नेपाल अझै अधिराज्य ?
–राजधन कुलुङ
नेपालको अन्तरिम संविधान २०६३ माघ १ गते राजनीतिक दलहरूको सहमतिबाट जारी भएपछि वैधानिक रूपमा नेपाल एउटा संघीय गणतन्त्रात्मक देश हो । यद्यपि ०६५ जेठ १५ गतेको पहिलो संविधानसभा बैठकले औपचारिक रूपमा राजतन्त्रको अन्त्य गरेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गर्यो । नेपाली जनताले ६० वर्षको राजनीतिक संघर्षपछि देशलाई राजारहित मुलुक बनाउन सके । त्यही मितिबाट राजा, महाराजाले राज गर्ने ‘अधिराज्य’ विधिवत् रूपमा नेपालबाट समाप्त भयो ।
मलाई लाग्छ नेपालीहरू परिवर्तन त चाहन्छन्, तर उनीहरू त्यसलाई आत्मसात् गर्न सक्दैनन् । त्यही कारण हुनुपर्छ धेरैको ‘नेपाल अधिराज्य’ शब्दसँग साइनो अझै टुटेको देखिन्न । सर्वसाधारणको के कुरा ? राजनीतिकर्मी, प्रशासक, अभियानकर्ता, शिक्षक-कर्मचारी, सञ्चारकर्मी सबैले अझै नेपाल अधिराज्य भनिरहेका छन् । सायद सार्वजनिक रूपमा यस शब्दको प्रयोग गर्दा त्यसको अर्थ उनीहरूले ख्याल गरेका छैनन् । सुरुमा मैले किन संवैधानिक रूपमा गणतन्त्र घोषणाको कुरा उठाइएन भने हामीले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश भएको तीन वर्ष पुरा हुन लाग्दासमेत त्यसलाई आत्मसात् गर्न सकेका छैनौं भनेर नै हो ।
नेपालीजनमा अधिराज्य शब्द व्यापक भएको सत्र सालपछिको पञ्चायती व्यवस्थामा हो । राणा शासनका बेला जनतालाई नेपाल कस्तो देश हो भन्ने मतलब थिएन । सात सालमा राणा शासनको अन्त्य पश्चात् राजा त्रिभुवनले अब मुलुक गणतन्त्रात्मक विधानद्वारा सञ्चालन हुने बताएका थिए । क्रान्तिको अगुवा पार्टी नेपाली कांग्रेसको असावधानीका कारण त्यो बेला गणतन्त्र संस्थागत हुन सकेन । परिणामतः नेपाल करिब ६० वर्ष ‘अधिराज्य’ बन्न पुग्यो । ३० वर्षको पञ्चायती व्यवस्थामा महेन्द्रको मण्डले राष्ट्रवादले जनजनमा अधिराज्य शब्द व्यापक बनायो ।
अब अधिराज्य शब्दको अर्थ केलाएर हेरौं । यो शब्द युनाइटेड किङडम अर्थात् संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आयात गरिएको हो । अंग्रेजी शब्द किङ्डमकै नेपाली रूपान्तरण अधिराज्य बनाइयो । किङ अर्थात् राजा र डम उसको अधीनस्थ भूभाग हो । बेलायती सम्राट/सम्राज्ञीको अधीनस्थ साम्राज्य भन्ने बुझाउन युनाइटेड किङडम भनियो । अक्स्फोर्ड एडभान्स लर्नर डिक्स्नरीमा ‘किङडम’को अर्थ ‘अ कन्टि् रुल्ड बाइ अ किङ अर क्वीन’ भनिएको छ । यसले पनि स्पष्ट भन्छ कि किङडम भनेको कुनै राजा वा रानीले शासन गर्ने देश हो । राजतन्त्रको उन्मूलनपछि पनि नेपाल कसरी अधिराज्य हुनसक्छ ? अक्स्फोर्ड डिक्स्नरीकै अर्को अर्थ हेरौं ‘एन एरिया कन्ट्रोल्ड बाइ अ पर्टिकुलर पर्सन आर हृवेर अ पर्टिकुलर थिङ अर आइडिया इज इम्पोर्टेन्ट’ अर्थात् अधिराज्यको मतलब हुन्छ कि एउटा व्यक्तिद्वारा नियन्त्रित क्षेत्र, जहाँ कुनै एकल चीज वा विचारको हालीमुहाली हुन्छ ।
नेपाली शब्दकोशमा पनि अधिराज्य शब्दको अर्थ केलाएर हेरौं । कोशकार बसन्तकुमार सम्मा ‘नेपाल’द्वारा सम्पादित नेपाली शब्दसागरमा अधिराज भन्नाले अधिराज्यको सर्वोपरि नायक, सम्राट वा महाराजाधिराज हुन्छ । त्यस्तै अधिराज्यको अर्थ अधिराजको अधीनस्थ भूमि वा देश हो । नेपालबाट राजतन्त्र उन्मूलन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणापछि पनि ‘नेपाल अधिराज्य’ भन्न पाइँदैन ।
नेपालको अन्तरिम संविधान २०६३ को प्रावधानलाई हेरौं । संविधानको प्रस्तावना-चौथो संशोधन (२०६५ जेठ १५)को छैठौँ अनुच्छेदमा ‘राजतन्त्रको विधिवत् अन्त्य गरी नेपाल एक संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गर्दै’ भनेर उल्लेख गरिएको छ । अन्तरिम संविधानकै भाग १ धारा ४ को उप-धारा (१) मा ‘नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भनिएको छ । संवैधानिक दृष्टिबाटसमेत ‘अधिराज्य’ शब्द अवैधानिक छ ।
गणतन्त्रात्मक संघीय लोकतान्त्रिक राज्य भएपछि अन्तरिम संविधानको धारा २ ले नेपालको सार्वभौमसत्ता तथा राजकीयसत्ता नेपाली जनतामा निहित गरेको छ । अधिराज्यमा सार्वभौमसत्ता र राजकीयसत्ता अधिराज अर्थात् राजामा निहित हुन्छ । प्रजातान्त्रिक भनिएको २०४७ सालको संविधानमा सार्वभौमसत्ता र राजकीयसत्ता, राजा र जनतामा निहित भएको भनेर राजालाई अधिराजको मान्यता दिएको थियो । तर वर्तमान संविधानले सार्वभौमसत्ता र राजकीयसत्ता दुबै नेपाली नागरिकमा निहित गरेको छ ।
संविधान देशको मूल कानुन हो । संविधानमा लेखिएको कुरासँग बाझिएका विषय स्वतः खारेज हुन्छन् । संविधानसभाले २०६५ जेठ १५ गते नै औपचारिक रूपमा राजतन्त्रको अर्थात् अधिराज्यलाई इतिहासको पानामा सुरक्षित गरिसक्यो । जन बलिदानबाट प्राप्त संविधानको पालना गर्नु सबै नेपालीको दायित्व हो । नेपाल अधिराज्य भन्नु असंवैधानिक र गैह्र-कानुनी दुबै हुन्छ । नेपाललाई सम्बोधन गर्दा ‘अधिराज्य’ शब्दको प्रयोगमा रोक लगाइनु आवश्यक छ ।
सामन्ती राजतन्त्रसँग जोडिएको असंवैधानिक शब्दको प्रयोगमा बन्देज वा निरुत्साहन गर्ने दायित्व सचेत नागरिकको हो । सार्वजनिक वक्तव्य, बोलीचाली तथा अन्य संवादमा ‘अधिराज्य’ शब्द प्रयोग नगर्न सबै राजनीतिकर्मी, अधिकार कर्मी, अभियानकर्ता, सामाजिक अगुवा, सञ्चार संस्था र सञ्चारकर्मीहरू तथा आम सर्वसाधारणमा ध्यानाकर्षण गराउन चाहन्छु । हुन त एउटा मामुली शब्दमा किन यत्रो अर्घेलो भन्नु होला ! ध्यान दिउँ शब्दले संसार परिवर्तन गर्छ । सभ्यताको सृजना गर्छ र परिवर्तनलाई स्थायी बनाउँछ ।