यी बालबालिकाले बुझेरै खोजेका हुन् लिम्बुवान राज्य ?
पान्थरको रवि बजारमा संघीय लिम्बुवान राज्य परिषदले मङ्सिर २६ गते लिम्बुवान आमसभा गरे । प्रमुख अतिथि थिए परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन । सभामा सयौं सहभागी थिए । कार्यक्रम अरुण पूर्वका नौ जिल्लालाई छुट्टै राज्य दिनुपर्ने माग राखेर गरिएको थियो । यो ? चानचुने हो र छुट्टै राज्यनै खडा गर्न गरेको कार्यक्रम । राज्य असहिष्णु भैदिए सयौं मारिन, कुटपिट हुन सक्ने कार्यक्रम हो ।
यस्तो जातीय राज्य एक पक्षले माग्दा यसैपनि त्यहीँ बस्ने अर्को जातिले खबरदार हामी लिम्बुवान राज्य चाहन्नौं, आफ्नै अस्तित्व चाहिन्छ भनेर तराईमा मधेशी राज्य माग्नेसित थारू जातिले झैँ प्रतिकार गरेको भए के हुन्थ्यो ? रगत बग्न सक्थेन ? अनि के यस्तो कार्यक्रममा यसरी वालवालिका लिएर जुलुसमा लान पाइन्छ ?
आमसभामा संघीय लिम्बुवान राज्य परिषद सचिवालय सदस्य संचार विभाग प्रमुख लोकसागर साम्बा र संघीय लिम्बुवान पत्रकार परिषदका अध्यक्ष दिलकुमार लावती समेतले भाषण ठोकेछन् । पत्रकारले समेत आफ्ना राजनीतिक भाषण सुनाए बालबालिकालाई जबकी तिनले नै त्यसता नाजायज काम हुँदा कलम उचाल्नुपर्ने हो ।
अचम्म त के छ भने उनीहरूले संयुक्त राष्ट्र संघको कुन्नि कति दफा उल्लेख गर्दै त्यहाँ जातीय पहिचानको अधिकार सुनिश्चित गरिएकाले त्यो अधिकार आफूहरूले पाउनुपर्ने दाबी गरेका छन् । तर त्यस्तो दाबी गर्दा के बिर्सिएका छन् भने संयुक्त राष्ट्र संघले यस्ता वालवालिकालाई कुनैपनि राजनीतिक पार्टीले प्रयोग गर्नु वाल अधिकार उल्लंघन गर्नु मानेको छ । संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान राज्य भित्र सबै जातिको अधिकार सुनिश्चित गर्ने दाबी गरेको छ । तर बालबालिकाको अधिकार सुरक्षित गर्न नसक्नेले भोलि अन्य जात जातिका अधिकार कसरी सुरक्षित गर्लान् ?
भोलि लिम्बुवान राज्य बन्ला । कुमार लिङ्देन सायद त्यो राज्यको प्रमुख बन्लान् । अरू मन्त्री बन्लान् । कोही कुर्सीमा पुग्ला । कसैले दाम कमाउला । तर यी वालवालिका के बन्ने ? सधैँ यी जातीय नेताका पछौटे ? यो कलिलो उमेरमा यीनको दिमागले स्वच्छ तरिकाले लेख्न पढ्न पाउनुपर्ने हो कि कलम कापी फालेर राजनीतिक कार्यक्रममा सहभागी ? यीनको कलिलो मानस्पटलमा भात्रित्व, मेलमिलाप, बौद्धिक ज्ञान, संसार बुझ्ने कला, जीवन जिउने अक्किल, जातीय सद्भावको खाँचो छ कि नारा र जुलुस ? मारपिट र अहिले नै राज्य टुक्र्याउने भाषण ? यीनलाइ अहिले नै राम्रो शिक्षा दीक्षा दिएर असल, बौद्धिक र सक्षम नागरिक बनाए पो भोलि लिम्बुवान राज्यनै बनाएपनि लिम्बुवान राज्यका असल प्रशासक, सफल राज्य सञ्चालक र गतिलोसित नेत्रित्व लिने असल नागरिक बन्छन् । सानैदेखि मारपिट, नाराजुलुस र बिखन्डनको बिउ रोपिदिएर कस्तो खालको राज्यको कल्पना गर्नु भएको हो ?
के जातीय राज्य, प्रादेशिक राज्य, केन्द्रीय राज्य यस्ता राज्यका अनेक दाउपेच बुझ्छन् यी कलिला बालबालिकाले ? यीनलाई अहिले देखिनै आन्दोलनमा सरिक बनाएर के सिक्छन् ? भोलि लिम्बुवान राज्यनै भएपनि कस्तो बौद्धिक जमात तयार होला समाज बदल्ने ? लिम्बुवान राज्य माग्नेहरूसित मेरो पूर्ण विरोध र पूर्ण समर्थन दुबै होइन । तर कसैलाई कुर्सीमा पुर्याउन, छुट्टै राज्य जित्न यी वालवालिकालाई प्रयोग नगर्ने हो की ? किनकी कानुनकै कुरा गर्दापनि त यो निषेध छ ।
(तस्विर लिम्बुवान राज्य परिषदबाटै प्राप्त भएको हो) ।




