के लछारपाटो लगाएको छ र नेपाली सेनाले पो ?
सेना समायोजन माओवादी शान्ति वार्तामा आएदेखिको मुख्य माग र शर्त । व्रिहद शान्ति संझौतामा माओवादी लडाकू बारे जे प्रावधान छ माओवादी, एमाले र नेपाली कांग्रेस सबै आआफ्नै ढंगले व्याख्या गर्दै आएका छन् । नेपाली सेनाको आफ्नै अडान र भित्रि रूपको चलखेल अर्को प्रमुख कारण हो अहिले सम्म माओवादी लडाकूबारे कुनै निर्णय नहुनु ।
माओवादी जसरिपनि शान्ति संझौतामा उल्लेख भए अनुसार आफ्ना लडाकू नेपाली सेनामा समायोजन गर्न चाहन्छन् । एमाले र कांग्रेस अनेक बहाना र शान्ति संझौताका बुँदालाई आफ्नै ढंगले ब्याख्या गरेर पन्छिन खोज्छन् । माओवादीले नेपाली सेनामा केही हजार लडाकू समायोजन गरेर हुने के हो ? कांग्रेस र एमालेले माओवादी लडाकूलाई नेपाली सेनामा छिर्नै नदिएर हुने के ? नेपाली सेना अझ थपेर देशको हित छ कि भएकालाई घटाएर ? किन बढाउने नेपाली सेनाको आकार ? आखिर नेपाली सेनाले अहिलेसम्म राष्ट्रियताका लागि के नै लछारपाटो लगाएको छ र ? हुन्छ के नेपाली सेना भएन भने ?
प्रिथ्वी नारायण शाहले बिस्तार गरेको नेपाली सेना मूलतः राजतन्त्रको रक्षाका लागि लड्दै आएको हो । त्यसपछिपनि यो दरबार प्रतिनै बफादार रहँदै आयो । नेपाल राज्य एकीकरण पछि मूलतः नेपाली सेना प्रतिक्रियावादी प्रिष्ठभूमिकै रहँदै आएको हो । त्यसपछि देशले सीमित वर्गको स्वार्थ रक्षाकै निम्ति ठूलो धनराशि खर्चेर नेपाली सेना पालि रह्यो ।
मूलतः कुनैपनि देशको सेनाले राष्ट्रिय स्वाधीनता, राष्ट्रियता र सार्वभौम सत्ताको रक्षा गर्छ । तर नेपालमा ? स्व राजा महेन्द्रका पालदेखि कालापानीमा भारतीय सेना अनधिक्रित रूपमा क्याम्प बनाएर बस्दै आएका छन् । नेपालको भूमि जबरजस्ती हड्पेका छन् । तर अहँ नेपाली सेनाले अहिले सम्म चुइँक्क बोल्न सकेको छैन ।
बितेका दुई दशकमै भारतीहरूले नेपालको हजारौं हेक्टर जमिन अतिक्रमण गरिसके । हाम्रो जमिन हड्पेर जबरजस्ती बाँध बनाउने, पिल्लर सार्ने, दिउँसै नेपाली सिमामा आएर हतियार सहित ताण्डव न्रित्य देखाउने गर्छन् । तर खै त नेपाली सेना त्यो बेला कहाँ पुग्छ ? नेपालको सिमा मिचिँदा, नेपाली चेलीमाथि नेपाली सिमाभित्रै आएर भारतीय सुरक्षा कर्मीले लुट्दा, बलात्कार गर्दा कहिल्यै प्रतिकार गरेको छ नेपाली सेनाले ? के नेपालको वन, राष्ट्रिय निकुञ्ज, दुर्लभ जीवजन्तुको संरक्षण गर्न सकेको छ नेपाली सेनाले ? बरु नेपाली जनताको परिवर्तनमुखि चाहनामा दरबारको कवचका रूपमा उभिएर जनतामाथि अत्याचार गरेको छ । झन् राजा वीरेन्द्रको वंशनै सखाप पारिएपछि त नेपाली सेना दरबारको सुरक्षामा पनि असफल भैसकेको छ ।
अहिलेसम्म राष्ट्रिय अखण्डता रक्षाका पक्षमानै उभिन नसकेको नेपाली सेनाले अबपनि त्यसको रक्षा गर्न सक्ने कुनै गुञ्जाईस छैन । विश्वका सैन्य, आर्थिक र राजनैतिक रूपमा अति शक्तिशाली मुलुक मध्ये पर्ने नेपालका दुई छिमेकी मुलुक चिन र भारत विरुद्ध जस्तोसुकै परिस्थितिमापनि लड्ने सक्ने क्षमता नेपाली सेनासित छैन । अत्याधुनिक हतियार र शक्तिशाली युद्दक विमानका अगाडि हाम्रो सेनाको फिस्टे हतियारले केही लाग्दैन । आधुनिक हतियारनै भएपनि चिन र भारतका दशौं लाख सैनिकका अगाडि हाम्रो करिब डेढ लाख सैनिकको कुनै दाल गल्दैन ।
शान्ति सेनामा पठाइएका नेपाली सेनाको छविपनि पछिल्लो अवस्थामा खस्कँदो छ । अनि यस्तो सेनालाई वर्षको करोडौँ खर्च गरेर पाल्ने किन ? गरिब नेपाली जनताको पसिनाको मूल्य उपयोगहिन नेपाली सेनामा फाल्ने किन ? वास्तवमा नेपाली सेना नेपाली जनताकालागि भार भैसकेको छ । अनि देश र जनताको लागि भार भैसकेको सेनामाथि माओवादी लडाकू थपेर झन् भार किन दिने ? गरिब जनताको पसिनाको मूल्य अझ किन बेकाम्मा थप्ने ?
बरु अहिले भएको नेपाली सेनाको संख्यालाई केही हजारमा घटाउनुपर्छ । औधोगिक क्षेत्र, कल कारखाना, सामाजिक सुरक्षा, अन्य विकास निर्माणका काम, सांस्क्रितिक र धार्मिक विशेष पर्वका लागि चाहिने केही हजार नेपाली सेना बाहेक अन्यको उपयोगितानै छैन । तिनलाई अन्य वैकल्पिक उपाय दिएर घटाउन सकिन्छ । माओवादी लडाकूहरुपनि अहिले आकर्षक प्याकेज पाउने हो, रोजगारीका अन्य विकल्प दिने हो भने ती समायोजन मै जान पाउनुपर्छ भनेर दाबी नगर्न सक्छन् । नेपाली सेनाको आकारै घटाउने हो भने सेना समायोजनका विषयमा माओवादीहरु लचिलो बन्न सक्छन् । यसले सम्पूर्ण देशको बोझलाइनै कम गर्न सक्छ।




