मध्य रातमा आँखा रसाउँदै विदेशको जेलमा

-शिव सापकोटा / भियना, अस्ट्रिया

विदेशमा गए धन कमाइन्छ । जीवन सुखी हुन्छ भन्ने धेरै नेपालीको आत्माबाटै आउने भ्रमले गर्दा आफ्नो जन्मभूमि नेपाल लाई धेरै टाढा छोडेर विदेश यात्रा सुरु गर्छन् एक जवान । घरबाट विदेश जाने सोचले निस्किएपछि हर पल कहिले लगाइदिन्छ दलालले भिसा भनेर सोचिरहन्थे उनी । काठमाडौंको बसाइमा धेरै रुपैयाँ सकिसके । कुनै दिनको मिति दियो दलालले भिसा लाग्ने । अलिकति खुशी भए त्यो दिन आयो । बिहानै दलाल लाई फोन गरे । फोन उठेन । पुषको समय बाहिर जाडो थियो । उसलाई भेट्न धेरै गाह्रो हुन्थ्यो । दिनभरि कुरी रहे । उसको फोन आएन । जे भनेनी हुन्छ सर भन्नु भन्दा कुनै उपाय थिएन उसँग ।

भोलिपल्ट दलालको फोन आयो । ‘भाई भिसाको लागि अरू केही पैसा थप्नु पर्ने भयो ‘ उसले भन्यो । उसँग खान बस्नको लागिपनी पैसा थिएन । घरमा बाबु आमा कहिले छोरो विदेश गएर पैसा पठाउँछ भन्ने कुराइमा थिए । उसले पैसा थप्नसक्ने अवस्था थिएन । फेरी घरमा बाबु आमा लाई फोन गरेर पैसा पठाइदिनु भन्यो उसले । घरमा पैसा नभएकोले थोरै भएको जग्गा पनि बेच्नुपर्‍यो ।

बाबु आमाले जग्गा बेचेर पठाइदिएको केही रुपैयाँ दलाल लाई बुझाए । केही दिनमा काम हुन्छ भनेको छ भन्ने खबर सुनाए बाबु आमालाई । एक हप्तापछि आइतवारको दिन बिहान ११ बजेको थियो । दलालले फोन गरेर भन्यो- ‘ भिसा लाग्यो ‘  । खुशीले गद गद हुँदै चारैतिर फोन गर्‍यो ।

बाबु आमा पनि खुशी भए । अर्को हप्ता माघ ४ गते बेलुका ५ बजे नेपालबाट नेपाल वायु सेवाबाट दिल्ली उडे । एक घण्टापछि उनी भारतको राजधानी दिल्ली पुगे । त्यहाँ ५ घण्टाको ट्रान्जीटपछि त्यहाँबाट कतार एयरबाट लन्डनको लागी उडान भयो । रातको ११ बजेको थियो । घरको यादले साह्रै सतायो । आँखाबाट आँसु झरी रहे । नेपाली कोही थिएनन् एक्लो थिय । भोलिपल्ट बिहान ५ बजे बेलायतको राजधानी लन्डन पुगे उनी ।

आफन्त कोही थिएन । अङ्ग्रेजी भाषा बोल्न राम्रो सँग नजानेकाले कुरा गर्न गाह्रो भयो । सबै खैरो कपाल र सेतो छाला भएका मानिस मात्र छन् । बाहिर हिउँ लपक्कै परेको छ । जाडो बेस्सरी छ । नेपालबाट ल्याएका कपडा पातला छन् । यहाँको कठ्याङ्रिने जाडोलाई नधानेर शरीर जाडोले लगलग कमाइरहेको थियो । अब कहाँ जाने आफैँलाई पत्तो थिएन ।

बाटो हिँड्दै थिएँ । एउटा कालो कपाल भएको मानिस टुप्लुक्क अगाडि तेर्सियो । नेपाली जस्तै लगेर आफ्नै भाषामा सोधेँ – तपाई नेपाली हो ? आफू भारतीय भएको उसले हिन्दीबाटै बतायो । सोध्यो – कहाँ बाट आएको ?

मैले भनेँ – नेपालबाट ।

उसले सोध्यो – भिसा छ ?

मेरो पासपोर्टमा १५ दिनको भिसा छ भन्ने जवाफ दिएँ ।

सोधेँ – काम पाउँछ ?

उसले काम गर्ने रेस्टुरेन्टमा लग्यो । कामको लागि आफ्नो मालिकसँग कुरापनि गरि दियो । घण्टाको २ पाउन्ड मा काम दिने कुरा उसले सुनायो । म मन्जुर भएँ । रेस्टुरेन्टको छतमा बनाएको सानो कोठामा बस्न दिने भयो । काम रेस्टुरेन्ट सफा गर्ने रे । केही दिन यसरी त्यहीँ बिताएँ । १ महिनापछि म बाहिर यस्सो घुम्न निस्केको बेला बेलायती प्रहरीले भेट्यो । प्रहरीले पासपोर्ट माग्यो । मैले भिसा सकिएको पासपोर्ट देखाएँ । त्यति बेला काम गरेको पैसा पनि लिएको छैन । शरीरमा लगाएको त्यही एक सरो लुगा मात्रै छ ।

बाहिर उभिएको एउटा प्रहरीले गाडीमा भएका दुई जना लाई बोलायो । के भन्यो मैले बुझिन । उनीहरूले मलाई गाडीमा बस्न अनुरोध गरे । मुटु काँप्यो । आत्ममा भूकम्प गयो । आँखा रसाए । मनभरि पैरो गयो नेपाल फर्काइदिने भयो भनेर । नेपालबाट आउँदा खर्च गरेको १० लाखका कट्कटिएका नोट आँखा अगाडि नाच्न थाले । फर्कायो भने के गर्ने ? मन भरी कुरा खेल्न थाले । त्यत्तिकैमा प्रहरीको गाडीमा चढ्न बाध्य भएँ । मेरो दुबैतिर प्रहरी थिए । उनीहरूसँग हतकडी पनि देखिन्थ्यो । त्यो देख्दा झनै डर लाग्यो ।

१५ मिनेट गाडीमा गएपछि प्रहरी चौकीमा पुर्‍याए । मलाई एउटा सानो कोठा भित्र बस्न अनुरोध गरे । थियो कोठा साह्रै सानो । कोठामा भित्ता भन्दा अरू केही थिएन । मलाई भित्र छिराए । ठूलो फलामको ढोका फलामकै चाबीले बन्द गरिदिए । मेरो आँखा रसाए । दगुर्दै, आतिँदै ढोकामा पुगेर पानी मागेँ । मेरो कुरा सुन्ने कोही थिएन । नजिकै आएको एउटा प्रहरीपनि नसुनेजस्तो गरी आफ्नो बाटो लाग्यो । केही बेर मुख सुकाउँदै त्यहीँ बसिरहें म ।

१० मिनेट बितेपछि मलाई त्यो कोठाबाट बाहिर निकाल्यो । रातको ९ बजेको थियो । मलाई केही प्रहरीले एउटा कोठामा लगेर भने – तँ अब नेपाल जानु पर्छ । मैले नेपाल फर्कने स्विकार गरिन । चर्को चर्को बोल्दै प्रहरीले मलाई थर्कायो । मैले कुनै पनि हालतमा नेपाल नजाने कुरा बताएँ । त्यत्तिकैमा २ घण्टा बितिसकेको थियो । त्यो रात ११ बजे मलाई एउटा गाडीमा राखेर ३० मिनेटपछि कुनै जेलमा पुर्‍याए ।

ओढ्नको लागि एउटा सानो कपडा दिएर मलाई अरू ३ जना भएको एउटा कोठामा लगेर सुत्न अनुरोध गरे । त्यहाँ कोही बलात्कार त कोही अपराध गरेर आएका कैदी रहेछन् । उनीहरूकै छेउमा रहेको एउटा खाटमा सुते म । धेरै खेले मनमा कुरा । बाहिरबाट ढोका थुनिदिए ।

रात यसरीनै बित्यो । बिहान ७ बजे एउटा प्रहरीले मलाई लिएर गयो । एउटा नेपालीलाई त्यहाँ बोलाएर मेरो कुरा सबै सोध्न लगाए  । मैले उसलाई सबै कुरा बताएँ । नेपाल नफर्कने कुरा सुनाएँ । म यहाँ शरण लीन चाहन्छु भनिदिएँ । मेरो शरणको प्रकृया अगाडि लैजान अनुरोध गरेँ । एउटा प्रहरीले टेबुलमा बसेर मेरा कुरा उतार्दै थियो । सँगै बसेका नेपाली भाषा बोल्ने एक नेपालीले मेरो कुरा प्रहरी लाई बताउँदै गयो । मैले नेपाल जान नसक्नुको हरेक विवरण बताइदिएँ । अनि मेरो शरणार्थी मुद्दा सुरु हुने कुरा नेपाली मा सुनाएँ । मलाई मैले यति सुनाउँदा दिनको २ बजेको थियो । मलाई फेरी केहीबेरको लागि उही कोठामा लगे जहाँ मैले रात बिताएको थिएँ । केही समयपछि मलाई एउटा शरणार्थी शिविरमा पुर्‍याएर छोडिदिए ।

म नयाँ भएकोले कुनै ठाउँको बारेमा थाहा थिएन । पहिला केही दिन काम गरेको ठाउँको बारेमा पनि मैले मेसो पाइन । पैसा साथमा थिएन । कपडा पनि त्यही ठाउँमा छोडिएका थिए । समय बिताउन साह्रै धौ धौ भएको थियो । काम दिने कोही छैन । पैसा कहिले कमाउने ? यो त एउटा सपनानै भैहाल्यो ।

घरमा फोन नगरेको महिनौं भएको थियो । ‘कहिले पैसा पठाउँछ छोराले भनेर’ बाटो हेरि बसेका बुवा आमालाई के जवाफ दिने ? मनमा यस्तै तर्कनाका हुरी बतास चले । जवाफ कुनै भेटिन । नेपाल छँदा विदेश गए सजिलै कमाउन सकिन्छ भन्ने सोच ममा पनि कमी थिएन । आज यस्ता समस्याको घेराउमा परेपछि पो चेत्दै छु । थक्क थक्क गर्दै छु । ब्यर्थै आइएछ भनेर मडारिँदै छु । हेर त्यत्रो पैसो लगानी गरेको भए त नेपालमै आज सम्म के के गरिन्थ्यो, कति कमाइन्थ्यो भनेर होँडलिँदै छु । 

(आफ्नै मित्रको वास्तविक भोगाइलाई शब्दमा उतारेका हुन् लेखकले) ।

तपाइँको प्रतिक्रिया