प्रभाव जमाउने भट्टराईको विशेष योजना
पालुङटार बैठक अघि डा बाबुराम भट्टराई पार्टीमा ज्यादै कमजोर देखिएका थिए । पार्टी बाहिर सधैँ चर्चामा रहने उनी पार्टीभित्र कमजोर देखिने गरेका हुन् । पालुङटार बैठकपछि भने उनी निकै उत्साहित देखिएका छन् । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य किरण र भट्टराई मध्ये उनी सबैभन्दा कमजोर देखिए पालुङटार बैठकमा । तर यस पटक उनको पक्षमा पार्टीभित्र निकै प्रभाव फैलिएको उनले महसुस गरेका रहेछन् । अब आफ्नो प्रभावलाई अझ व्यवस्थित र प्रभावकारी ढंगले पार्टीमा स्थापित गराउन उनी र उनका समर्थकहरू कस्सिएको माओवादीहरु बताउँछन् ।
यस अघि उनलाई कुशल संगठकको रूपमा चिनिँदैन थियो । धुरन्धर विद्वान् । कार्यकर्तालाई प्रभाव जमाउन नसक्ने । तर पार्टीमा बिचार दिने । कार्यकर्तालाई खासै वास्ता नगर्ने । लेख्न र पढ्न बढि रुचाउने । बौद्धिक जमातमा भिज्ने तर सामान्य कार्यकर्तासित निकट नहुने । यस्तो बौद्धिक जगतको चर्का चर्का कुरा गर्ने, शहरमा रमाउने विद्वानले तल्लो वर्गका अनपढ, गरिब किसान र मजदुरका भावना बुझ्दैन । वैचारिक कुरा गर्न रुचाउने नेताका रूपमा उनि चिनिएका थिए ।
विचार, आदर्श, नीतिगत र वैचारिक स्पष्टता भएपछि पुग्छ । पार्टी कार्यकर्तामा तीनै नीति र आदर्श प्रवाहित हुन्छन् भन्ने सोच उनले पालेका रहेछन् । पालुङटार बैठकपछि भने उनले त्यसलाई अलि बदले । अब आफ्ना नीति, आफूले अगाडि बढाएका आदर्शहरूलाई पार्टीको तल्लो स्तरसम्म आफैँले स्थापित गराउनुपर्ने रहेछ । पार्टी कार्यकर्तासम्म आफैँ भिज्नुपर्ने रहेछ भन्ने बोध गरेर उनी त्यही अभियानमा लागेका छन् । ती भ्रम होलान् । आरोपपनि होलान् । तिनमा कतिपय सत्यतापनि होला । तर त्यसलाई चिरेर जान बाबुराम भट्टराई अहिले कस्सिएका छन् । यसमा सबैभन्दा दबाब आफ्ना समर्थकहरूबाट परेको बताइन्छ । उनले खुलेरै भन्ने गरेका छन्- आफ्नो लाइनको पक्षमा आफैँले नेत्रित्व गर्नुपर्ने रहेछ भन्ने हेक्का पालुङटार बैठकपछि भयो ।
पार्टीमा भएका बिचारहरू कार्यकर्तासम्म पुग्छन् । पार्टी सामूहिक तरिकाले चल्छ । पार्टीमा क्षमता अनुसारको अलग अलग काम गर्नु पर्छ । जसले जे गरेपनि पार्टीको लागि सामूहिक तवरले गर्ने हो । यही बुझेर कार्यकर्ता स्तरमा भन्दा पार्टी नीति र आदर्शमा खटेका उनी अब भने मौका पर्दा पाखा लगाउने रहेछन् भन्ने सोचेर कार्यकर्ता स्तरमा खटिने मनसायमा पुगेका छन् । प्रचण्डको पार्टीनीति र बैचारिक स्पष्ठता नभएको र भट्टराइको नीति सहि भएको भन्दै त्यसलाई स्थापित गराउनुपर्छ भन्ने पक्षमापनि भट्टराइ र उनका समर्थकहरु पुगेका छन् ।
अब उनले कार्यकर्ताबाट अलग रहने र आफूले निर्माण गरेको नीतिलाई पार्टीका अरू नेता मार्फत स्थापित गराउनुभन्दा आफैँले स्थापित गराउने फरक कार्यशैली रोजेको बताइन्छ । पालुङटार बैठक पछि उनका समर्थकहरूको सूची बनाउने, तिनलाई प्रशिक्षण दिने र आफू समर्थक कार्यकर्ताको संरक्षण गर्ने अभियानमा लागेको माओवादीहरु बताउँछन् । बाबुरामको बिचार लिएर प्रचण्ड स्थापित हुने र अप्ठेरो पर्दा बाबुरामलाई नै अनेक आरोपमा पाखा लगाउने गरेकाले अब भट्टराई पक्षहरूले आफ्ना नीति भटाराइबाटै स्थापित गराउने अभियानमा जुटेका छन् ।




