के के छन् झलनाथका चुनौती र अवसर ?
माओवादीले लत्तु छोड्यो । संयम बन्यो । प्रमुख दल भएर जिम्मेवारपूर्ण निर्णय गर्यो । जे जे आरोप र प्रशंसा गरेपनि उसको भूमिकाले एउटा सकारात्मक बाटो खोलेको छ- इतिहासकै सबैभन्दा नालायक ठानिएको सरकार विघटन हुने भो । जनताकै प्रतिनिधिको बहुमतबाट अकस्मात् प्रधानमन्त्रीमा चुनिए झलनाथ खनाल । आफू निर्वाचित हुनासाथ उनले सबै दललाई विश्वासमा लिएर सहमतिमा शान्ति संविधान बनाउने प्रतिबद्धता व्यक्त गरे ।
झलनाथका चुनौती
दोस्रो पटक थपिएको संविधान सभाको म्याद सकिन अब तिन जति मात्रै बाँकी छ । यो तिन महिनाको समय भनेको भोलिदेखिनै सरसर्ती बसेर धमाधम संविधान लेख्न थालेपनि सहज छैन । बेलैमा संविधान लेख्न संविधानका तमाम नमिलेका विषयहरूमा छलफल गरेर सहमतिमा संविधान बनाउनु उनको प्रमुख चुनौती छ । त्यसकालागि उनको दल एमालेको एक्लो प्रयासले मात्रै संभव छैन । उनले प्रमुख प्रतिपक्षी माओवादीको दह्रो साथलिनु त पर्छ नै, दोस्रो ठूलो दल नेपाली कांग्रेसको समर्थन र विश्वास बिनापनि संभव छैन ।
तर नेपाली कांग्रेसलाइ विश्वासमा लिन खनालले कठिन मेहनत गर्नुपर्ने छ । किनभने नेपाली कांग्रेसमा उनी माओवादीको समर्थक भनेर मात्रै चिनिँदैनन्, सहमतिको प्रयास बिथोलेको भनेर कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले संसदमा पोखेको आक्रोशबाट खनाललाई सहजै विश्वास गर्ने देखिन्न ।
त्यसो त, उनको ठूलो चुनौती बाहिर मात्रै नभएर आफ्नै दलभित्र छ । लामो समयसम्म भारतीय समर्थन, आड र भरोसामा टिकेको भन्ने आरोप खेपेका प्रधानमन्त्री माधवकुमार नेपाल र सधैँ नेपाली कांग्रेससित बढि निकट रहेका केपी ओली पक्षले उनलाई सहजै सफल हुन दिने छैनन् । माओवादीलाई बाहिरै राखेर कांग्रेससितकै गठबन्धनका पक्षमा रहेका माधव-केपी पक्षबिच सरकार र प्रतिपक्षी दलको जस्तो छ । दुबै पक्ष एक अर्कालाई न्यून गरेर जाने पक्षमा रहेकालेपनि सजिलो सित सरकार चलाउन र बाँकी रहेका संविधान बनाउने, शान्ति संझौतालाई टुंगोमा पुर्याउने काममा सहज हुने छैन । उनले पार्टीमा रहेको यो गुटबन्दी, टकराव र मनमुटावलाई सहजिकरण गरेर लान सकेनन् भने पार्टी पंक्तिबाटै उनी असफल बनाइने छन् ।
उनको अर्को प्रमुख चुनौती भनेको माओवादी लडाकूहरूको समायोजन हो । आफ्ना लडाकूहरूलाई विभिन्न सुरक्षा निकायमा समायोजन वा वैकल्पिक उपायका बारेमा माओवादीका आफ्नै शर्त छन् । माओवादीहरु शान्ति संझौतामा उल्लेख भए अनुसार लडाकूहरू समायोजन गर्न चाहन्छन् । तर नेकपा एमाले र नेपाली कांग्रेस लगायतका दलहरू भने त्यसमा सहमत छैनन् । सरकार बनाउन प्रमुख साथ दिएको माओवादीलाई चिढ्याएर जाँदा सरकार सञ्चालनमा उनको कुनै गुन्जाइस हुने छैन । उता लडाकू समायोजनका माओवादी शर्तमा नजिकिँदा नेपाली कांग्रेस र स्वयं उनैको पार्टीले त्यसमा साथ दिने छैन । यो अवस्थामा शान्ति संझौताको मुख्य पाटोमै उनी असफल हुन सक्छन् । त्यसकालागि उनले सबै दललाई मान्य हुने मध्यमार्गी बाटो खोजेर सबैलाई विश्वासमा लिनु पर्ने छ जुन सहज छैन ।
नेपालको मामिलामा प्रमुख खेलाडीका रूपमा रहेको भारतीय पक्षसित कम अनुदार भनेर चिनिन्छन् खनाल । नेपाली जनताको मनोभावनालाई नगद गराउन भारत विरोधी चर्का भाषण गरेर त उनी संभव होलान् । तर सरकार सञ्चालनका विषयमा भने त्यसले जटिलता थप्ने छ । किनभने हाम्रा नेता र दलहरूमा भारत यति हाबी भएको छ कि भारतलाई परिवर्तित अवस्थामा राजी गराउन नसके उनको सरकार सहज हुने छैन । त्यसकालागि भरतले मेहनत गर्नै पर्दैन, हाम्रै दलहरू भारत समक्ष बिन्ती बिसाउन पुग्छन् । त्यसो हुँदा शान्ति संझौताले मूर्तरूप पाउने छैन । संविधान निर्माणको विषयले गति लिने छैन ।
त्यस भन्दा बाहिर मधेशका आफ्नै मुद्दाको डम्फु बजाउने मधेशी दलहरूको उपस्थितिपनि कमजोर छैन संसदमा । ५० सिटभन्दा बढि बोकेर बसेका मधेशी दल तत्कालकालागि कमजोर देखिएपनि सरकारलाई असफल गराउने, मधेश नाराका नाममा अनेक खाले असंभव माग राखेर संविधान निर्माणमा बाधा ल्याउने र भारतीय गोटी बनेर कुनैपनि बेला एकै ठाउँ उभिन सक्छन् । ती दलहरूलाई मूलत: मधेशका मुद्दामा सहमत गराएर सँगै हिँडाउन खनाललाई हम्मे पर्ने छ ।
यी प्रमुख मुद्दा त छन् नै, माओवादी लगायतका दलसित मिलेर सरकार सञ्चालन गर्नुपर्ने भएकोले सरकारमा उनले एकलौटी बिचार, भावना र आफ्नै पार्टी नीति अनुसार सञ्चालन गर्न पाउने छैनन् । लामो समयदेखि सहमतीय सरकारको नारा उरालेका उनी स्वयं प्रधानमन्त्री बनेपछि अब सहमतीय सरकार बनाउन सक्छन् कि सक्दैनन् ? यो उनको अर्को चुनौती हो । यदि उनले सहमतीय सरकार बनाउन सकेनन् भने सरकार बाहिर बस्ने दलले सरकार सञ्चालनमा सहजै मार्ग खुला गरिदिने छैन । माओवादी र नेपाली कांग्रेस नदीका दुई किनाराका रूपमा रहेकाले एक त यी दुबै दल सँग सँगै सरकारमा जाने संभावना न्यून छ । अर्को गएकै खण्डमापनि मिलाएर लैजान सहज देखिन्न ।
अवसरपनि
त्यसो त, यी सारा चुनौतीका सामु झलनाथलाई देशकै एक महान् राजनेता बन्ने अवसरपनि उत्तिकै छ । खसोखास राजनेता भनेकै त्यो हो जसले देश संकटपूर्ण अवस्थामा रहेका बेला सहि राजनीतिक दिशा दिन सक्छ । अहिले देश संकटपूर्ण र इतिहासमै अति चुनौतीपूर्ण अवस्थामा रहेको छ । यही बेला देशलाई सुझबुझपूर्ण, हक्की, विचारवान्, सहमति गरेर लान सक्ने, संयम र कर्मठ नेताको खाँचो छ । साहसिक नेताको जरुरत छ । दूरद्रिष्टी भएको नेता देशले खोजिरहेको छ । गणतान्त्रिक संविधान निर्माण गर्ने, शान्ति संझौतालाई टुंगोमा पुर्याएर सहज वातावरणमा निर्वाचन गराई जनताले चुनेको सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउने सुनौलो अवसर पनि यही चुनौतीकै बीचमा छ ।
त्यसकालागि नेपाली कांग्रेससित मिलेर सरकार सञ्चालन गरेको अनुभव छ उनी सित । प्रमुख प्रतिपक्षी दल माओवादीलेनै उनलाई साथ दिएको छ । मधेशका मुद्दामा उनको दल मध्यमार्गी छ । त्यसैले अन्य दललाई भन्दा यी सबैलाई विश्वासमा लिन सक्ने संभावना पनि छ खनालको । आफ्नो स्वतन्त्र छविलाई कायम राख्न सकेका, पार्टीमा लामो त्याग गरेका, संयम चारित्रिक प्रिष्ठभूमी बोकेको मानिन्छन् उनी । जनताको मतबाट विजयी भएर आएका, पार्टीमा विचारशील व्यक्तिहरूको साथमा रहेकालेपनि खनालको नेत्रित्व सफल हुन सक्छ ।
पार्टीमा माधव नेपाल-केपी ओलीको तिब्र आलोचना र पेलानमा रहेका बेला यदि सबैलाई विश्वासमा लिएर गाडि बढ्न सके भने उनको छवि र प्रभुत्वलाई यसले उचाइमा पुर्याउने छ । माओवादी संसदीय भूमिकामा आएपछि एमालेको साख र जनमतलाई माओवादीले तानेको थियो । जसको कारण उनको पार्टी तेस्रो दलका रूपमा खुम्चिन पुग्यो । आगामी निर्वाचनमापनि मूलत वामपन्थीहरूको मत प्रमुख त माओवादी र एमालेकै बीच विभाजन हुने हो । त्यसैले यदि उनले आफ्नो कार्यकालमा यी प्रमुख चुनौतीहरूलाई पार गर्न सके भने आगामी निर्वाचनमा उनको कामको मूल्यांकन गर्दै जनताले उनको पार्टीलाई साथ दिने विश्वास र भरोसा बढ्ने छ ।




