आतङ्कका केही ट्याक्टिस जनयुद्धमा प्रयोग
–अकेला
आतङ्कवादवारे मानिसहरूमा मत-मतान्तर छ । भयवादमा आधारित यसको कुनै पनि कृयाकलाप मानिसको लागि मनपर्ने कुरा होइन र मनपर्नु पनि हुँदैन । यस्तो मान्यता छ । किनकी, यो अति नै भयानक एवम् दर्दनाक हुने गर्दछ । यसले दिएको कुनै पनि घाउमा आजसम्म खाटो बस्नसकेको छैन र बस्ने कुरो पनि छैन । सारा दुनियाँ एकातिर, आतङ्कवाद अर्कोतिरको यो परिवेशमा यस विरुद्धका हरेक प्रयासहरू टाया टाया फिस् भइरहेका छन् र आतङ्कवाद झन् झन् सशक्त एवम् असरदार बन्दै गइरहेको छ । जानेर, नजानेर वा जान्नै नचाहेर, यस प्रति हामीमा नकारात्मक सोचाई रहेकाले हामीलाई आतङ्कवादसँग टाढा राखेको पनि छ । यसलाई हेर्ने हाम्रो नजरिया उल्टो नभैदिए, बुझाई गलत नभैदिए अरू अरू विषय जस्तै आतङ्कवाद पनि अध्ययनको एउटा विषय बन्न सक्दछ ।
सामान्य मानिसहरूका लागि आतङ्कवादसँग गोरु बेचेको साईनोसम्म गाँस्नु पनि आफैमा आत्मघाती कदम हुनसक्छ । आतङ्कवाद विरुद्ध आज पुरै दुनियाँ हात धोएर लागेको छ । यो समय भनेकै अमूक अमूकवाद या सिद्धान्तहरूमा लाग्ने र लागेको समय हो । आतङ्कवादमा होइन । कम्सेकम हामी नेपाली, जो बुद्धका अनुयायी छौं । यो सत्य त हो । परन्तु, अर्ध सत्य, पूर्ण सत्य त यो हो कि हामी आतङ्कवादको अर्थ, परिभाषा जान्दैनौं र जान्नै चाहँदैनौ । तर आफू अन्जान रहेको विषय प्रति हामी किन नकारात्मक धारणा पाल्छौं ? किन त्यस प्रति हाम्रो सोच गलत हुन्छ ? किन हामी त्यसता कुरालाई फुटेका आँखाले पनि देख्न चाहँदैनौं, जुन कुरा प्रति हामीलाई कुनै ज्ञानै छैन ? जतिसुकै छिःछि र दूर दूर गरिए पनि आतङ्कवाद मौलाउँदै जानुको रहस्य ठालुहरूलाई ज्ञात होला, हामी जस्ता फुच्चे र मगन्तेहरूलाई होइन ।
आतङ्कवादको उद्देश्य जे पनि हुनसक्छ । जस्तो पनि हुनसक्छ । सकारात्मक पनि, नकारात्मक पनि । आतङ्कवाद सकारात्मक उद्देश्यको निम्ति पनि जन्मिनसक्छ, नकारात्मक उद्देश्यको निम्ति पनि । परिवर्तनकारी (Anarchist) को निम्ति पनि आतङ्कवाद जन्माईनसक्छ, देशभक्त (Nationalist) का लागि पनि । वामपन्थ या दक्षिणपन्थ (Left-wing, Right-wing) जस्तो अत्यन्तै राजनीतिक उद्धेश्यको निम्ति पनि आतङ्कवाद जन्माईनसक्छ, Christian, Islamic, Jewish जस्ता धार्मिक उद्देश्यका निम्ति पनि । आतङ्कवाद Eco-terrorism, anti-abortion जस्ता Single-issue terrorism का निम्ति पनि जन्मिनसक्छ । Ethnic / Narco terrorism जस्ता उद्देश्यका निम्ति पनि । अर्थात्, आतङ्क, आतङ्कवाद र आतङ्कवादी जन्मिनको लागि यो, ऊ भन्ने छैन । जेसुकै, जुनसुकै उद्देश्यका निम्ति पनि जन्मिन सक्दछ र जन्माईन सक्दछ ।
आतङ्कका धेरै ट्याक्टिसहरु हुन्छन् । तीमध्ये केही ट्याक्टिसलाइ हाम्रा माओवादीले जन युद्धमा प्रयोग गरे । त्यसले गर्दा विशुद्ध राजनीतिक उद्देश्यको निम्ति लडेका भएता पनि उनीहरू आतङ्ककारीको सूचिमा परे । Aircraft hijacking, Bioterrorism Car bombing मा प्रयोग हुने] Agro-terrorism, Environmental तथा Hostage-taking / Improvised explosive device मा प्रयोग गरिने Dry run, individual terror, Insurgency / Kidnapping df, Letter bomb / Nuclear, Paper terrorism, Piracy df, Propaganda of the deed, Proxy bomb, School shooting, Suicide attack जस्ता आतङ्कवादका जुन स्वरुपहरु छन्, केहीलाइ मात्र यहाँका माओवादीले प्रयोगमा ल्याए, अरू ल्याएनन् ।
अलकायदा मात्र होइन, विश्वमा थुप्रै आतङ्कवादी संगठन छन् । अल्जेरियामा मात्र सन् १९९२ र १९९६ मा जन्मेका Armed Islamic Group (GIA) / The Salafist Group for Call and Combat (GSPC) दुईवटा सशस्त्र समूह छन् । तिनिहरूको गतिविधि अझै पनि अज्ञात छ । अर्को सशस्त्र समूह छ कम्बोडियाको, Khmer Rouge/The Party of Democratic Kampuchea, जुन १९७० देखि हर्कतमा आएको हो ।
चिलीको Manuel Rodriguez Patriotic Front (FPMR) १९८३ देखि कृयाशील छ र त्यसको कार्यक्षेत्र चिली र अमेरिका रहेको बताईन्छ । कोलम्बियामा Revolutionary Armed Forces of Colombia (FARC), National Liberation Army (ELN)—Colombia, United Self-Defense Forces/Group of Colombia (AUC-Autodefensas Unidas de Colombia) छन् । उनीहरूको जन्म क्रमशः सन् १९६५, १९६४ र १९७० मा भएको थियो । उनीहरू कोलम्बियामा मार्क्सवादको स्थापनाका लागि लड्दै छन् भने इजिप्टमा १९७० देखि हर्कतमा आएका Al-Jihad a.k.a. Egyptian Islamic Jihad, Jihad Group, Islamic Jihad / Al-Gama’a al-Islamiyya (Islamic Group, IG) जस्ता १९७० मै जन्मेर पृथक पृथक धार्मिक उद्देश्यका निम्ति लड्दै गरेका दुईवटा समानान्तर संगठनहरु छन्, जसले जोडतोडका साथ विश्व आतङ्कवादलाई बढवा दिँदैछन् ।
र, विश्वको सबैभन्दा ठूलो र शक्तिशाली आतङ्कवादी संगठन हो अलकायदा । जसले सबैको सातो लिएको छ, । खासगरी अमेरिका र बेलायतको । अलकायदाले पश्चिमा राष्ट्रहरू विरुद्ध लक्षित आफ्नो मिशन (जेहाद) सन् २०२० सम्ममा पूरा गर्ने लक्ष्य राखेको छ । अलकायदाका मास्टर माईण्ड ओसामा बिन लादेनलाइ जेहादीहरु आफ्नो भगवान मान्छन् । जेहादको निम्ति आफ्नो ज्यान लिनु-दिनुलाइ जेहादीहरु भाग्य ठान्छन् । गर्व गर्छन् ।
कुनै समय बिन लादेनको अन्तर्वार्ता लिइसकेका र हाल अमेरिकाको एफबीआइमा कार्यरत एकजना उच्च अधिकारीको विश्लेषण अनुसार दुनियाँका जुनसुकै व्यक्ति, जो मौजुदा सभ्यता, संस्कृति, राजनीतिक, आर्थिक र सामाजिकता आदिबाट आजित छन्, ती आतङ्कवादी बन्न सक्छन् । जेहादी बन्न सक्छन् । किनकी, जेहादी बन्न व्यक्तिसँग सिवाय एउटा पक्का सोच र ल्यापटप बाहेक केही पनि चाहिँदैन । आज कसैलाई थाहा छैन कि अलकायदा जस्ता आतङ्कवादी संस्थाहरूमा काम गर्ने मानिसहरू कस्ता छन्, कस्ता देखिन्छन्, उनीहरूको हेड क्वाटर कहाँ छ, उनीहरूको भावी योजना के छ र कस्ता व्यक्तिहरू आतङ्कवादका लागि योग्य मानिन्छन् ।
आतङ्कवाद विरोधी राष्ट्रहरूले इन्टरनेटमार्फत सबै खाले सूचनाको मनिटरिङ्ग गर्ने हुँदा अलकायदाले आफ्नो सूचना प्रवाहमा फेरबदल गरेको छ । मनिटरिङ्गबाट बच्न अलकायदाले आफ्नो खुफिया सूचना मानिसद्वारा प्रवाह गर्ने गरेको बुझिन्छ । त्यसले गर्दा उनीहरूको सूचना प्रवाहमा केही ढिलाइ त पक्कै भएको छ, तर बन्द भने हुनसकेको छैन । अहिलेसम्म अलकायदावारे जति पनि सूचना आतङ्कवाद बिरोधी राष्ट्रहरूसँग संकलित छ, तीमध्ये केही प्रतिशत मात्र सटिक रहेको बताईन्छ, सबै होईन ।
आतङ्कवाद विरुद्ध लडिरहेका विश्वका धनाढ्य राष्ट्रहरूका गुप्तचर संस्थाहरूलाई पनि थाहा छैन कि अलकायदाका जेहादीहरु कहाँ छन् । गुप्तचर संस्थाहरूले जहाँ जहाँ अलकायदाको उपस्थितिको आशङ्का गर्छ, त्यहाँ त्यहाँ या त उनीहरू अन्धाधुन्ध बम खसाल्छन्, या त संयुक्त सेना उतारेर कत्लेआम मच्चाउने गर्छन् । इराक, अफगानिस्तान र पाकिस्तानको कत्लेआम त्यसैको नमुना हो । अलकायदाका जेहादीहरुको कार्यशैलिवारे कसैलाई जानकारी नुहुनुको मूल कारण आतङ्कवादी संगठनहरु र तिनका विरोधीहरू बीचको यो खेल लम्बिनु पनि हो, जसले गर्दा दुई तिहाइ धनराशि आतङ्कवादको सफायामै स्वाहा भइसक्दा पनि पुलिसभन्दा चोर दुई कदम अगाडि नै रहेको अवस्था छ ।
सुरुमा, विश्व आतङ्कवादका बादशाह बिनलादेन चाहन्थे कि अमेरिका र उसका मित्रराष्ट्रहरूले बढी से बढी पैसा युद्धमा खर्च गरुन् । हुन पनि त्यस्तै भयो । वर्ल्ड ट्रेड सेन्टरमा गराइएको नाईन-ईलेभेनको हमलापछि तिरमिराएको अमेरिकाले जैविक हतियारको निहुँमा इराकमाथि धावा बोल्यो र अर्थतन्त्र नै चर्मराउने गरी पैसाको खोला बगायो, हजारौं सैनिकको बलि चढायो । बिनलादेनद्वारा उचालिएका सद्धामको पतन पश्चात् पनि त्यसको पराजय अमेरिका, बेलायत लगायतका राष्ट्रहरूले नै भोग्नुपर्यो, अलकायदाले होईन । यो अलकायदाको मान्यता हो । यस सम्बन्धमा उनीहरू केसम्म दाबी गर्नसक्दा हुन् भने सतही रूपमा आतङ्कवाद बिरोधी राष्ट्रहरूले जतिसुकै आफ्नो अर्थतन्त्रलाई ढाकछोप गरिरहे पनि भित्र भित्रै उनीहरू खोक्रिईसकेका छन्, मक्किईसकेका छन् ।
अलकायदाका केही हस्तीहरू जिउँदै समातिएका छन्, केहीलाई मुद्दा चलाइएको छ र केहीलाई मृत्युदण्ड वा युद्धमै मारिएको पनि छ । तर अलकायदा र त्यसका उस्ताद ओसामा बिनलादेन आज पनि फरार छन्, जिउँदै छन् र अरू आतङ्कवादी संगठनहरुको निम्ति प्रेरणा बनेका छन् । किनकी, अलकायदा आज आतङ्कवादको एउटा ब्राण्ड नै बनिसकेको छ । हर्ष या बिस्मातको कुरा त यो छ कि ओसामा बिन लादेनभन्दा धेरै अर्थमा खुँखार आतङ्कवादीहरू दुनियाँमा जन्मिसकेको बताईन्छ । आतङ्कवादको जेहाद (धर्मयुद्ध) मा सहभागी हुने युवाहरूको लाईन आज लम्बिँदै र अल्लाहको नाममा कुर्वान हुन र जन्नत (स्वर्ग) मा ठाउँ बनाउन ती जेहादीहरु तँछाडमछाड नै गर्दैछन् ।
आफ्नो मालिकबाट तिरस्कृत कुकुर जब आफ्नो घर र टोलबाट उठीबास हुन्छ, तव सद्दे कुकुर पनि बहुलाउँछ । त्यस्तै मौजुदा परिस्थिति, परिवेश मनपर्न छोडेपछि, र आफ्नो कुरो कसैले नखाने भइसकेपछि त्यसबाट असन्तुष्ट व्यक्तिहरूको दिलो-दिमागमा चोट लाग्न सक्दछ र आतङ्कको सहारा लीनसक्छन् । त्यो प्रकृया बेलैमा रोकिनु पर्दछ । नत्र, आतङ्कवाद त्यसै जन्मिने कुरै होईन । यसको उद्गमस्थान फोहरी सभ्यता र संस्कृति, फोहरी पद्धति, सोच र फोहरी बिचार हुन्, जहाँ आतङ्कवादका जीवाणुहरू पैदा हुने गर्छन् र आतङ्कको महामारी पैदा हुने गर्छन् ।




