छ नै । पार्टीमा नेताले गरेको त्याग, तपस्या, बलिदान र लगानीका आधारमा कार्यकर्ताले नेता चुन्छन् । उसको सिद्धान्तका आधारमा उसका प्रस्ताव रुचाउँछन् । त्यस बाहेक कुनैपनि पार्टीमा अलि अलि छिर्की लाउने, अलिकति चलाखी र आन्तरिक खेलले को स्थापित भन्ने भूमिका अवस्यै हुन्छ । तर मूल रूपमा नेताको नीति ठीक हुनुपर्छ । कार्यकर्ताको भावना जित्न सक्नुपर्छ । आफ्ना नीतिहरूलाई कार्यकर्ता समक्ष चित्त बुझाउन सक्नुपर्छ । माओवादीको स्थायी समितिमा कुनै ललाई फकाई र अबुझ नेता होओइनन् । भट्टराई आफ्ना पार्टीका सबै नेता त्यागि र महान भनेर आफैँ दाबी गर्छन् । त्यसो हो भने उनले स्थायी समितिमा आफ्नो पक्षमा बहुमत पुर्याएर एमाले नेता झलनाथ खनाललाई समर्थन नगर्ने निर्णय पारिद गर्न उनलाई कसैले रोकेको थिएन । तर उनले सकेनन् ।
प्रजातान्त्रिक व्यवस्थामा बहुमतको कदर हुनै पर्छ । आफूले बहुमत पुर्याउन नसक्नु अर्थ उनको नीतिसित स्थायी समितिका अधिकांश असहमत छन् भन्ने बुझिन्छ । आफ्नै पार्टीका नेतालाई चित्त बुझाउन नसक्ने अनि बहुमत पुर्याउनेको निर्णयपनि नमान्ने यो कस्तो नीति हो ? के अल्पमतको निर्णय मान्ने ? कि आफू प्रधानमन्त्री भए मात्रै जादुको छडीले फू गरेकै भरमा देशका तमाम समस्याहरू समाधान हुन्छन् भन्ने भ्रम छ डा साप लाई ?
गुटबन्दी, नेता तानातान, अरू नेतालाई प्रभाव पार्ने, आफ्नै समर्थकको भेला बोलाएर कान फुक्ने प्रयास त कसले गर्दैन र ? के तपाइले गर्नु भएको छैन ? पालुङटार बैठकमा तपाइलाई साथ नदिएका वैद्य समूहसित अहिले नै तपाइले मन्त्रणा गर्नु भएन र ? स्थायी समितिमा बहुमत पुर्याउन जाँघे कसेर लाग्नु भएन ? तपाइ र वैद्य लाग्दा प्रचण्ड वा अर्को कुनै नेता नलाग्ने कुरो आउँछ र ? तपाइको बहुमत पुगेको भए खनाललाई समर्थन नगर्ने निर्णय स्विकार गर्न के पार्टीलाई बाध्यता हुने थिएन ? त्यही बनाउन रातारात राख्नु भएको होइन आफ्ना समर्थकको बैठक ? वैद्यसितको मन्त्रणा ? अनि आफूले भरमग्दुर कोसिस गर्दापनि बहुमतलाई विश्वासमा लीन नसकेपछि बहुमतको निर्णय पालना गर्न छोडेर बक्तब्यबाजी, डम्फु ठोकाठोक र जनताका अगाडि कोकोहोलो हाल्ने ?
अन्य दललाई विश्वासमा लीन उनलाई यो निर्वाचन अघिपनि केहीले रोकेको थिएन । सबै पार्टीसित उनले छलफल गरेर आफ्नै पार्टीकोलागि समर्थन बनाउन सक्थे । प्रचण्ड बाहेक माओवादीको जुन नेता भएपनि जितिन्छ, समर्थन लीन सक्छु भनेर उनले पार्टीको स्थायी समिति बैठकमा उठाउन सक्थे । त्यो गर्न पनि नसक्ने । बहुमत पुर्याउनपनि नसक्ने । अनि यो सरकारले केही गर्न सक्दै सक्दैन भन्दै आफ्नै पार्टीको बहुमतले गरेको निर्णय विरुद्ध डम्फु बजाउँदै हिँड्नु कारण के हो ? डा सापले खोजेको के हो ? गच्छदारको नेत्रित्व ? कि घुमाउरो अर्थमा माधव नेपालकै सरकारको नेत्रित्व ? राजीनामा दिइसकेकै सरकारको नेत्रित्व ? कि देशमा अझै यस्तै भाँड भैलो । कि अझैपनि भारतीय प्रभावको सरकार ?
आफ्नो उम्मेदवारले हार्दा र हराउँदापनि बरु नेपाली कांग्रेसका सभापति शुसिल कोइरालाले यो सरकारको काम र व्यवहारका आधारमा समर्थन वा विरोध गर्ने भन्ने सुझबुझपूर्ण अभिव्यक्ति दिए । तर भट्टराई आफैँ उपस्थित, आफ्नै पार्टीका सहकर्मीको बहुमत निर्णयलाई लत्याउँदै जगत हँसाउँदै हिँडेका छन्- यो सरकारले केही गर्न सक्दैन । गर्न केही सक्छ कि सक्दैन कम्तीमा केही दिन हेर्नु पर्दैन र डा साप ? जनताले रुचाएका भन्नुको अर्थ के डा सापले जे बोल्दा, जे गर्दा, मनपरी डम्फु बजाउँदै हिँड्दापनि ताली ठोकिरहन्छन् भन्ने हो र ?




